२५ ठूला अस्पतालमा नेतृत्व संकट, नर्ससमेत निमित्त मेसु, पहुँच पुग्नेलाई महत्वपूर्ण महाशाखा

भएका चिकित्सकको सही रूपमा परिचालन नगरिँदा र जनशक्ति घट्दा पनि पद कायमै राख्दा देशभरका ठूला सरकारी अस्पताल नेतृत्वविहीन बनेका छन् । जनरल हेल्थ सर्भिस (जहेस) समूहका कतिपय चिकित्सक सेवा समूहभन्दा बाहिरको जिम्मेवारीमा छन् भने केहीलाई कामविहीनसमेत राखिएको छ ।

स्वास्थ्य मन्त्रालयले पदअनुसारको जिम्मेवारीमा जनशक्तिलाई खटाउन नसक्दा सरकारी स्वामित्वका सबैजसो ठूला अस्पतालका सेवा र व्यवस्थापन जर्जर बन्दै गएका छन् । ५० शय्याभन्दा माथिका क्षेत्रीय, उपक्षेत्रीय, अञ्चल र केही जिल्ला अस्पतालमा जनरल हेल्थ सर्भिसेस (जहेस, मेसु) ११ तहका चिकित्सक निर्देशक हुने व्यवस्था छ । तर, देशभरका अस्पतालको पछिल्लो अवस्थालाई हेर्दा ११औँ तहका चिकित्सक प्रमुख हुनुपर्ने ठाउँमा नर्सिङ समूहअन्तर्गत सातौँ तहले समेत निर्देशकको जिम्मेवारी पाइरहेको भेटिएको छ ।

मेडिकल सुपेरिटेन्डेन्ट हुनका लागि एमबिबिएसपछि निश्चित अवधि पुगेका आधारमा बढुवा पाएका, जहेस समूह विशेषज्ञ वा मेडिकल जनरालिस्ट (एमडिजिपी) हुनुपर्छ । यस आधारमा हेर्दा अधिकांश अस्पतालमा योग्यताअनुसारको निर्देशक छैनन् ।

स्वास्थ्यसेवा ऐनमा ५० शय्यासम्मका १५ जिल्ला अस्पताल, तीन उपक्षेत्रीय अस्पताल, १ क्षेत्रीय अस्पताल र ११ अञ्चल अस्पताल गरी ३० वटा स्वास्थ्यसंस्थामा उपसचिवसरहका चिकित्सक मेडिलक सुपेरिटेन्डेन्ट हुने व्यवस्था छ । स्वास्थ्यसेवा विभागका पूर्वमहानिर्देशक डा. बिडी चटौत देशभरका अस्पतालमा नेतृत्व संकट आउनु राम्रो संकेत नभएको बताउँछन् । ‘भएका जहेस समूहका चिकित्सकलाई पनि परिचालन गर्नुपर्छ, उनीहरूले पुग्दैन भने विशेषज्ञ खटाउनुपर्छ,’ डा. चटौतले भने, ‘सरकारले खटाउन नसक्दा यस्तो अवस्था आएको हो ।’

मेसुको दरबन्दी भएका मध्ये मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेत, अञ्चल अस्पतालहरू गण्डकी र लुम्बिनीमा जहेस समूहकै मेसु छन् । तीबाहेक मेची, र हेटौँडामा ११औँ तहकै विशेषज्ञ (फिजिसियन) र कोसीमा ११ तहकै मानसिक विशेषज्ञ, धौलागिरी अञ्चल र उदयपुर जिल्ला अस्पतालमा ११औँ तहकै एमडिजिपी मेसु छन् ।

६ वटा जिल्ला अस्पतालमा १०औँ तह, ३ वटामा नवौँ र ३ वटामा आठौँ तहका निर्देशक

तीबाहेक २० वटा ठूला अस्पताल पद तथा सेवा–समूह र योग्यतासमेत नमिलेका चिकित्सकलाई निमित्तको जिम्मेवारी दिएर चलाइँदै आएको छ । ५० बेडभन्दा माथिका अस्पतालमध्ये इलाम, सिन्धुली, सिराह, गौर, म्याग्दी, कैलाली अस्पतालमा १० तहका विशेषज्ञले निमित्त मेसु चलाइरहेका छन् ।

मन्त्रालय कर्मचारी प्रशासन शाखाका कर्मचारी गायत्रीप्रसाद अधिकारीका अनुसार सुनसरी, सर्लाही, बर्दिया अस्पताल नवौँ तहका र रामपुर पाल्पा, जाजरकोट, खाँदबारी अस्पताल आठौँ तहका चिकित्सकको भरमा छन् । नुवाकोट जिल्ला अस्पतालमा भने सातौँ तहकी नर्स निमित्त मेसुको जिम्मेवारीमा रहेको अधिकारीले जानकारी दिए । त्रिशूली अस्पतालमा यतिसम्म हास्यास्पद छ कि, अस्पतालमै ९ औँ तहका कन्सल्टेन्ट चिकित्सकसमेत कार्यरत रहे पनि राजनीतिक पहुँचका आधारमा ६ महिनादेखि नर्सिङ स्टाफलाई मेसुको जिम्मेवारी दिइराखिएको छ ।

६ अञ्चल अस्पतालमा मात्रै ११ तहका मेसु

सरकारमातहतका ११ वटा अञ्चल अस्पतालमध्ये मेची, कोसी, सगरमाथा, गण्डकी, लुम्बिनी, धौलागिरि र भेरी अञ्चल अस्पतालमा पनि जहेस समूहका मेसु छैनन् ।
तर, यी अस्पतालमा एघारौँ तह (सहसचिवसरह)का चिकित्सकले मेसुको जिम्मेवारी पाएका छन् । सबै ठाउँमा मेसुको दरबन्दी भए पनि मेचीमा फिजिसियन, कोसीमा साइक्याट्रिक, धौलागिरिमा एमडिजिपी नेतृत्वमा छन् ।
तीबाहेक महाकाली अञ्चल अस्पतालमा नवौँ, सेती, राप्ती र जनकपुरमा १०औँ तहका चिकित्सक निमित्त मेडिकल सुपेरिटेन्डेन्टको जिम्मेवारीमा छन् ।

उपक्षेत्रीयको उही हाल

तीनवटा सरकारी उपक्षेत्रीय अस्पतालमध्ये नारायणीमा १०औँ र डढेल्धुरामा आठौँ तह (मेडिकल अधिकृत)लाई मेसु तोकिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको राप्ती उपक्षेत्रीय अस्पतालमा मेसु तोकिएको छैन ।

अस्पताल रित्तै, जहेसलाई महत्वपूर्ण महाशाखा

जहेस समूहअन्तर्गतका ठाउँमा दरबन्दी राखेर दुई चिकित्सकलाई विभागको आकर्षक जिम्मेवारी दिइएको छ,
भने एकजना मन्त्रालयको अतिरिक्त समूहमा छन् । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारा पोखरेल र राष्ट्रिय बिमा कार्यक्रमका निर्देशक डा. मदन उपाध्याय पनि मेसु समूहका चिकित्सक हुन् । बिमामा नयाँ निर्देशक नियुक्ति सँगै डा.उपाध्याय दरबन्दी रहेकै अस्पताल फर्किनुपर्छ । देशभरका अस्पताल प्रमुखविहीन बनिरहँदा सोही समूहका डा. रमेश खरेल भने गत साउनदेखि मन्त्रालयले दरबन्दी भएको ठाउँमा नखटाई अतिरिक्त समूहमा (कामविहीन) राखेका कारण दिन मात्र कटाइरहेका छन् ।

मेसुमा किन छैन आकर्षण ?
स्वास्थ्यसेवा विभागका पूर्वमहानिर्देशक डा. यशोवर्धन प्रधानले मन्त्रालयको नेतृत्वकर्ता सचिव तथा राजननीतिज्ञले नै चिकित्सकलाई खटाइएको अस्पताल नगईकन केन्द्रमै बसे पनि हुने गरी बानी बिगारिदिएका कारण अस्पतालहरू रित्तिने अवस्था आएको बताए । ‘अस्पतालहरूमा समस्यैसमस्या छन्, त्यहीँ केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘केन्द्रमा कार्यक्रम हुन्छन्, विदेश घुम्न पाइन्छ, मन्त्री तथा सचिवसँग नजिक हुन पाइन्छ, केन्द्र पाउँदापाउँदै को जिल्ला र प्रदेश जान्छ त ?’ डा. प्रधानले भने ।
उनले एकपटक केन्द्रका महाशाखाको स्वाद चाखेपछि दबाब, प्रभावमा पारेर पनि केन्द्रमै बस्न खोज्ने र नेताहरूले पनि केन्द्रमै राखिदिने प्रवृत्तिले विकृति मौलाएको बताए ।

यी हुन् संकटमा रहेका अस्पताल

अस्पताल                                 हाल तह

राष्ट्रिय ट्रमा सेन्टर नाम्स                  निमित्त
गौर अस्पताल रौतहट                     १०
इलाम,                                           १०
उदयपुर                                         एमडिजिपी
सिन्धुली                                          १०
सुनसरी                                          ९
सिन्धुली                                          ९
सर्लाही                                           १०
हेटौडा अस्पताल मकवानपुर           फिजिसियान
त्रीशुली                                            ७
रामपुर अस्पताल, पाल्पा                  ८
जाजरकोट अस्पताल, जाजरकोट     ८
म्याग्दी अस्पताल, म्याग्दी                  १०
गुलरिया अस्पताल, बर्दिया                ९
टीकापुर अस्पताल कैलाली               १०
खाँदवारी अस्पताल संखुवासभा         ८
मेची अञ्चल अस्पताल                       ११
कोसी अञ्चल अस्पताल                     ११
सगरमाथा अञ्चल अस्पताल               ११
जनकपुर                                          १०
गण्डकी                                            ११
लुम्बिनी                                            ११
चौलागिरी                                         ११
राप्ति                                                १०
भेरी अञ्चल अस्पताल, बाँके               ११
सेती अञ्चल अस्पताल कैलाली            १०
महाकाली अञ्चल अस्पताल कन्चनपुर      ९
नारायणी अञ्चल अस्पताल पर्सा               १०
डढेल्धुरा अस्पताल                                  ८
राप्ती                                                       खाली
मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत      ११

2 thoughts on “२५ ठूला अस्पतालमा नेतृत्व संकट, नर्ससमेत निमित्त मेसु, पहुँच पुग्नेलाई महत्वपूर्ण महाशाखा

  1. आवस्यक संस्थामा चिकित्सक पठाउन नसक्नु स्वास्थ्यका माथिल्लो निकायको लाचारीपन हो।” स्वास्थ्य सेवा जनताको मौलिक अधिकार “भन्नेनारा मात्र रट्न रुचाउने तर त्यस अनुरुप कार्य नगर्ने सम्बद्ध निकायले यस्तो स्थिति को जिम्मेवारी लिनुपर्छ। निमित्त पद केही समय को लागि काम चलाऊ मात्र हो।अस्पताल जस्तो सम्वेदनशील संस्थालाई लामो समयसम्म प्रमुख विहीन राख्नु उचित नभयको र त्यसवेला जिम्मेवारी लिने व्यक्ति नभयकोले सरकारी कर्मचारी मध्य सिनीयरलाई आर्थिक तथा प्रशाशनिक जिम्मेवारी दिदा सातौ तहको नर्सिंग कर्मचारीले अस्पताल चलाउनु पर्ने बाध्यता भयको हो।हाल यस अस्पतालमा कार्यरत कन्सल्टेन्ट चिकित्सक स्वयंले प्रमुखको पदभार ग्रहण नगर्नु भयको हो ; यहाँ “राजनितिक पहुँच ” को अर्थ बुझ्न सकिएन, के भन्न खोजिएको हो? आवस्यक चिकित्सक पठाउन को लागि सम्बद्ध निकायमा धेरै पटक पत्राचार र मौखिक अनुरोध गरियता पनि यसवारेमा कुनै सकारात्मक जवाफ पाउन सकिएको छैन।

  2. अाँपपिपल अस्पताल, गाेरखा मिति २०५९ साल देखि नेपाल सरकारको स्वामित्वमा रही सञ्चालन हुँदै आइरहेको छ । तर सोही मिति देखि हाल सम्म मेडिकल सुपरिटेण्डेन्ट (९/१० तह) सधैँ रिक्त रहदै आइरहेको छ । यस अस्पताल प्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय