रोल्पा र प्युठान हेर्ने गरी प्युठानमा प्रदेश स्वास्थ्य कार्यालय

प्युठान र रोल्पा जिल्ला कार्यक्षेत्र हुने गरी प्युठानमा प्रदेश ५ को सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयमातहत रहने गरी स्वास्थ्य कार्यालय स्थापना गरिएको छ । साबिकको जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानमा कार्यालय रहने गरी कार्यालयको स्थापना भएको हो ।

स्वास्थ्य कार्यालयको जिल्ला समन्वय समिति प्युठानका प्रमुख केशवराज आचार्यले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा आचार्यले तीन तहको सरकार गठन हुँदै गर्दा जिल्लामा स्थापना भएका कार्यालयहरूले एक–आपसमा समन्वय गरी अघि बढ्न जरुरी भएको बताए । स्वास्थ्य सेवालाई जनतासम्म पुर्याउनका लागि स्वास्थ्य कार्यालयले जोड दिनुपर्ने उनको भनाइ थियो । उनले निजी र गैरसरकारी क्षेत्रलाई मापदण्डअनुसार अनुगमन गरी मूल धारमा ल्याउन सुझाब दिए ।

स्वास्थ्य कार्यालय प्रमुखको जिम्मेवारी विशाल सुवेदीले पाएका छन् । यसअघि उनी जनस्वास्थ्य कार्यालय, प्युठानका प्रमुख थिए । प्रमुख सुवेदीले स्वास्थ्य कार्यालयलाई १५ वटा कार्यक्षेत्र तोकिएको जानकारी दिए । उनका अनुसार स्वास्थ्यसंस्थाहरूबीच समन्वय गर्ने, प्राविधिक विज्ञताको भूमिका निर्वाह गर्ने, आवश्यक निःशुल्क औषधि भण्डारण तथा व्यवस्थापन गर्ने, खोप र खोपजन्य सामग्रीको व्यवस्था गर्ने, जनस्वास्थ्य गतिविधि सञ्चालन गर्ने जिम्मेवारी छ ।

स्वास्थ्य कार्यालयमा प्राविधिक र अप्राविधिक गरी ११ जना कर्मचारीको दरबन्दी छ । रोल्पा र प्युठान कार्यक्षेत्र रहने गरी स्वास्थ्य कार्यालय स्थापना भएसँगै ती दुई जिल्लाका १३ स्वाथ्यकर्मी फाजिलमा परेका छन् । फाजिलमा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन संघीय सरकारले गर्ने स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशअन्तर्गत रहने ६ वटा स्वास्थ्य कार्यालयमा रुकुममा एक, अर्घाखाँची, कपिलवस्तु र दाङ हेर्ने गरी दाङमा, बाँके र बर्दिया हेर्ने गरी बाँकेमा, नवलपरासी र रूपन्देहीलाई हेर्ने गरी रूपन्देहीमा, पाल्पा र गुल्मी हेर्ने गरी पाल्पामा र प्युठान र रोल्पा हेर्ने गरी प्युठानमा एक–एक स्वास्थ्य कार्यालय राख्ने निर्णय भएको छ । तीमध्ये यसअघि नै रुकुममा एकल जिल्ला हेर्ने गरी स्वास्थ्य कार्यालय स्थापना भइसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय