स्वयंसेविकाको काम प्रशंसायोग्य : मन्त्री यादव

‘महिला स्वास्थ्य स्वयंसेविकाको निःस्वार्थ सेवा, स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा’ भन्ने नाराका साथ स्वास्थ्यसेवा विभाग टेकुको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले १५औँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ ।  बुधबार राजधानीमा आयोजित कार्यक्रमका स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बूढानीलकण्ठ स्वास्थ्यचौकीकी महिला स्वास्थ्य स्वयंसेविका कमला पन्तलाई सम्मान गरे । पन्तले स्वास्थ्य स्वयंसेविकाका रूपमा पु-याएको योगदानको कदर गर्दै विभागले उनलाई सम्मान गरेको थियो ।

सम्मान ग्रहण गर्दै पन्तले ०३६ तिर स्वयंसेवकका रूपमा पुरुषलाई राखिए पनि अपेक्षाअनुरूप नतिजा प्राप्त नभएपछि ०४५ देखि महिलालाई स्वास्थ्य स्वयंसेविकाका रूपमा राखिएको बताइन् । महिला स्वास्थ्य स्वयंसेविकाको भूमिकालाई मूल्यांकन गर्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई सम्मान प्रदान गर्नु गर्वको विषय भएको उनको धारणा थियो ।
कार्यक्रममा मन्त्री यादवले महिला स्वास्थ्य स्वयंसेविकाको खुलेर प्रशंसा गरे । ‘स्वास्थ्यको माध्यमबाट समाजसेवा, आमा र बच्चाको सेवामा अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्ने र जुनुसुकै परिस्थिति र समयमा पनि सेवाभावले प्रेरित भई आफ्नो कर्ममा लाग्ने महिला स्वास्थ्य स्वयंसेविका वास्तवमै महान् हुन्,’ मन्त्री यादवले भने, ‘स्वयंसेविकाको खटाइ र परिश्रमले नै आमा तथा बच्चाको स्याहारमा जनचेतना पु-याउन सफलता मिलेको छ । बाल तथा मातृमृत्युदर घटाउनमा उनीहरूको अहम् भूमिका छ, जुन एकदमै अमूल्य कार्य हो ।’
राज्यले उल्लेखनीय सेवा–सुविधा उपलब्ध गराउन नसक्दा पनि महिला स्वास्थ्य स्वयंसेविकाले सेवालाई नै परम धर्म मानेर पुर्याएको सेवा प्रशंसनीय र अनुकरणीय रहेको मन्त्री यादवको भनाइ थियो । ‘मानव जातिको सेवा नै सबैभन्दा ठूलो काम हो । योभन्दा ठूलो अर्काे कुनै काम हुँदैन र यसमै जन्मनुको सार्थकता छ,’ मन्त्री यादवले भने, ‘खासै सेवा–सुविधा नपाईकनै सेवाको क्षेत्रमा लाग्नुभएका महिला स्वास्थ्य स्वयंसेविकाको कार्यको प्रशंसा जति नै गरे पनि न्यून हुन्छ ।’

हाल देशभर ५१ हजार ४ सय २० महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । तथ्यांकअनुसार एक महिला स्वास्थ्य स्वयंसेविकाले ५० देखि २ सयसम्म घरघुरीलाई हेर्नुपर्ने हुन्छ ।

कार्यक्रममा महाशाखाकी प्रमुख रोशनीलक्ष्मी तुइतुईका अनुसार हाल देशभर ५१ हजार ४ सय २० महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन् । तथ्यांकअनुसार एक महिला स्वास्थ्य स्वयंसेविकाले ५० देखि २ सयसम्म घरघुरीलाई हेर्नुपर्ने हुन्छ । नेपालमा विसं २०४५ बाट महिला स्वास्थ्य स्वयंसेविका सेवाको सुरुवात भएको थियो ।
महाशाखा प्रमुख तुइतुईले महिला स्वास्थ्य स्वयंसेविकाले ग्रामीण क्षेत्रका घरघरबाट सेवा पु‍-याउने गरेको बताइन् । ‘महिला स्वास्थ्य स्वयंसेविका समुदायका पथप्रदर्शक तथा साँचो हुन्,’ उनले भनिन्, ‘स्वयंमसेविकाले हरेक गाउँ र समुदायदेखि राष्ट्रलाई नै सेवा दिइरहेका छन् ।’

परिवारनियोजनका साधन वितरण, सुरक्षित मातृत्व, नवशिशु स्याहार, खोप कार्यक्रम सञ्चालन, श्वासप्रश्वास समस्यामा परामर्श, सरुवा तथा महामारी रोग नियन्त्रणमा महिला स्वास्थ्य स्वयंमसेविकाले पु-याएको योगदान अत्यन्त महत्वपूर्ण र उल्लेखनीय रहेको तुइतुईको भनाइ थियो । उनले भनिन्, ‘उहाँहरू (स्वास्थ्य स्वयंसेविका)कै त्यागले बाल तथा मातृमृत्युदर घटाउन सहयोग गरेको छ ।’
स्वास्थ्य मन्त्रालयका निमित्तसचिव डा. सुशीलनाथ प्याकुरेलले शिशु तथा मातृमृत्युदर घटाउनमा नेपालले प्राप्त गरेको उपलब्धिका निम्ति महिला स्वास्थ्य स्वयंसेविकाको प्रमुख भूमिका रहेको बताए । कार्यक्रममा स्वास्थ्यसेवा विभाग परिवारकल्याण महाशाखाका प्रमुख आरपी बिच्छ्याले महिला स्वास्थ्य स्वयंसेविकाको कामको प्रशंसा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय