स्वास्थ्य ठिक राख्न चितुवालाई व्रत

कृष्ण मल्ल
प्रकाशित
२०७५ मंसिर २७ गते १०:४९

बुटवलको मणिमुकुन्द सेनउद्यान (फूलबारी)का कर्मचारीहरू चिडियाखानामा रहेको चितुवालाई ‘वसन्त’ भनी बोलाउँछन् । यसरी बोलाएको सुन्दा ऊ जुरुक्क उठ्छ ।
करिब १५–२० दिनको हुँदादेखि फूलबारीमा ल्याइएको चितुवा मानिससँग नजिक हुन रुचाउँछ, मानिसले जस्तै माया खोज्छ । उसलाई रेखदेख गर्नेहरूले नजिक गएर वसन्त भनेर बोलाउँदा र उसको शरीरमा कन्याइ दिँदा खुसी हुन्छ । अहिले वसन्तको उमेर १० वर्ष पुगिसकेको छ ।


उद्यानको फूलबारी एनिमल कर्नरमा राखिको वसन्तको दैनिक खाना एक किलो राँगाको मासु हो । बिहानको समयमा उसलाई साजी मासु दिने गरिएको छ । हप्ताको एक दिन र एकादशीको दिनभने वसन्तलाई व्रत बस्ने बानी पारिएको छ । हिँडडुल गर्न नपर्ने अर्थात् बसी–बसी खाना खाँदा नपच्ने र स्वास्थ्यमा असर गर्ने हुँदा हप्ताको एकदिन भोकै राख्ने गरिएको उद्यानका कार्यालय प्रमुख विक्रम बस्याल बताउँछन् । एकादशीमा फ्रेस मासु नपाइने हुँदा मासु नदिइने गरेको उनको भनाइ छ । ‘स्वस्थ राख्नका लागि हप्ताको एकदिन खाना खुवाउँदैनौँ,’ बस्यालले भने, ‘एकादशी पर्यो भने हप्ताको रुटिङमा पारेर मिलाउँछौँ ।’उनकाअनुसार चितुवाको स्वास्थ्य ठिक छ । उसमा स्वास्थ्यसम्बन्धी केही समस्या छैन ।


‘मान्छेको जस्तो स्वभाव देखाउँछ, कहिले खुसीहुन्छ, कहिले रिसाउँछ,’ वसन्तलाई नजिकबाट हेरचाह गरेका उद्यानका कर्मचारी विष्णुसिंह ठकुरी बताउँछन् । ‘यहाँ ल्याउँदा करिब १५–२० दिनको थियो’ उनले भने, ‘एक वर्षसम्म त हामीले बाहिरै छाडेर हेरचाह गर्यौँ ।’

हप्ताको एक दिन र एकादशीको दिनभने वसन्तलाई व्रत बस्ने बानी पारिएको छ । हिँडडुल गर्न नपर्ने अर्थात् बसी–बसी खाना खाँदा नपच्ने र स्वास्थ्यमा असर गर्ने हुँदा हप्ताको एकदिन भोकै राख्ने गरिएको उद्यानका कार्यालय प्रमुख विक्रम बस्याल बताउँछन् ।

‘बिरालोको बच्चाजस्तै हामीसँग खेल्थ्यो, दूध खान्थ्यो, डुल्थ्यो, साह्रै माया लाग्दो थियो यो वसन्त,’ ठकुरीले थपे । एक वर्षपछि वसन्तलाई थुनेर राख्न थाले पनि २ वर्षको उमेरसम्म उद्यानका कर्मचारीहरूभित्रै पसेर नुहाइ दिने, खुवाउने गर्थे । वसन्तको खुट्टामा नङ बढेपछि सावधानी अपनाई ऊबाट टाढा भएको ठकुरी बताउँछन् । तर, जालीबाहिरबाट वसन्तलाई हेरचाह भइरहेको ठकुरीले बताए ।
भर्खरै आँखा उम्रिएको अवस्थाको वसन्त अहिले करिब ५ फिट लम्बाइको भएको छ । रिसाएको अवस्थामा उद्यानका कर्मचारी विष्णुसिंह ठकुरीले मात्र वसन्तलाई फकाइ फुल्याइ गर्न सक्छन् । उद्यानमा बढी पिकनिक, बिहे र कार्यक्रमहरू हुँदा साउन्ड सिस्टमका कारण वसन्त रिसाउने गरेको उद्यानका कार्यालय प्रमुख बस्याल बताउँछन् ।

‘वसन्त’ नामको रहस्य
वसन्तलाई नवलपरासीको रामनगर जर्घाबाट ल्याइएको हो । चितुवाको नाम वसन्त राखिनुमा कारण छ । तत्कालीन जनमुक्ति सेना नेपाल चौथो डिभिजन वसन्त स्मृति ब्रिगेडले त्यहाँको वनमा लागेको आगो निभाउन जाँदा वसन्तलाई भेटेपछि उद्यानलाई सौजन्यका रूपमा बुझाएको थियो । वसन्त स्मृति ब्रिगेडबाट सौजन्य पाएपछि चितुवाको नाम वसन्त राखिएको उद्यानका कार्यालय प्रमुख बस्याल बताउँछन् । उनकाअनुसार आगो लागेको जंगलमा चितुवाका दुई बच्चा भेटिएपछि उद्यानमा सौजन्यका रूपमा दिइए पनि सानो भएका कारण एउटा बच्चा बचाउन सकिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय