गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. पौडेल १ लाख घुससहित अख्तियारको फन्दामा

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । आइतबार साँझ अमरसिंहचोकबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
लोकसेवा आयोगमा परीक्षा दिएका परीक्षार्थीलाई पास गराइदिन्छु भनी उनले घुस लिएको खुलेको छ । पौडेलमाथि मुद्दाको प्रक्रिया सुरु भइसकेको अख्तियार स्रोतले जनाएको छ । पौडेल यसअघि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयको निर्देशकका रूपमा कार्यरत थिए । पूर्वस्वस्थ्यमन्त्री दीपक बोहराको पालामा उनी केही दिनका लागि स्वास्थ्यसेवा विभागको निमित्तमहानिर्देशकसमेत बनेका थिए । सिनियरलाई पाखा लगाउँदै जुनियरबाट उनी निमित्तमहानिर्देशक हुँदा पनि ठूलो आर्थिक चलखेल भएको खबर बाहिरिएका थिए ।

उनको नियुक्तिविरुद्ध तत्कालिन निमित्त महानिर्देशक डा. राजेन्द्र पन्त अदालत गएका थिए । अदालतले पन्तलाई नहटाउन आदेश दिएपछि पौडेल हटेका थिए ।त्यसपछि केही समय मन्त्रालयमा जगेडामा बसेर उनी प्रदेश निर्देशकको जिम्मेवारीमा पुगेका थिए ।
११औँ तहमा कार्यरत डा. पौडेल एमडिजिपी हुन् । उनी अहिले पनि महानिर्देशक बन्ने दौडमा थिए । अदालतमा मुद्दा दायर हुनासाथ उनी स्वतः निलम्बनमा पर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय