कर्मचारी समायोजन अध्यादेशप्रति स्वास्थ्यका ८ ट्रेड युनियनको असन्तुष्टि, नसच्याए कडा आन्दोलन

कर्मचारी समायोजन गर्दा स्वास्थ्यका कर्मचारीमाथि अन्याय भएको भन्दै स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियानहरूले तत्काल सच्याउन माग गरेका छन् । सत्तारुढ दलनिकटसहित स्वास्थ्यका ८ ट्रेड युनियानले ९ सूत्रीय माग अगाडि सार्दै कडा आन्दोलनको चेतावनी दिएका हुन् । उनीहरूले आइतबारै स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले केही दिनअघि मात्रै समायोजन अध्यादेश जारी गरेको थियो । अध्यादेशमा अन्य कर्मचारीलाई समायोजन हुँदा एक तहवृद्धिको अवसर दिइए पनि स्वास्थ्यकर्मीलाई सो अवसरबाट वञ्चित गरिएको ट्रड युनियनहरूले जनाएका छन् ।
असन्तुष्ट ट्रेड युनियानमा राष्ट्रिय सास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल र मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल छन् ।

अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनका अध्यक्ष क्षेत्रराज कार्कीका अनुसार संघीय कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेद गरिएको र विभेदकारी व्यवस्था हटाउन माग गरिएको हो । ज्ञापनपत्रमा समायोजन अध्यादेशको दफा ७ को उपदफा ४ बमोजिम स्वास्थ्यकर्मी समायोजन गर्दा कम्तीमा एक तह स्तरवृद्धि गरिनुपर्ने माग प्रमुख रूपमा अगाडि सारिएको छ ।

त्यसैगरी कर्मचारी समायोजन व्यवस्थापन गर्दा तिनै तहमा दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्यसेवाका कर्मचारी समायोजन गर्दा छुट्टै सफ्टवेयर बनाउनुपर्ने, जिल्ला स्वास्थ्य÷जनस्वास्थ्य कार्यालय र सम्पूर्ण स्थानीय तहमा खोप, परिवारनियोजन, क्षयकुष्ठ, भेक्टर कन्ट्रोल, नर्सिङ पारामेडिक्सलगायत आवश्यक सम्पूर्ण कर्मचारीको दरबन्दी अनिवार्य राखिनुपर्ने मागसमेत ट्रेड युनियनहरूको छ ।

स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजन तथा व्यवस्थापन गर्न तयार पारेको संगठन संरचनामा समेत चौथो र पाँचौँ तहका पदाधिकारी रही पाँचौँ, छैटौँ र सातौ तहमा स्तरवृद्धि भएका कर्मचारीलाई दरबन्दी सिर्जना गरी समायोजना गर्नसमेत ट्रेड युनियनहरूको माग छ ।

संघीय तथा प्रदेश निजामती कर्मचारीको सेवा–सुरक्षा र सेवा–सुविधा स्पष्ट हुने ऐन निर्माण भएपश्चात् मात्रै कर्मचारी समयोजन गरिनुपर्ने मागसमेत ट्रड युनियानहरूको छ । ‘स्वास्थ्यसंस्था तथा स्थानीय तहको दरबन्दी कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ को उपदफा २ को ख, ग मा व्यवस्था भएबमोजिन तहगत दरबन्दी सिर्जना गरी समायोजन गरियोस्,’ ज्ञापनपत्रमा भनिएको छ, ‘कर्मचारी समायोजनपश्चात् संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहमा सरुवा तथा वृत्तिविकासको बाटो खुला गरिनुपर्छ ।’

स्वास्थ्यसेवाका कर्मचारीलाई निजामतीसरह सुविधा सुनिश्चित गरी हाल कायम तह नघट्ने गरी समायोजन गरिनुपर्ने र स्वास्थ्यसेवा सुनिश्चित हुनुपर्नेमा उनीहरूको जोड छ । स्वास्थ्य मन्त्रालयले कर्मचारी समायोजन तथा व्यवस्थापन गर्न तयार पारेको संगठन संरचनामा समेत चौथो र पाँचौँ तहका पदाधिकारी रही पाँचौँ, छैटौँ र सातौ तहमा स्तरवृद्धि भएका कर्मचारीलाई दरबन्दी सिर्जना गरी समायोजना गर्नसमेत ट्रेड युनियनहरूको माग छ । यसअघि दोस्रो जनआन्दोनपछि दिइएको स्वतः बढुवा र अघिल्ला व्यवस्थापनमा पनि स्वास्थ्यकर्मीमाथि विभेद भएको ठहर उनीहरूको छ ।

यस्ता छन् माग

– संघीय कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्य क्षेत्रका कर्मचारीलाई विभेद गरिएकाले विभेदकारी व्यवस्था हटाउनुपर्ने ।
– समायोजन अध्यादेशको दफा ७ को उपदफा ४ बमोजिम स्वास्थ्यकर्मी समायोजन गर्नेक्रममा कम्तीमा एक तह स्तरवृद्धि गरिनुपर्ने ।
– कर्मचारी समायोजन व्यवस्थापन गर्दा तीनै तहमा दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्नुपर्ने ।
– स्वास्थ्यसेवाका कर्मचारी समायोजन गर्दा छुट्टै सफ्टवेयर बनाउनुपर्ने ।
– जिल्ला स्वास्थ्य÷जनस्वस्थ्य कार्यालय तथा सम्पूर्ण स्थानीय तहहरूमा खोप, परिवार नियोजन, क्षयकुष्ठ, भेक्टर कन्ट्रोल, नर्सिङ पारामेडिक्सलगायत आवश्यक सम्पूर्ण कर्मचारीको दरबन्दी अनिवार्य रूपमा राखिनुपर्ने ।
– संघीय तथा प्रदेश निजामती कर्मचारी सेवा–सुरक्षा, सेवा–सुविधा स्पष्ट हुने ऐन निर्माण भएपश्चात् मात्रै कर्मचारी समयोजन गरिनुपर्ने ।
– स्वास्थ्यसंस्था तथा स्थानीय तहको दरबन्दी कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा ७ को उपदफा २ को ख, ग मा व्यवस्था भएबमोजिन तहगत रूपमा दरबन्दी सिर्जना गरी समायोजन गरिनुपर्ने ।
– कर्मचारी समायोजनपश्चात् संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहमा सरुवा तथा वृतिविकासको बाटो खुला गरिनुपर्ने ।
– स्वास्थ्यसेवाका कर्मचारीलाई निजामतीसरह सुविधाको सुनिश्चितता गरी हाल कायम रहेको तह नघट्ने गरी समायोजन गरिनुपर्ने ।
– स्वास्थ्यसेवा सुनिश्चित हुनुपर्ने ।

3 thoughts on “कर्मचारी समायोजन अध्यादेशप्रति स्वास्थ्यका ८ ट्रेड युनियनको असन्तुष्टि, नसच्याए कडा आन्दोलन

  1. एक्दम राम्रो छ। यो सबै माग पूरा नभए सम्म आन्दोलन गरेर भए पनि जसरि पनि यो माग पूरा गर्न लगाएर मात्रै समायोजन गरिनु पर्छ….

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय