भिडमा एक्ला बूढाबाजे

डा. शम्भु खनाल
प्रकाशित
२०७५ पुष १ गते ११:००

‘…बा ! तपाईंको मुटुले गर्नुपर्नेजति काम गर्न सकेको छैन । मुटु सुन्नेको छ, भर्ना भएर बस्नु राम्रो हुन्छ । तपाईंसँग को आउनुभा’को छ त ?’
आज पुनः तिनै बाजे भेटिए, जसले मलाई लामो सुस्केरा हाल्दै भनेका थिए, ‘छोराहरूलाई बुहारीले लगे, छोरीहरूलाई ज्वाइँले, बूढीलाई भगवान्ले लगे । म बूढोलाई कुर्न को आउला र बाबु ?’ म अवाक् भएको थिएँ र फेरि पनि त्यस्तै हुन पुग्यो । तिनै बाजे वेलाबखत जसोतसो लौरोको आडले अस्पातलसम्म आइपुग्थे । स्याँ–स्याँ गर्दै भर्खरै प्राण जान्छ कि जस्तो अवस्थामा हुन्थे । उनलाई वेलाबखत उनको मुटुले खिसिट्युरी गरिरहन्छ । उनलाई भर्ना गर्नुपर्ने हुन्छ । तर, हेरचाह गर्र्न कोही हुँदैनन् उनको साथमा । उनीसँग एउटा नोकियाको पुरानो मोडेलको मोबाइल हुन्छ । र, साथमा एउटा लौरो । छोराबुहारी छोरीज्वाइँलाई फोन लगाउने प्रयास गर्छन् । फोन उठ्छ, वार्तालाप पनि हुन्छ । तर, सबै व्यस्त हुँदाहुन्, फोनबाटै हेरचाह गर्ने वचन दिँदाहुन् ।

हाम्रो समाजले अँगालेको ‘सानो परिवार, सुखी परिवार’मा वृद्धवृद्धा नअटाएको हुनाले एक्लिँदै गएको महसुस गरेका छन् । उदाहरणका निम्ति १ हजार ४ सय वर्गफुटको घरमा २ सय वर्गफुटमा एउटा परिवारको वास हुन्छ । बाँकीमा त अहंकारको प्रदर्शन मात्रै त होला । १ हजर २ सय वर्गफुटमा पनि वृद्धवृद्धा अटाएनन् त !

आखिर, जिन्दगीको कमाइ के हो त ? धनसम्पत्तिले भरिभराउ हुनु हो कि मानसम्मानले प्रतिष्ठित हुनु हो । जीवनको उत्तरार्ध कस्तो हुने हो र कसरी जिउने हो त ? मिठो कुरा मुखमा परेर मन खुसी हुने हो कि स्वजनको मिठो बोली सुनेर ? उमेर छँदा मानिस सुख र सुखका साधनका निम्ति दौडिरहन्छ । एकछिन विश्राम गरेर त्यो दौडाइको सार्थकता खोज्दैन । हरेक व्यक्तिले राम्रो नै भएको देख्न चहान्छ, अनुभूति गर्न चाहन्छ । आफ्नो सन्तानको सुखका लागि सबैकुरा त्याग्छ । जसोतसो गरी जोडजाड गरिराखेको हुन्छ । किनकि, त्यो स्वाभाविक धर्म र स्वार्थ दुवै हुन्छ ।

भाग्यमानी बाबुआमा को हुन् त ? बिरामी पर्दा जिउमा टाउको अड्याएर अधकल्चो निद्रामा कुरिरहेका छोरा–छोरी हेर्न पाउने बाबुआमा भाग्यमानी हुन् ? आफ्नो जन्मदिन सम्झेर शुभकामना दिने र मनाउने छोराछोरी पाउनु जीवन सफल हुनु हो ? एक कल फोन गरेर सन्चोबिसन्चो सोध्ने फुर्सद निकाल्ने सन्तान हुनु जीवनको सर्थकता हो ? कि हामीले धेरै ठाउँमा सुन्ने गरेको र सत्संगमा प्रवचनको अभिन्न वचन ‘आत्माको साक्षात्कार हुनु’ जीवनको कमाइ हो ?

नदेखेको आत्मा र परमात्माको आशा गरेर के गर्नु ? तिनको प्राप्ति गर्ने भन्दै शान्त र व्यस्त हुनुबाहेक केही होलाजस्तो लाग्दैन । किनकि, आफैँले देखेको र रोपेको सपनाको बिउले जीवनको उत्तरार्धमा गएर पÞmल दिँदैन भने निर्धन हुनुसरह हो । संस्कारले युक्त बोलीवचन र व्यवहारको अनुभूति हुन नपाएर ईश्वरको भजन गाएर बस्नुपरे के महत्व भयो र ! धर्मले पढाएको मृत्युपर्यन्त गर्नुपर्ने कर्म सन्तानले गर्देलान् भन्ने आशले हुर्किएका सन्तान ‘एड्भान्स’ भए के अपेक्षा राख्नु ? आफैँले खरानी घसेर वृद्धाश्रममा बसेर हरिनाम लिनुपरे केको आत्मा र परमात्माको पछि पर्नु ! होइन त ?

भावुकताको काँध चढेर कसैलाई प्रभावित र भावुक बनाउन खोजेको होइन मैले । यो त हाम्रो समाजको प्रतिविम्ब हो । हाम्रो समाजको नैतिक ह्रासको केवल एक घतलाग्दो प्रतिनिधि उदाहरण मात्र हो । जीवनको उत्तरार्धमा नागरिकको राम्रो हेरचाह हुन नसक्नु सामाजिक पाटोका साथै राज्यको इच्छाशक्तिको कमजोरी पनि हो । पेन्सन निस्किएका व्यक्तिको त आर्थिक हेरचाह हुने हुनाले धेरै अपहेलित हुनुनपर्ला । तर, बाँकीले के गर्ने होला त ?

ज्येष्ठ नागरिकको रेखदेखहेतु वृद्धवृद्धालाई सहुलियत र सुविधा नभएको पनि होइन । वृद्धभत्तादेखि स्वास्थ्यसेवामा निःशुल्क उपचारको व्यवस्था पनि राज्यले गरेको छ । तर, त्यो पर्याप्त नभएको हो कि ! त्यसैले दिनहुँ समाजमा अपहेलित अस्ताउन लागेका वृद्धसँग उठबस गर्नुपर्ने हुन्छ । सीधा व्यावहारिक पक्षसँग ठोक्किनुपरेको हुन्छ । सायद, सुखी मान्छे त कोही पनि अस्पताल आउँदैन होला । निःशुल्क उपचार भने पनि वृद्धवृद्धामा देखापर्ने समस्याको थोरै समस्याको मात्रै सम्बोधन हुन सकेजस्तो लाग्छ । त्यसैले त उपचारमा संलग्न चिकित्सकलाई सधैँजसो व्यावहारिक कठिनाइ परेका हुन्छन् । अनि यस्ता वाक्यहरू वेलाबखत घतपर्नेगरी सुन्नुपर्ने हुन्छ ।

सहरतिर परिवारका सबै सदस्य आ–आफ्नो कामकाजमा व्यस्त हुन्छन्, काम नहुँदा मोबाइल टिभी आदिमा । बूढाबूढीसँग हिमचिम हुनुपर्ने नातिनातिना कम्प्युटर, भिडियोगेम आदिमा तल्लीन हुन्छन् । अनि कोसँग आफ्ना कुरा राखून् त वृद्धवृद्धाले ? त्यसैले उनीहरूको एक्लोपन नाप्ने कुनै यन्त्र छैन । किनकि, उनीहरू सबैका माझ छन्, तर विचरा एक्ला छन् ।

हाम्रो समाजले अँगालेको ‘सानो परिवार, सुखी परिवार’मा वृद्धवृद्धा नअटाएको हुनाले एक्लिँदै गएको महसुस गरेका छन् । उदाहरणका निम्ति १ हजार ४ सय वर्गफुटको घरमा २ सय वर्गफुटमा एउटा परिवारको वास हुन्छ । बाँकीमा त अहंकारको प्रदर्शन मात्रै त होला । १ हजर २ सय वर्गफुटमा पनि वृद्धवृद्धा अटाएनन् त !

गाउँतिर काम गर्न सक्ने उमेरका धेरै युवा रोजगारीका लागि बिदेसिएका छन् । नेपालको कुल ग्रार्हस्थ उत्पादनको कारिब २५ प्रतिशत उनीहरूकै रेमिटेन्सले धान्ने गरेको तथ्यांक छ । बाँकी रहेका वृद्ध, बच्चा र महिला मात्रै गाउँमा अडिएका छन् । त्यसमा पनि आफ्ना सन्तानलाई सहरतिरको राम्रो शिक्षा दिने हेतुले महिला बच्चा लिएर सहरतिर डेरामा बस्ने गर्छन् । अब गाउँतिर त बाँझो खेतबारी र त्यसलाई टुलुटुलु हेर्ने बूढाबूढी न हुन् ।

आधुनिकीकरणको जरो बलियो हुँदै जाँदा वृद्धवृद्धा आधुनिक प्रविधिसँग हेलमेल हुन नसकेर एक्लिँदै गएका छन् । सहरतिर परिवारका सबै सदस्य आ–आफ्नो कामकाजमा व्यस्त हुन्छन्, काम नहुँदा मोबाइल टिभी आदिमा । बूढाबूढीसँग हिमचिम हुनुपर्ने नातिनातिना कम्प्युटर, भिडियोगेम आदिमा तल्लीन हुन्छन् । अनि कोसँग आफ्ना कुरा राखून् त वृद्धवृद्धाले ? त्यसैले उनीहरूको एक्लोपन नाप्ने कुनै यन्त्र छैन । किनकि, उनीहरू सबैका माझ छन्, तर विचरा एक्ला छन् ।

उमेर ढल्किँदै जाँदा बुढ्यौलीसँगै केही दीर्घरोगले पछ्याउन थाल्छन् । उच्च रक्तचाप, घुँडाको दुखाइ, मधुमेह, दम, मुटुका समस्या आदि रोग त बुढ्यौलीका अभिन्न साथीजस्तै भइसकेका छन् । रोग नै दीर्घ भाएपछि उपचार पनि दीर्घ हुने नै भयो । दीर्घरोगको समस्यालाई सम्बोधन गर्न सरकारले निःशुल्क उपचारको प्रयास नगरेको भने होइन, पर्याप्त नभएको हो । त्यसैले त भन्छु– वृद्धवृद्धा सबैका माझमा छन्, मान्छेको भिडमा, नीति नियमको भिडमा, तर पनि एक्ला छन् ।
मसँग त आला, सेतो कोट र उपचार लेख्ने कलमबाहेक केही छैन । तर, आफ्नो हस्ताक्षरले कायापलट गर्न सक्ने सम्पूर्ण नीति–निर्मातालाई मेरो शुभकामना छ ।

डा. खनाल त्रिवि शिक्षण अस्पतालका रेजिडेन्ट डाक्टर इन्टर्नल मेडिसिन हुन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय