बिरामीहरू ढुंगाले हान्न आउँछन्, एक्ली नर्स देखे भने झन् हेप्छन्

म ७ वर्षदेखि मानसिकरोग अस्पताल पाटनमा कार्यरत छु । अन्य अस्पतालमा भन्दा मानसिकरोग अस्पतालमा काम गर्न गाह्रो छ । यहाँको वातावरण अन्यत्रको भन्दा नितान्त फरक छ । करिब १३ वर्ष प्रसूतिगृहमा समेत काम गरिसकेकाले मैले मानसिक र अन्य अस्पताल दुवैको नर्सिङ अनुभव सँगाल्ने मौका पाएकी छु । प्रसूतिरोगका बिरामीको भन्दा मानसिकरोगका बिरामीको हेरचाह नितान्त फरक विषय हो ।

मानसिक अस्पतालमा महिला तथा पुरुष दुवै बिरामीको हेरचाह गर्नुपर्ने हुन्छ । त्यसमा पनि रोगीको प्रकारअनुसार उनीहरूको स्याहार तथा हेरचाह गर्नुपर्ने हुन्छ । हुन त अन्य अस्पतालमा पनि रोगको प्रकृतिअनुसार बिरामीको हेरचाह फरक तरिकाबाट गर्नुपर्ने हुन्छ । तर, अन्य रोगका बिरामी र मानसिकरोगका बिरामीको हेरचाहमा केही समानता भए पनि धेरै नै असमानता पाइन्छ । हाइजिन तथा डाइटका कुरामा मानसिकरोगका बिरामीलाई अन्य बिरामीलाई भन्दा बढी नै ख्याल गर्नुपर्ने हुन्छ ।
अन्य रोगका बिरामीलाई डाइट तथा हाइजिनका कुरामा आफैँ पनि ज्ञान हुन्छ भने मानसिकरोगका बिरामीका हकमा नर्सले नै ध्यान दिनुपर्ने हुन्छ । उनीहरूमा सही–गलत छुट्याउने क्षमता नहुने कारणले गर्दा नर्सले नै त्यसको पूर्ण रूपमा जिम्मेवारी लिनुपर्ने हुन्छ ।

अन्य बिरामीको भन्दा मानसिकरोगका बिरामीको हेरचाह जटिल छ । नर्सले सफा गरेर राखेको बेड बिरामीले क्षणभरमै यत्रतत्र बनाइदिन्छन् । अन्य बिरामीले नर्स तथा अस्पताल प्रशासनको अनुरोधलाई मान्छन् भने मानसिकरोगका बिरामीले मान्दैनन् ।

कतिपय मानसिक बिरामीलाई त दिसा–पिसाब कहाँ गर्नुपर्छ भन्ने ज्ञान पनि नहुने भएकाले त्यस्ता कुरामा समेत नर्सले सम्झाउनुपर्ने हुन्छ । त्यसैले अन्य बिरामीको भन्दा मानसिकरोगका बिरामीको हेरचाह जटिल छ । नर्सले सफा गरेर राखेको बेड बिरामीले क्षणभरमै यत्रतत्र बनाइदिन्छन् । अन्य बिरामीले नर्स तथा अस्पताल प्रशासनको अनुरोधलाई मान्छन् भने मानसिकरोगका बिरामीले मान्दैनन् । कतिपय बिरामीले सरसफाइ तथा हेरचाहका लागि अनुरोध गर्दा नर्सलाई कुट्न आएको अनुभवसमेत मसँग छ । अन्य बिरामीलाई औषधि सजिलै खुवाउन सकिन्छ, तर मानसिकरोगका बिरामीले मुखको मुनिको भागमा औषधि लुकाएर राख्ने र आँखा छलेर फाल्ने गरेको पनि पाइन्छ ।
सुरुवाती दिनहरूमा त बेकार मानसिक अस्पतालमा नर्सका रूपमा काम सुरु गरेछु भन्ने लाग्थ्यो । सुरु–सुरुमा त काम गर्दा कता–कता डर लागेर आउँथ्यो । प्रसूतिगृहमा काम गरिरहेको मान्छे, मानसिक अस्पतालमा आउँदा न बिरामीले पिट्ने नै पो हुन् कि भनेर कति दिन त बिरामीको नजिक जान पनि डराएँ । कतिपय बिरामीले त पिट्न पनि आए । कोही–कोही त ‘मलाई मार्न औषधि दिएको होइन ?’ भन्दै ढुंगाले हान्न आउँथे । काम गर्दै जाँदा बिस्तारै यस्ता कुराको सामना गर्ने क्षमताको विकास स्वतः हुँदोरहेछ । मलाई बिस्तारै यस्ता बिरामीलाई सम्झाउनुपर्ने रहेछ भन्ने कुराको ज्ञान हुन थाल्यो ।

कतिपय अवस्थामा बिरामीको हेरचाह गर्न जाँदा अन्य साथीहरू समेत लिएर जानुपर्ने अवस्थासमेत आउने गरेको छ । प्रायः बिरामीले उपचारका क्रममा एक्लो नर्स देखे भने बढी हेप्छन् । त्यसैले जटिल केसका बिरामीकहाँ जाँदा हामी सामूहिक रूपमा जाने गरेका छौँ । कतिपय बिरामीले एक्लै उपचारमा भएको नर्सलाई छलेर मुखबाट औषधि फालेर पानी मात्र निल्ने पनि गर्छन् । त्यसैले औषधि खाए–नखाएको पनि दुई–तीनजनाले हेर्नुपर्ने हुन्छ । अन्य बिरामीलाई भन्दा मानसिकरोगका बिरामीका लागि बढी नै समय दिनुपर्ने हुन्छ ।

नर्सको धर्म नै सेवा भएकाले मलाई कुनै पनि वेला आफ्नो पेसाप्रति पछुतो भने लागेको छैन । सुरुमा एकदमै आक्रोशित रूपमा आएका मानसिकरोगीहरू पनि पूर्ण रूपमा निको भएर ‘म घर जान्छु है’ भनेको सुन्दा मलाई औधी खुसी लाग्ने गर्छ ।

नर्सको धर्म नै सेवा भएकाले मलाई कुनै पनि वेला आफ्नो पेसाप्रति पछुतो भने लागेको छैन । सुरुमा एकदमै आक्रोशित रूपमा आएका मानसिकरोगीहरू पनि पूर्ण रूपमा निको भएर ‘म घर जान्छु है’ भनेको सुन्दा मलाई औधी खुसी लाग्ने गर्छ । त्यो क्षण मलाई आफ्नो पेसाप्रति गर्व लाग्छ । कतिपय बिरामी त निको भएर घर फर्केपछि पनि वेलावेलामा भेट्न आउने गर्छन् । बिरामी अवस्थामा हामीप्रति गरेका नराम्रा व्यवहारबारे कतिपयले पछि आएर माफीसमेत माग्ने गरेका छन् ।
मानसिक रूपमा सन्तुलन गुमाएका बिरामी निको भएर घर जाँदा उपचारमा संलग्न सम्पूर्ण टिमलाई नै पक्कै खुसी लाग्छ । यहाँबाट पूर्ण रूपमा ठिक भएर गएका बिरामी परिवार तथा समाजसँग घुलमिल नभएको अवस्था पनि कहिलेकाहीँ आउने गरेको छ ।

प्रस्तुति: लक्ष्मी चौलागाईं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय