गण्डकी सरकारले राजमार्गमा मोबाइल अस्पताल चलाउने

 

गण्डकी प्रदेश सरकारले राजमार्ग क्षेत्रमा मोबाइल अस्पताल सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको छ । प्रदेशअन्तर्गतका तीनवटै राजमार्गमा एक–एकवटा अस्पताल स्थापना गर्न लागिएको हो । राजमार्गबाट नजिक र सबैलाई पायक पर्ने ठाउँमा अस्पताल सञ्चालन गर्न लागिएको गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले जानकारी दिइन् ।

मन्त्री पुनका अनुसार पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली अस्पताललाई नै मोबाइल अस्पतालका रूपमा स्तरोन्नति गरिनेछ । यस्तै, भूपी शेरचन राजमार्गअन्तर्गत पर्वतको डिमुवा स्वास्थ्यचौकी र सिद्धार्थ राजमार्गमा पर्ने वालिङ प्राथमिक स्वास्थ्यकेन्द्रलाई मोबाइल अस्पताल बनाइनेछ । ‘पूरै नयाँ संरचना बनाउँदा धेरै खर्च लाग्छ । त्यसैले थोरै लगानीमा भइरहेका स्वास्थ्यचौकीहरूलाई अपग्रेड गर्ने योजना ल्याएका हौँ,’ उनले भनिन्, ‘हामीले सम्भावित ठाउँ खोजिसकेका छौँ । अब बजेट पठाएर काम सुरु हुन्छ ।’ उनका अनुसार प्रतिअस्पताल ५० लाखका दरले बजेट पठाइनेछ । सरकारले मोबाइल अस्पताल बनाउनका लागि १ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ ।

राजमार्गमा बढ्दै गएको सडक दुर्घटनामा हुने घाइतेको तत्काल उपचारका लागि अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो । सरोकारवालासँग निरन्तर छलफल भइरहेकाले उपयुक्त निर्णय गरेर तत्काल काम थाल्ने मन्त्री पुनले बताइन् । ‘कार्यविधि बनिसकेको छ । अस्पताललाई स्वास्थ्योपकरण दिने कि जनशक्ति व्यवस्थापन गर्ने भनेर हामीले प्रपोजल मागेका छौँ,’ उनी भन्छिन्, ‘आवश्यकताका आधारमा बजेट लगानी हुन्छ ।’ अस्पताल बनिसकेपछि राजमार्गमा दुर्घटनापश्चात् उपचार नपाएर मृत्यु हुने दर घट्दै जाने सरकारको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय