छाउगोठ मात्र मुद्दा होइन, ‘महिनावारी स्वास्थ्य व्यवस्थापन’


वर्षौंदेखि हामी सुदूरपश्चिममा व्याप्त छाउपडीप्राथाका कारण विश्वसामु ग्लानि महसुस गर्दै आएका छौँ । अहिले त यसलाई कानुनले नै अपराध मानिसकेको छ । तर के सुदूरमा व्याप्त छाउपडी मात्र महिनावारीको समयमा महिलामाथि हुने विभेद हो त ? पक्कै पनि छाउपडीप्रथापछाडि महिला हिंसा, विभिन्न स्वास्थ्य समस्या, दुर्घटना जोडिएका छन्, जुन अमानवीय र दर्दनाक छन् । तर, सहरी क्षेत्रमा छाउगोठ छैनन्, र पनि सहरी समाज र शिक्षित परिवारका महिलासमेत महिनावारीका नमिठा अनुभूतिबाट मुक्त छैनन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा पूर्वमिसनेपाल माल्भिका सुब्बाले यस्तै तितो अनुभूति सुनाइन् । प्रसंग थियो, छोराको पास्नीको ।
छोराको पास्नीका लागि सबै तयारी भइसकेको थियो । संस्कृतिअनुसार बच्चालाई पहिलो गाँस आमाले खुवाउनुपर्ने, तर माल्भिकामा अघिल्लो दिन महिनावारी भयो । ‘यस्तोवेला हुँदैन भनियो,’ माल्भिकाले भनिन्, ‘पहिलोपटक महिनावारी हुँदा पूजाकोठामा जानुहुन्न भन्दा जसरी भेदभावको महसुस गरेको थिएँ, पछिल्लोपटक त्यस्तै भयो ।’

महिलामा प्राकृतिक प्रक्रियाअनुरूप रागरस (हर्मोन)को प्रभावका कारण डिम्वासयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर रगत बग्ने प्रक्रिया महिनावारी हो । महिनावारी महिलाको प्रजननयोग्यता वा गर्भवती हुन सक्ने उमेरमा प्रवेशको संकेत हो ।

काठमाडौंकी किशोरी माल्भिका न्यौपानले पनि यस्तै भेदभावको कथा सुनाइन् । धार्मिक तथा सांस्कृतिक रूपमा व्याप्त अन्धविश्वासका कारण अपनाइँदै आएको अभ्यास महिला स्वास्थ्यमा जोखिमको प्रमुख कारण बन्ने गरेको छ । यसले पाठेघर, मूत्रमार्ग र अन्यखालका संक्रमण त बढाएकै छ, यसमा हुने भेदभाव र व्यवस्थापनमा आइपर्ने समस्या मानसिक तनावको समेत कारण बन्ने गरेको विज्ञहरूले औँल्याएका छन् ।
‘पिरियड पोभर्टी’ अर्थात् महिनावारी सरसफाइ सामग्री जुटाउन नसक्नु नेपालका धेरै समुदाय, न्यून आम्दानी हुने समूह र विद्यालय पढ्ने किशोरीको समस्या बनेको समेत विज्ञहरूले बताएका छन् ।

महिलामा प्राकृतिक प्रक्रियाअनुरूप रागरस (हर्मोन)को प्रभावका कारण डिम्वासयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर रगत बग्ने प्रक्रिया महिनावारी हो । महिनावारी महिलाको प्रजननयोग्यता वा गर्भवती हुन सक्ने उमेरमा प्रवेशको संकेत हो । यो सामान्य र स्वाभाविक प्रक्रियालाई सामाजिक रूपमा नछुने हुने, परसर्ने, मासिक धर्मजस्ता नाम दिएर महिलामाथि भेदभाव मात्रै गरिन्न, यही आडमा अस्वस्थकर अभ्याससमेत भइरहेका छन् । यसको सही, सम्मानजनक र स्वस्थ व्यवस्थापनका विषयमा बृहत् कार्यशालाका सहभागीले महिनावारीको सामाजिक तथा मानसिक र शारीरिक स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावका पक्षबारे खुलेर छलफल गरे । उनीहरूले महिनावारीसम्बन्धी व्याप्त अन्धविश्वास र अभ्यासले महिलाको स्वास्थ्यमा जोखिम थपिरहेको बताए ।
महिनावारी स्वास्थ्य व्यवस्थापन अभ्यासकर्ता साझेदारी (एमएचएमपी अलायन्स) र जर्मन संघीय आर्थिक तथा विकास मन्त्रालय (विआइएम)का तर्फबाट जिआइजेडको सहयोगमा भएको कार्यक्रममा कोलम्बिया विश्वविद्यालयकी एसोसियट प्रोफेसर डा. मर्नी सोनरले नेपालमा एक दशकदेखि महिनावारीका समयमा हुने स्वास्थ्य व्यवस्थापन एजेन्डा बन्दै आएको बताइन् ।
सोनर मिडिया, सामाजिक कार्यकर्ता र अन्य निकायको अथक प्रयासपछि केही कानुन बनेको र सामाजिक मूल्य–मान्यतामा समेत परिवर्तन आएको बताइन् । ‘भूकम्पको समयमा धेरै मान्छे प्रभावित भए, त्यसवेला त्यही समयमा महिनावारी हुँदा अझै पीडित बने,’ उनले भनिन् । उनले थपिन्, ‘विश्वमा तीन करोड किशोरी तथा महिला महिनावारीमा हुने विभेदका कारण विस्थापित भएका छन् ।’

उनका अनुसार विश्वभर १० देखि १५ वर्षका किशोरीको संख्या ५ करोड ७६ लाख छ । नेपालमा १० देखि १४ उमेर समूहका १७ लाख १० हजार ७ सय ९४ किशोरी महिनावारी सुरुवातको चरणमा छन् र उनीहरूलाई महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी सहयोग र सल्लाह चाहिने अवस्थामा छन् । त्यसैगरी महिनावारीसम्बन्धी सहयोग चाहिने चरण (१५–१९ वर्ष)का १२ लाख १४ हजार ९० किशोरी रहेको तथ्यांक छ । तीबाहेक ठूलो हिस्सा प्रजनन उमेर समूहका महिलाको छ ।

जिआइजेडकी सिनियर टेक्निकल एड्भाइजर भ्यालरी ओस्थेमरले महिनावरीका समयमा हुने भेदभाव अन्त्य गरेर यसको स्वस्थ र सम्मानजनक व्यवस्थापनका समयमा पछिल्लो समय जारी बहसले सकारात्मक नतिजामा पु¥याउने विश्वास राखिन् ।
नेपालका लागि खानेपानी तथा सरसफाइ कोलाब्रेटिभ काउन्सिलका संयोजक गुणराज श्रेष्ठले एक सर्वेक्षणका अनुसार महिनावारीका समयमा खाने, छुने–नछुने, गर्न हुने–नहुनेलगायत विषयमा ४४ वटा सामाजिक अन्धविश्वास कायम रहेको पाइएको बताए । उनले अस्वस्थकर अभ्यास कायम हुनुमा उचित सरसफाइका लागि छुट्टै र स्यानेटरी प्याड व्यवस्थापन गर्ने सुविधासहितको शौचालय, सफा पानीलगायत पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की अनुसन्धानकर्ता सुष्मा दाहालले महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयमा स्पष्ट र बृहत् अनुसन्धान हुन नसकेकाले त्यससम्बन्धी कार्यक्रम र आवश्यकताबीच तालमेल मिल्ने कुरामा चुनौती हुन सक्ने औँल्याइन् ।

युएन विमन सेड कमिटी सदस्य बन्धना राणाले अहिले पनि महिनावारीको स्वस्थ व्यवस्थापनका लागि मुख्य चेतना आवश्यक पर्ने समूह महिनावारी सुरु हुने वेलाका किशोरीलाई नै कार्यक्रमले समेट्न नसकेको बताइन् । युएन विमनकी समा श्रेष्ठले महिनावरी स्वास्थ्यसँगै मानवअधिकार र लैंगिक अधिकारको समेत विषय भएको भन्दै व्यवस्थापन गर्न प्रभावकारी सोच चाहिएको बताइन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की अनुसन्धानकर्ता सुष्मा दाहालले महिनावारी स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयमा स्पष्ट र बृहत् अनुसन्धान हुन नसकेकाले त्यससम्बन्धी कार्यक्रम र आवश्यकताबीच तालमेल मिल्ने कुरामा चुनौती हुन सक्ने औँल्याइन् ।
भिएसओ बंगलादेशकी तजिन हुसेनले बंगलादेशमा छाउपढीजस्तै प्रथा नभए पनि महिनावारीका समयमा हुने भेदभाव भने कायमै रहेको बताइन् । महिनावारीका समयमा प्रयोग गरिने सुरक्षित प्यान्टी उत्पादनमा सक्रिय व्यवसायी रूपी श्रेष्ठले महिनावारीका समयमा प्रयोग गरिने सामग्रीलाई अत्यावश्यकीय वस्तुको सूचीमा राखेर त्यसमा कर छुटको व्यवस्था हुनुपर्नेमा जोड दिइन् ।
एक तथ्यांकअनुसार महिलाले महिनावारीको सम्मानजनक र स्वस्थ व्यवस्थापन गर्दा प्रतिमहिला कम्तीमा वार्षिक १ हजार ८ सय रूपैयाँबराबरको प्याड आवश्यक पर्छ । यस आधारमा यो खर्च धेरै महिलाको काबुभन्दा बाहिरको हुने भएकाले महिलाले अस्वस्थकर घरेलु प्याड प्रयोग गर्ने गरेका छन् । कार्यशालामा देश–विदेशका ३ सय ५० नेतृत्वकर्ता विज्ञ, अधिकारकर्मी, नीति–निर्माता किशोर–किशोरीको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय