चिकित्सक संघले भन्यो– स्वास्थ्यमा अप्राविधिक सचिवविरुद्ध आन्दोलनका लागि तयार रहनू

मन्त्रालयमा सोमबार पदवहालीपछि सचिव अधिकारी

नेपाल चिकित्सक संघले आफ्ना देशभरका शाखा कार्यालयसहित सम्पूर्ण स्वास्थ्यकर्मीलाई प्रशासन समूहका सचिवलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सुम्पिने सरकारको निर्णयविरुद्ध आन्दोलनका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ ।  विशुद्ध प्राविधिक काम गर्नुपर्ने स्वास्थ्य मन्त्रालय र त्यसअन्तर्गतका स्वास्थ्यकर्मीहरूको नेतृत्व लिनु स्वास्थ्य क्षेत्रइतरका सचिवको वशमा नरहेको संघको ठहर छ ।

संघले नवनियुक्त स्वास्थ्यसचिव केदारबहादुर अधिकारीले पदभार ग्रहण गरेकै दिन सोमबार विज्ञप्ति जारी गर्दै प्रशासन सेवाबाट स्वास्थ्यसचिव ल्याउने निर्णय विगतको सहमति, प्रचलन मात्र नभई स्वास्थ्यसेवा ऐनको समेत भावनाविपरीत भएको जिकिर गरेको छ ।

‘स्वास्थ्य क्षेत्र विशुद्ध प्राविधिक क्षेत्र भएको, स्वास्थ्यमातहतका निकायहरूको परिचालन र समन्वयकारी भूमिका निर्वाहमा चिकित्साशिक्षा तथा स्वास्थ्य क्षेत्रका विषयहरूको प्रर्याप्त ज्ञान भएको व्यक्तिले मात्र स्वास्थ्य क्षेत्रका समस्या र चुनौतीहरूलाई राम्रोसँग आकलन गरी नीति–निर्माण तहमा प्राविधिक क्षेत्रको वास्तविकतालाई स्पष्ट बुझाउन सक्ने हुनाले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकर्मीहरूकै नेतृत्व हुनुपर्ने मान्यताअनुरूप नै स्वास्थ्य ऐन निर्माण भएको हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सोही ऐनको भावना र मर्मविपरीत नेपाल सरकारले पटक–पटक गरेका गलत निर्णयका विरुद्ध नेपाल चिकित्सक संघले विभिन्न आन्दोलन गरी सरकारसमक्ष सम्झौता गर्दै चिकित्सकहरूले नै स्वास्थ्य मन्त्रालयको सचिवका रूपमा जिम्मेवारी सम्हाल्दै आएको हो ।’

विगतमा चिकित्सक संघसितको सहमतिबमोजिम स्वास्थ्यसेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिवमा नियुक्त गरिँदै आएकोमा हाल आफैँले निर्माण गरेको उक्त ऐनको मर्म र भावनाविपरीत गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिवमा सुरुवा गर्ने सरकारको निर्णयले सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको भावनामा गम्भीर चोट पुर्याएको संघको बुझाइ छ ।

विगतमा चिकित्सक संघसितको सहमतिबमोजिम स्वास्थ्यसेवा ऐनको दफा १९ अनुसार वरिष्ठ स्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिवमा नियुक्त गरिँदै आएकोमा हाल आफैँले निर्माण गरेको उक्त ऐनको मर्म र भावनाविपरीत गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिवमा सुरुवा गर्ने सरकारको निर्णयले सम्पूर्ण स्वास्थ्यकर्मी तथा चिकित्सकहरूको भावनामा गम्भीर चोट पुर्याएको संघको बुझाइ छ । स्वास्थ्यकर्मीमाथि आघात पुर्याउने सरकारको यस्तो निर्णलेले निर्वाध रूपमा पुर्याउँदै आएको सेवाप्रवाहमा तत्काल असर पर्ने भएकाले यथाशीघ्र निर्णय फिर्ता लिन संघले सरकारसमक्ष जोडदार माग गरेको छ ।

सरकारले निर्णय फिर्ता नलिएको खण्डमा स्वास्थ्यकर्मीले सेवा अवरुद्धसमेत गर्ने सम्मको हदमा आन्दोलनका कार्यक्रम ल्याउने संकेत गर्दै संघले आन्दोलनको चेतावनीसमेत दिएको छ । ‘गैरस्वास्थ्यकर्मीको नेतृत्वमा नेपालका कुनै पनि स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी निर्वाध रूपमा वहन गर्न नसक्ने भएको हुँदा यसबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको जिम्मेवार नेपाल सरकार नै हुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

गैरस्वास्थ्यकर्मीलाई स्वास्थ्यसचिवमा ल्याउने निर्णय सरकारले पछिल्लोपटक चिकित्सक संघसित ८ भदौ ०७१ मा गरेको सम्झौताविपरीत भएको जनाउँदै संघले सोका विरुद्ध आन्दोलनका लागि तयारी अवस्थामा रहन आ–आफ्नो स्थानबाट सशक्त विरोध जनाउन देशभरका आफ्ना शाखा कार्यालयका साथै सम्पूर्ण स्वास्थ्यकर्मी चिकित्सकलाई अपिलसमेत गरेको छ ।

चिकित्सक संघकै संघर्षका काराण ०६२/६३ को आन्दोलनपश्चात् सरकारले स्वास्थ्यसेवा ऐनमा संशोधन गरी स्वास्थ्यकर्मीसमेत स्वास्थ्यसचिवमा नियुक्त हुन सक्ने बाटो खोलेको थियो । त्यसै आधारमा डा. निराकारमान श्रेष्ठ स्वास्थ्यसचिव नियुक्त भएका थिए । त्यसपछि डा. विष्णुप्रसाद पण्डित, डा. दीर्घसिंह बम, डा. सुधा शर्मा, डा. प्रवीण मिश्र, सेनेन्द्र उप्रेती, डा. किरण रेग्मी र डा. पुष्पा चौधरी चिकित्सकबाट सचिव बनेका थिए ।

यसबीचमा डा. मिश्रले अवकाश पाएसँगै सरकारले प्रशासनका शान्तबहादुर श्रेष्ठलाई स्वास्थ्यसचिव नियुक्त गर्दा पनि चिकित्सक संघको लामो विरोद्धपश्चात् २८ महिनापछि बाध्य भएर सरुवा गरेको थियो । पछिल्लोपटक ०७४ पुसदेखि डा. चौधरीले मन्त्रालयको नेतृत्व सम्हाल्दै आएकोमा उनी चौतर्फी रूपमा विवादित बनेपछि सरकारले २८ असोजमा उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको थियो ।

One thought on “चिकित्सक संघले भन्यो– स्वास्थ्यमा अप्राविधिक सचिवविरुद्ध आन्दोलनका लागि तयार रहनू

  1. भोलि देखि

    रक्षा सचिब सेना को मान्छे हुनुपर्छ भनेर आन्दोलन गरे भने
    गृह सचिब प्रहरी नै हुनुपर्छ भनेर आन्दोलन गरे भने
    त्यसैगरी
    शिक्षा सचिब शिक्ष्यक/ प्राध्यापक हुनुपर्छ
    निर्माण सचिब इन्जिनियर हुन्नुपर्छ
    कृषि सचिब किसान हुन्नुपर्छ भनेर
    अरुले पनि त्यस्तै गरि आन्दोलन गरे भने ……………………….

    सचिब बिशुद्ध प्रसासनिक पद हो
    यो कुनै पढाई र डिग्री संग को सबाल हैन
    बिधि , पद्दति र प्रक्रिया को सवाल पो उठाउने हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय