दुईतिहाइ मृत्युको कारक नसर्ने रोग, रोगको कारक के ?

नारायण आचार्य
प्रकाशित
२०७५ मंसिर २८ गते १७:५२

सुखको पहिलो आधार नै स्वास्थ्य हो । व्यक्ति स्वस्थ रहे मात्र परिवार र समाज स्वस्थ र सुखी रहन सक्छ । नागरिक स्वस्थ भएको देशले मात्र विकासको शिखर चुम्न सक्छ । तसर्थ, व्यक्ति, परिवार, समाज र राष्ट्रका लागि स्वास्थ्य सर्वोपरि महत्वको विषय हो । स्वस्थ शरीरका लागि खानपान, निद्रा, व्यायामलगायत तत्वहरूको सन्तुलन आवश्यक हुन्छ ।
शरीरको निर्माणदेखि वृद्धिविकास र सबैखाले निरोगिताका लागि खानपानको अहम् भूमिका र प्रभाव रहन्छ । सन्तुलित आहारको कुरा गर्दा सबैका लागि एउटै मापदण्ड नहुन सक्छ । आ–आफ्नो शरीरको आवश्यकता र अवस्थाअनुसार खानामा सन्तुलन मिलाउनुपर्ने हुन्छ । खानेकुराको सन्तुलनसँगै खाने समयको नियमित तालिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
पछिल्लो समय अस्वस्थकर खाना तथा असन्तुलित आहार–विहारका कारण मधुमेह, हृदयाघात, मस्तिष्काघात, क्यान्सर, मुटुरोग, मिर्गौलारोगजस्ता नसर्ने रोग प्रतिदिन बढिरहेका छन् । विकृत जीवनशैली, अस्वस्थकर खानपान, तनाव, डर–त्रास, व्यायामको कमीलगायत कारण युवा अवस्थामै हृदयाघात, मस्तिष्काघात, मिर्गौला फेलजस्ता गम्भीर रोगका कारण अकाल मृत्युवरण गर्नुपर्ने कहालीलाग्दो अवस्था छ ।

एक दशकपछि ८० प्रतिशत मृत्यु नसर्ने रोगबाट
आधुनिक युगमा मानिसको मृत्युको प्रमुख कारण नसर्ने रोग बन्दै गएको छ । सरुवा रोगहरू नियन्त्रणमा आउन थालेका छन् । मानिसमा सचेतनाको विस्तार र चिकित्साविज्ञानको क्षेत्रमा भएको प्रगतिसँगै सरुवारोगका औषधि खाने तथा खोप लगाउने परिपाटी उल्लेख्य बढेको छ, जसका कारण पछिल्लो समय सरुवारोगबाट मृत्यु घट्दै गएको छ । तर, मानिसको अव्यवस्थित जीवनशैली, विकास गतिविधिजन्य केमिकल तथा विकिरणको असर, औषधिको साइड इफेक्टलगायत कारण नसर्ने रोग भने प्रतिदिन बढ्दै गएको छ । अहिले संसारभर हुने मृत्युको ६० प्रतिशतभन्दा बढी नसर्ने रोगबाट हुने गरेको छ भने सन् २०३० सम्ममा यो आँकडा ८० प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । यसलाई आधार मान्दा पछिल्लो समय नसर्ने रोगको रोकथाम समग्र विश्वको प्रमुख स्वास्थ्य चुनौती बनेको छ ।

किन चुनौतीपूर्ण छ नसर्ने रोगको रोकथाम ?
– नसर्ने रोगको उत्पादन बहुतत्वबाट हुन्छ । अर्थात्, नसर्ने रोगका कारक अनेक छन् ।
– धेरैजसो नसर्ने रोग कम गर्ने औषधि बनेका छन्, तर पूर्ण रूपमा निको पार्ने औषधि उपलब्ध छैनन् ।
– सन्तुलित खानाको निश्चित मापदण्ड छैन । खाना कति र कुन खाने भन्ने सर्वमान्य मात्रा छैन । जब कि, नसर्ने रोगको प्रमुख कारण असन्तुलित र अस्वस्थकर खानालाई मान्ने गरिन्छ ।
– शरीरका लागि शारीरिक व्यायाम यति नै गर्नुपर्छ भन्ने निक्र्योल छैन ।
– सामान्यतया नसर्ने रोग रोकथामका लागि खोप तथा औषधि उपलब्ध छैनन् ।

किन बढ्दै छ नसर्ने रोग ?
पछिल्लो समय हामीमा एकदमै विलासी जीवनयापन गर्ने प्रवृत्ति बढेको छ । हामी सुविधाभोगी बन्दै छौँ । यसक्रममा हामी क्रमशः प्रकृतिबाट टाढिँदै छौँ । हाम्रो आहारमा मिश्रणको मात्रा अत्यधिक छ । तरकारी तथा फलफूलमा विषादीको अनियन्त्रित प्रयोग छ । आहार–विहार प्रदूषित हुने गरेको छ । फास्टफुडको प्रयोगलाई आधुनिकताको चिनारीका रूपमा लिने गलत प्रवृत्ति मौलाउँदै छ । हाम्रा यिनै व्यवहारले नै शरीरभित्र नसर्ने रोगलाई जन्म दिइरहेका छन् । नसर्ने रोग सामान्यतया निम्न कारणले लाग्छ–
– असन्तुलित तथा मिसावटयुक्त खाना ।
– अत्यधिक मादकपदार्थको सेवन ।
– जङफुटको बढी प्रयोग ।
– राम्रोसँग नपाकेको खाना र मासुको सेवन
– प्रदूषण ।
– यन्त्र–उपकरण तथा उद्योगजन्य केमिकल तथा हानिकारक विकिरण ।
– फुड पोइजन ।
– तरकारी तथा फलफूलमा विषदीको प्रयोग ।
– विलासी जीवनशैली ।
– मसालेदार परिकारको सेवन ।
– प्रकृतिसँगको बढ्दो दूरी ।
– बसाइँसराइ ।

(हेल्थपोस्टका लागि इन्जु ढकालले आचार्यसँग गरेको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय