ड्राईफ्रुटले बढाउँछ शुक्रक्रीटको क्षमता र संख्या

बीबीसी
प्रकाशित
२०७५ मंसिर २२ गते १४:३५

बीबीसी– नियमित रूपमा बदाम, ओखर, काजु,  पेस्ताजस्ता ड्राइफ्रुट खाँदा पुरुषमा स्वस्थ शुक्रकीट उत्पादन बढ्ने एक अध्ययनले देखाएको छ ।

१४ हप्तासम्म दैनिक दुई मुट्ठी बदाम, ओखरको दिउल र हेजलनट सेवन गरेका पुरुषमा शुक्रकीटको कुल संख्या बढेको र तिनमा भरिला शुक्रकीट पनि धेरै पाइएको वैज्ञानिकहरूले बताएका छन्।

पाश्चात्य जगत्मा प्रदूषण, धूमपान एवम् खानपिन आदिका कारणले वीर्यमा शुक्रकीटको संख्या घट्ने क्रम देखिएका बेला यस्तो अनुसन्धान तथ्य सार्वजनिक भएको हो ।

अनुसन्धानकर्ताका अनुसार स्वस्थ खानाले गर्भाधानको सम्भावना बढाइदिने प्रमाण पनि भेटिएको छ।

अहिले सातमध्ये एक जोडीमा गर्भाधान नहुने समस्या देखिएको छ। झन्डै ४० देखि ५० प्रतिशत बाँझोपन पुरुषका कारण हुने गरेको बताइन्छ।

वैज्ञानिकहरूले १८ देखि ३५ वर्ष उमेर भएका १ सय १९ स्वस्थ पुरुषहरूलाई दुई समूहमा विभाजित गरे। एउटा समूहका प्रत्येक पुरुषलाई ६० ग्राम बदाम, ओखर र हेजलनट नियमित भोजनसँग दिइयो । अर्को समूहको भोजनमा परिवर्तन गरिएन । ड्राइफ्रुट खाने समूहको शुक्रकीटको संख्या र गुणमा सुधार आयो।

सङ्ख्यामा १४ प्रतिशतले, क्षमतामा ४ प्रतिशतले, गतिशीलतामा ६ प्रतिशतले र आकारमा १ प्रतिशतले वृद्धि आएको पाइयो ।

यी सबै विश्वस्वास्थ्य सङ्गठनले शुक्रकीटको गुणस्तरका लागि तोकिदिएका मापदण्ड हुन्। र, यिनको पुरुषको प्रजननक्षमतासँग सम्बन्ध हुन्छ।

ओमेगा थ्रि फ्याटी एसिड, एन्टिअक्सिडेन्ट र भिटामिन बी फोलेटले प्रजननशक्ति बढाउन सघाउँछन् भन्ने अरू अध्ययनको निष्कर्षलाई यसले समर्थन गरेको विज्ञहरूले बताएका छन्। बदाम र ओखरजस्ता फलहरूमा यी र अन्य पोषक तत्त्वहरू हुन्छन्।

‘स्वस्थ आहार र जीवनशैलीले गर्भाधानको सम्भावना बढाउँछ भन्ने मान्यतालाई समर्थन गर्ने वैज्ञानिक प्रमाण थपिँदैछन्,’ अनुसन्धानको नेतृत्व गरेका स्पेनस्थित रोभिरा ई भिर्जिलीका डा.  अल्बर्ट सालास हुएटोसले भने।

अध्ययनमा संलग्न पुरुषहरू स्वस्थ र प्रजनन गर्न सक्षम ठानिएकाले यसको परिणाम प्रजननमा समस्या भएका व्यक्ति र अन्य पुरुषमा लागु होला कि नहोला भन्ने विषय भने स्पष्ट नभएको अनुसन्धानकर्ताहरुले बताएका छन्।

अनुसन्धानमा संलग्न नभएका शेफिल्ड विश्वविद्यालयका प्राध्यापक एवम् पुरुष प्रजनन अङ्गमा हुने रोगका विशेषज्ञ आलन पेसीका अनुसार बदाम र ओखर ख्वाइएका पुरुषमा अनुसन्धानको परिधिमा नपरेका अन्य सकारात्मक प्रभावहरू पनि भएका हुनसक्छन्।

भ्रूणशास्त्रमा विशेषज्ञता भएकी चिकित्सिक भर्जिनिया बोल्टनले यी खोजहरू प्राज्ञिक रूपमा चाखलाग्दा भए पनि यिनले कसरी गर्भाधानको सम्भावना बढाउँछन् त्यो भन्न भने असम्भव रहेको बताइन्। ‘तर हामीले बिरामीलाई मदिरा नपिउन, धूमपान नगर्न र स्वस्थ आहारविहार गर्न उत्प्रेरित गरिराख्नुपर्छ’, उनले भनिन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय