गैरस्वास्थ्यकर्मीको स्वास्थ्यसचिवमा नियुक्तिप्रति सरकारी चिकित्सक संघको पनि विरोध, कडा आन्दोलनको चेतावनी

प्रशासन सेवाका सचिवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पिने सरकारको निर्णयप्रति सरकारी चिकित्सक संघले पनि विरोध जनाएको छ । स्वास्थ्यजस्तो संवेदनशील र महत्वपूर्ण क्षेत्रको संघीय मन्त्रालयको सर्वोच्च कार्यकारी जिम्मेवारी गैरकानुनी रूपमा स्वास्थ्यसम्बन्धी ज्ञान र अनुभव नै नभएका व्यक्तिलाई दिएको भन्दै संघले सोमबार विज्ञप्तिमार्फत कडा आपत्ति जनाएको हो । सोमबार नै नवनियुक्त स्वास्थ्यसचिव केदारबहादुर अधिकारीले पदभार ग्रहण गरेका हुन् ।

सरकारले सचिव नियुक्तिमा स्वास्थ्यसेवा ऐनको मर्म र भावनालाई लत्याएर सम्पूर्ण नेपाली नागरिको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा खेलवाड गरेको संघको आरोप छ । सम्बन्धित मन्त्रालयभित्रै स्वास्थ्यको क्षेत्रमा आजीवन अनुभव र कुशल प्रशासनिक खुवीसमेत भएका योग्य स्वास्थ्यकर्मीहरू हुँदाहुँदै उनीहरूको अनुभव, योगदान, ज्ञान र दूरदर्शितालाई पाखा लगाउँदै केवल राजनीतिक भागबन्डाका आधारमा सचिव नियुक्त गर्नुले स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्नुका साथै सिंगो देशको स्वास्थ्य क्षेत्र नै धरासायी हुने संघको ठहर छ । सरकारी चिकित्सक संघ र अन्य चिकित्सक तथा स्वाथ्यकर्मी संघहरूले पटक–पटक यस विषयमा आवाज उठाए पनि सरकारले बुझ पचाएको भन्दै संघले नेपाल चिकित्सक संघको बुधबारको विज्ञप्तिमा ऐक्यबद्धतासमेत जनाएको छ ।

संघले गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिव बनाउने सरकारी निर्णय तत्काल फिर्ता लिनसमेत माग गरेको छ । संघको मागलाई बेवास्ता गरी निर्णय फिर्ता नलिइएमा कडा आन्दोलनमा उत्रनेसमेत संघको चेतावनी छ । ‘स्वास्थ्य मन्त्रालयमा गैरस्वास्थ्यकर्मीको नियुक्तिको निर्णय तत्काल फिर्ता लिएर स्वास्थ्यसेवा ऐनको पालना तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न यो संघ नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसो नगरिए देशभरि नै आन्दोलनका कडा एवम् संघर्षका निर्णायक कदमहरू चालिने प्रति यो संघ सबैलाई सचेत गराउँदछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय