सिक्लेसमा दन्तशिविर

हेल्थपोस्ट
प्रकाशित
२०७५ मंसिर १६ गते ११:०४

कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा दन्तशिविर सम्पन्न भएको छ । नेपाली कांग्रेस मादी गाउँपालिकाको व्यवस्थापनमा शिविर आयोजना गरिएको हो । शिविरका लागि गण्डकी मेडिकल कलेज पोखराले प्राविधिक सहयोग उपलब्ध गराएको थियो ।

शुक्रबार सञ्चालित शिविरबाट ३ सय १५ जना बिरामीले सेवा लिएको कांग्रेस गाउँपालिका संयोजक देवीजंग गुरुङले जानकारी दिए । सेवा लिएका मध्ये ३० जनाको दाँत निकालिएको थियो । ठूलो समस्या भएकालाई अस्पतालमै ल्याएर उपचार गरिने गुरुङ बताउँछन् ।

जटिल उपचार गर्नुपर्ने अवस्थाका निम्न आयस्तरका बिरामीलाई कांग्रेस मादीको सिफारिसमा सहुलियतमा उपचार गराइने नेपाली कांग्रेसकी नेत्री तथा शिविर आयोजक समितिकी संयोजक सरस्वती गुरुङले बताइन् । ‘हामी सधैँ पार्टीका नेता तथा कार्यकर्ता मात्रै होइनौँ ।

पहिले चुनावको माहोल थियो, हामी भोट माग्न आयौँ । तपाईंहरूले हामीलाई विश्वास गर्नुभयो र भोट दिनुभयो,’ उनले भनिन्, ‘आज भोट माग्न होइन, हामी कोसेली लिएर आएका छौँ । तपाईंको सुख–दुःखमा साथ दिन आएका छौँ । तपाईंहरूको स्वास्थ्यप्रति हामीलाई चिन्ता छ ।’ आगामी दिनमा पनि स्वास्थ्य शिविरको आयोजना गर्ने उनले प्रतिबद्धता जनाइन् ।

शिविरमा दन्तरोग विशेषज्ञहरू डा. दीपकरञ्जन दलाई, डा. सम्झना गौतम, डा. साधना घिमिरेलगायतले दन्तपरीक्षण र उपचार गरेका थिए । विद्यार्थीदेखि वृद्धवृद्धासमेतले सेवा लिएको शिविरमा महिलाको सहभागिता उल्लेख्य थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय