नसर्ने रोगकाे १८ प्रतिशत कारण मानसिक समस्या, रोगीको घाउमा राज्यको समेत नुन–चुक

नेपालमा कुल नसर्ने रोगमध्ये १८ प्रतिशत समस्या मानसिकरोगका कारण आउने गरेको एक अध्ययनले देखाएको छ । मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्या भएका व्यक्तिको विद्यमान अवस्थाको अध्ययन गर्दा मानसिकरोगले ठूलो संख्यामा नसर्ने रोग निम्त्याउन भूमिका खेल्ने तथ्य पत्ता लागेको हो ।
नेपालमा कति जनसंख्यामा मानसिक स्वास्थ्य समस्या छ भन्ने देशव्यापी अध्ययन–अनुसन्धान नभए पनि सीमित भौगोलिक क्षेत्रमा सञ्चालित कार्यक्रम र अध्ययनका आधारमा करिब २७ दशमलव ५ देखि ३३ दशमलव ५ प्रतिशतमा डिप्रेसन र २२ दशमलव ९ देखि २७ दशमलव ७ प्रतिशतमा चिन्ताजन्य समस्या रहेको पाइएको छ ।

दिगो विकास लक्ष्यमा कोही नछुटून् भन्ने अभिप्रायले अपांगता भएका व्यक्तिलाई पनि राज्य संरचनाका सबै तहमा सहज र सरल पहुँचका लागि विश्वव्यापी रूपमा विविध कार्यक्रम तय गरिएको छ । तर, नेपालको सन्दर्भमा मानसिक अपांगता भएकालाई भने दिवसले नारा मात्र दिएझैँ प्रतीत हुन्छ ।

२० लाख बालबालिका तथा किशोर–किशोरीमा मानसिक समस्या
विश्वभरमा लगभग २० प्रतिशत बालबालिका तथा किशोर–किशोरीमा भावनात्मक, व्यावहारिक तथा अन्यखालका मानसिक समस्या भएको आकलनका आधारमा राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०७३ ले गरेको एक अध्ययनअनुसार नेपालमा पनि लगभग २० लाख बालबालिका तथा किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ । नेपालको कुल जनसंख्याको १ दशमलव ९ प्रतिशतमा विभिन्नप्रकारको अपांगता भएको विगतको एक तथ्यांकले देखाएको थियो । उक्त तथ्यांकअनुसार अपांगता भएका व्यक्तिमध्ये ६ दशमलव ०४ प्रतिशतमा मानसिक अपांगताको समस्या रहेको पाइएको थियो ।
नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या बनेको छ । नेपाल प्रहरीका अनुसार पछिल्लो ४ वर्षमा नेपालमा आत्महत्याको दर १३ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षमा मात्रै ५ हजार ३ सय १७ जनाले आत्महत्या गरेका थिए ।

विश्व अपांगता दिवस
सन् १९९२ देखि प्रत्येक वर्ष ३ डिसेम्बरमा मनाउँदै आइएको अन्तर्राष्ट्रिय अपांगता दिवसको यसवर्षको नारा ‘अपांगता भएका व्यक्तिहरूको सशक्तीकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ रहेको छ । नेपालमा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गठन गरेको मूल आयोजक समितिले तय गरेको ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नारासहित २७औँ अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिगो विकास लक्ष्यमा कोही नछुटून् भन्ने अभिप्रायले अपांगता भएका व्यक्तिलाई पनि राज्य संरचनाका सबै तहमा सहज र सरल पहुँचका लागि विश्वव्यापी रूपमा विविध कार्यक्रम तय गरिएको छ । तर, नेपालको सन्दर्भमा मानसिक अपांगता भएकालाई भने दिवसले नारा मात्र दिएझैँ प्रतीत हुन्छ ।

अपांगता भएका व्यक्तिमध्ये मानसिक तथा मनोसामाजिक समस्या रहेका व्यक्ति धेरैजसो सीमान्तकृत वर्गका छन् भने त्यस्ता बिरामीप्रतिको समाजको साँघुरो दृष्टिकोणका कारण उनीहरू कलंकित जीवन बाँच्न बाध्य छन् ।

नेपालमा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा २ ‘ख’ले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता वा विद्यमान अवरोधका कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढंगले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति भनी परिभाषित गर्दै नेपालमा पहिलोपटक मानसिक वा मनोसामाजिक अपांगता भएका व्यक्तिलाई अपांगताको वर्गीकरणभित्र समावेश गरिसकेको छ ।
अपांगता गराउने प्रमुख १० कारणमा ४ वटा मानसिक स्वास्थ्य समस्या पर्छन् । ०७२ को महाभूकम्पपछि आफ्नो परिवारका सदस्य र धनसम्पत्ति गुमाउँदाको पीडाका साथै भूकम्पको प्रत्यक्ष अनुभव गरेकामध्ये ३४ दशमलव २ प्रतिशत डिप्रेसन र ३३ दशमलव ८ प्रतिशतमा चिन्ताजन्य समस्याका लक्षण पाइएको थियो भने २० दशमलव ४ प्रतिशतमा मादक पदार्थ दुव्र्यसन र ५ दशमलव २ प्रतिशतमा आघातजन्य समस्या पाइएको थियो ।
नेपालमा मानसिक तथा मनोसामाजिक अपांगता बढ्दै गएको राष्ट्रिय मानसिक स्वास्थ्य नीति, २०७३ ले पनि स्विकारेको छ । अपांगता भएका व्यक्तिमध्ये मानसिक तथा मनोसामाजिक समस्या रहेका व्यक्ति धेरैजसो सीमान्तकृत वर्गका छन् भने त्यस्ता बिरामीप्रतिको समाजको साँघुरो दृष्टिकोणका कारण उनीहरू कलंकित जीवन बाँच्न बाध्य छन् ।

परिवार र समाजको नीचतम व्यवहार, त्यसमाथि हिंसाको सिकार
नेपालमा पछिल्लो समय मनोसामाजिक अपांगता भएका व्यक्तिहरू घरेलु, लैंगिक र यौनजन्य हिंसामा पर्ने खतरा बढ्दै गएको छ । यस्ता अपांगता भएका व्यक्तिले आफूमाथि भएको दुव्र्यवहारबारे समाजमा भन्न नसक्ने र सकिहाले पनि समाजले उनीहरूको कुरा नपत्याउने भएकाले उनीहरू विभिन्नखाले हिंसामा पर्ने गरेका छन् । उनीहरूको सुनुवाइ विरलै हुने गरेको छ । मानसिक अपांगता भएका व्यक्तिका लागि रोगभन्दा पनि आफूलाई मानवको दर्जासमेत दिन नरुचाउने समाज प्रमुख समस्या बन्ने गरेको छ ।
मानसिक तथा मनोसामाजिक स्वास्थ्य समस्या भएका व्यक्तिको उपचार गर्ने–गराउने दायित्व परिवार र राज्यको हो । तर, परिवारका सदस्यले उनीहरूलाई घरमा थुनिदिने, सिक्रीले बाँधिदिने, समुदायबाट लखेट्नेजस्ता पाशविक व्यवहार गर्छन्, बिरामीलाई आवश्यक माया, हेरचार र उपचारको साटो उपेक्षा, तिस्कार र घृणा दिन्छन्, समाजले उपहास गर्छ, उनीहरू पारिवारिक बोझ र सामाजिक विकृतिका रूपमा लिइन्छन् ।

न्यायदाता राज्य नै थप्दै छ नुनचुक
पशुको समेत अधिकारको ग्यारेन्टी गरिएको वर्तमान समाजमा बिरामी मानवप्रतिको नीचतम व्यवहार अकल्पनीय र अक्षम्य भएर पनि राज्यले पीडकमाथि कारबाही र पीडितलाई न्याय दिन सकेको छैन नै, उल्टै राज्य स्वयम्ले पनि कानुनको तर्जुमा गर्दा बौलाहा, पागल, अक्षम, होस ठेगानमा नभएको, मानसिक सन्तुलन ठिक नभएको जस्ता विभिन्न अपहेलनाजनक र निकृष्ट शब्दहरू प्रयोग गरी उनीहरूलाई विभिन्न अधिकारको उपभोगबाट बन्देज लगाउनु विडम्बनापूर्ण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय