सबै गाउँमा स्वास्थ्यको पहुँच पु-याउन सकिएको छैन

छत्रबहादुर अधिकारी
प्रकाशित
२०७५ मंसिर २० गते १६:३२

छत्रबहादुर अधिकारी रुरु गाउँपालिका गुल्मीका स्वास्थ्य संयोजक हुन् । गाउँपालिकामा एउटा प्राथमिक स्वास्थ्यकेन्द्र र ६ वटा स्वास्थ्यचौकी गरी सातवटा स्वास्थ्यसंस्था छन् । त्यसमध्ये दुईवटा स्वास्थ्यसंस्थामा ल्याबसेवा र तीनवटा स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा उपलब्ध छ । पहाडी भूगोलमा फैलिएको हुँदा गाउँपालिकामा स्वास्थ्यसेवाका कार्यक्रम सञ्चालनमा कठिनाइ छ ।
हामीले रुरु गाउँपालिकाका स्वास्थ्य कार्यक्रम र तिनको कार्यान्वयनको अवस्थामा केन्द्रित रही गाउँपालिकाका स्वास्थ्य संयोजक तथा जनस्वास्थ्य निरीक्षक छत्रबहादुर अधिकारीसँग कुराकानी गरेका छौँ । कुराकानीको सारसंक्षेप यसप्रकार छ ः

गाउँपालिकामा कतिवटा स्वास्थ्यसंस्था छन् र तिनको भौतिक अवस्था के छ ?
हामीकहाँ सातवटा स्वास्थ्यसंस्था छन् । साबिकका ६ वटै गाविस भटकुवा, थानपति, ग्वादी, बलेटक्सार, बम्घा, रिमुवामा एक–एकवटा स्वास्थ्यचौकी छन् भने रिडीमा प्राथमिक स्वास्थ्यकेन्द्र छ ।
प्राथमिक स्वास्थ्यकेन्द्र, रिडी र थानपति स्वास्थ्यचौकीमा संस्थाको आधुनिक भवन बनिसकेको अवस्था छ । बम्घा स्वास्थ्यचौकी निर्माणाधीन अवस्थामा छ । त्यसबाहेक सबैजसो स्वास्थ्यचौकीले भवनका लागि जग्गा प्राप्त गरिसकेको अवस्था छ । ग्वादी स्वास्थ्यचौकीका लागि कार्यक्रम स्वीकृत भए पनि प्रदेश सरकारबाट बजेट निकासा भएको हुँदा के–कसरी गर्ने भन्ने निर्देशन आएको अवस्था छैन ।

स्वास्थ्यसंस्थाले कुन–कुन सेवा उपलब्ध गराइरहेका छन् ?
सबै स्वास्थ्यसंस्थाले संस्थाको स्तरअनुसार सबैखाले सेवा दिइरहेको अवस्था छ । त्यसमध्ये प्राथमिक स्वास्थ्यकेन्द्र र बलेटक्सार स्वास्थ्यचौकीमा ल्याबसेवा उपलब्ध छ । गत आर्थिक वर्षदेखि बलेटक्सार स्वास्थ्यचौकीमा ल्याबसेवा सुरु गरिएको हो । प्राथमिक स्वास्थ्यकेन्द्र रिडी, थानपति स्वास्थ्यचौकी र बलेटक्सार स्वास्थ्यचौकी गरी तीनवटा स्वास्थ्यसंस्थामा सुरक्षित सुत्केरी सेवा उपलब्ध छ । प्राथमिक स्वास्थ्यकेन्द्र रिडी र थानपति स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । बम्घा स्वास्थ्यचौकीमा सुरक्षित सुत्केरी सेवा र थानपति स्वास्थ्यचौकीमा ल्याबसेवा थप्ने योजनामा छौँ ।
हामीले स्वास्थ्यसंस्थाहरूमा महिनाको एकदिन एमबिबिएस डाक्टर उपस्थित गराई स्वास्थ्यसेवा दिइरहेको अवस्था छ । यो सेवा प्राथमिक स्वास्थ्यकेन्द्र रिडीको जनशक्तिबाट व्यवस्थापन गरिएको छ । आवश्यक परेमा बाहिरबाट समेत डाक्टर ल्याउने गरिएको छ ।

स्वास्थ्यसंस्थामा कुन रोगका बिरामी बढी आउने गरेका छन् ?
मुख्यगरी मौसमी ज्वरो, ग्यास्ट्रिक, ब्लड प्रेसर, जोर्नी दुख्ने समस्या लिएर आउने गरेको पाइएको छ । त्यस्ता समस्यामा केही कठिनखालका भए प्राथमिक स्वास्थ्यकेन्द्र रिडीमा र समस्यामूलक भए जिल्ला अस्पतालहरूमा रेफर गर्ने गरिएको छ । तर, रेफर गर्नुपर्ने अवस्थाका केस भने नगण्य छन् ।

स्थानीय सरकार आएपछि स्वास्थ्यसंस्थामा देखिएको परिवर्तन के हो ?
गाउँपालिकाका स्वास्थ्यसंस्थामा दरबन्दीअनुसारको स्वास्थ्यकर्मी ल्याउनमा हामी सफल भएका छौँ । पटक–पटक ताकेता र अनुरोधपछि यो सम्भव भएको हो । स्वास्थ्यसंस्थामा औषधि अभाव हुन दिइएको छैन । स्वास्थ्यकर्मीलाई स्वास्थ्यसंस्थामा रहेर सेवा दिनका लागि प्रेरित गर्न सकेका छौँ । सरकारी स्वास्थ्यसंस्थालाई नपत्याई निजी क्लिनिकबाट स्वास्थ्यसेवा लिनेक्रमलाई कसरी निरुत्साहित गर्ने र सरकारी स्वास्थ्यसंस्थाप्रति कसरी विश्वास जगाउने भनेर स्वास्थ्यसंस्थामा जनशक्ति, सेवा, औषधि र स्वास्थ्य उपकरणको उपलब्धतालाई बढाउँदै लगेका छौँ ।

भएका स्वास्थ्यसंस्थाबाट गाउँपालिकाका सबै गाउँका जनताले स्वास्थ्यसेवा पाउन सकिरहेका छन् त ?
अझै पनि गाउँपालिकाका केही गाउँ भौगोलिक रूपमा स्वास्थ्यसंस्थाबाट टाढा छन् । त्यहाँ सरकारी स्वास्थ्यसंस्था पुग्न सकेको अवस्था छैन । ग्वादीको भरेक, रिमुवाको शाहघाट, बम्घाको बोटेगाउँ यसका उदाहरण हुन् । ती गाउँका जनतालाई स्वास्थ्यसंस्थामा सेवा लिन आइपुग्न पैदल डेढदेखि दुई घण्टा लाग्छ । त्यसैले त्यस्ता गाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापनाका लागि केन्द्र सरकारसँग माग गर्ने योजनामा छौँ ।

स्वास्थ्यका लागि गाउँपालिकाको बजेट कति हो ?
हाम्रो गत आर्थिक वर्षको ससर्त बजेट १ करोड ९३ लाख ८३ हजार र निःसर्त बजेट ६४ लाख ७७ हजार हो । चालू आर्थिक वर्षका लागि यो बजेट क्रमशः २ करोड २७ हजार र ६९ लाख १४ हजार छ ।

गाउँपालिकाको बजेटमा सञ्चालित स्वास्थ्यसम्बन्धी प्रमुख कार्यक्रम के हुन् ?
पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरलाई स्त्रीरोगसँग जोडेर कार्यक्रम बनाई निरन्तरता दिएका छौँ । गत वर्षको कुरा गर्ने हो भने २ सय १० जनाले शिविरमा परीक्षण गराएकोमा रोगको शंका गरिएका ३ जनालाई उपचारका लागि सिफारिस गरिएको थियो, जसमा २ जनामा प्रमाणित भई उनीहरूको उपचार भइसकेको छ । सबै स्वास्थ्यसंस्थामा फ्रिज दिने योजना छ । रेबिजको भ्याक्सिनका लागि प्राथमिक स्वास्थ्यकेन्द्र रिडीमा व्यवस्था गर्न बजेट विनियोजन गरिएको छ । आमा समूहको सुपरीवेक्षण र पुनर्गठनका लागि कार्यक्रम राखिएको छ । कार्ड प्रमाणीकरण तथा पूर्ण खोप उत्प्रेरीकण कार्यक्रम, १८ वटा गाउँघर क्लिनिक र २४ वटा खोपकेन्द्र छन् । गाउँघर क्लिनिकमा आवश्यक स्वास्थ्य औजारको व्यवस्था भइसकेको अवस्था छ भने फर्निचरका लागि बजेट छुट्याइएको छ ।

स्वास्थ्यका लागि बजेट प्रर्याप्त छ त ?
हामीलाई उपलब्ध र विनियोजित बजेट प्रर्याप्त होइन । प्राप्त बजेटको उच्चतम सदुपयोगबाट जनतालाई बढीभन्दा बढी स्वास्थ्यसेवा उपलब्ध गराउने हाम्रो प्रयास हो । अझै पनि स्वास्थ्यकर्मीका लागि फिल्ड भत्ता, ननप्राक्टिस एलाउन्स केन्द्रबाट आएको अवस्था छैन । त्यसैगरी, सुत्केरी हुँदा दिने प्रोत्साहनभत्ता र रात्रिकालीन सेवाको ससर्त बजेट प्रर्याप्त छैन ।

प्रस्तुति ः कृष्ण मल्ल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय