स्वास्थ्यव्यवसायी कसलाई भन्ने ? के हुन् जिम्मेवारी ?

श्रवणकुमार मिश्र
प्रकाशित
२०७५ मंसिर ११ गते १०:१५

हेल्थ प्रोफेसनल (स्वास्थ्यव्यवसायी) भन्नाले स्वास्थ्यसँग सम्बन्धित सामान्य चिकित्सा (जेनरल मेडिसिन), जनस्वास्थ्य (पब्लिक हेल्थ), प्याथोलोजी र प्रयोगशाला चिकित्सा, विकिरण प्रविधि विज्ञान (रेडिओटेक्नोलोजी र मेडिकल इमेजिङ टेक्नोलोजी), फिजिओथेरापी, ओप्थाल्मिक र ओप्टोमेट्री विज्ञान, दन्तविज्ञान (डेन्टल साइन्स), आयुर्वेद चिकित्सा, होमियोप्याथी, नेचुरोप्याथी, अकुपन्चर विज्ञान, एनेस्थेस्थेटिक प्रविधि, फोरेन्सिक विज्ञान तथा अन्य स्वास्थ्यसँग सम्बन्धित विषयहरू छन् ।

जुन नेपालका अन्य कुनै स्वास्थ्यव्यवसायी जस्तै ः नेपाल मेडिकल काउन्सिल, नर्सिङ काउन्सिलमा दर्ता हुन नसक्ने तर स्वास्थ्यसँग सम्बन्धित विषयमा एकेडेमिक कोर्स (टेक्निकल एसएलसीदेखि स्नातकोत्तर तह) अध्ययन गरेको स्वास्थ्यकर्मीलाई नेपाल स्वास्थ्यव्यवसायी परिषद्ले आवश्यक शिक्षा तथा व्यवसायसँग सम्बन्धित प्रमाणहरूको जाँचबुझ गरी प्रक्रिया पुर्याएर ‘स्वास्थ्यव्यवसायी’को दर्जा दिन्छ ।

स्वास्थ्यव्यवसायीले स्वास्थ्यसेवा प्रदान गर्न वैधानिकता (लिगल राइट) पाउँछ र उक्त स्वास्थ्यव्यवसायीले स्वास्थ्यसेवा प्रदान गर्दा नेपाल स्वास्थ्यव्यवसायी परिषद्ले प्रदान गरेको प्रमाणपत्र आफूले काम गर्ने स्थानमा स्वास्थ्यसेवा उपभोग गर्ने नागरिकले देख्ने गरी राख्नुपर्ने हुन्छ । साथै, सो स्वास्थ्यकर्मीले बिरामीलाई दिने रिपोर्ट, प्रेस्क्रिप्सन, लेटरप्याडमा स्वास्थ्यव्यवसायीको पूरा नाम, शैक्षिक योग्यता तथा नेपाल स्वास्थ्यव्यवसायी परिषद्ले दिएको काउन्सिल नम्बर अनिवार्य रूपमा लेखेको वा सो विवरणसहितको स्ट्याम्प लागेको हुनुपर्नेछ ।

स्वास्थ्यकर्मीको वर्गीकरण निम्नानुसार गरिएको छ–

१. जनस्वास्थ्य विषयमा स्नातक तह बिपिएच, स्नातकोत्तर तह एमपिएचअन्तर्गत इपिडेमिओलोजिस्ट, फेमिली हेल्थ विशेषज्ञ, हेल्थ प्रोमोसन विशेषज्ञ, वातावरण स्वास्थ्य विशेषज्ञ, अन्तर्राष्ट्रिय स्वास्थ्य विशेषज्ञ, स्वास्थ्य अनुसन्धान विशेषज्ञ, स्वास्थ्य सर्वे विशेषज्ञ तथा अन्य जनस्वास्थ्यका विधामा विशेषज्ञ अध्ययन गरेको स्वास्थ्यकर्मी ।

२. प्याथोलोजी विषयमा एसएलसी ल्याब असिस्टेन्ट, प्रमाणपत्र तह मेडिकल ल्याब टेक्निसियन, स्नातक तह मेडिकल टेक्नोलोजिस्ट, स्नातकोत्तर तह (माइक्रोबायोलोजिस्ट, भाइरोलोजिस्ट, पारासाइटोलोजिस्ट, माइक्रोलोजिस्ट, बेकटेरिओलोजिस्ट, बायोकेमिस्ट, साइटोलोजिस्ट, इमिनोलोजिस्ट) तथा अन्य सम्बन्धित विषयमा स्नातकोत्तर तह अध्ययन गरेको स्वास्थ्यकर्मी ।

३. रेडिओलोजिकल टेक्नोलोजी र मेडिकल इमेजिङ टेक्नोलोजीमा प्रमाणपत्र तह रेडियोग्राफर, स्नातक तह रेडियोलोजिकल टेक्नोलोजिस्ट, स्नातकोत्तर तह तथा अन्य सम्बन्धित विषयमा स्नातकोत्तर तह अध्ययन गरेको स्वास्थ्यकर्मी ।
४. फिजिओथेरापी विषयमा प्रमाणपत्र तह फिजिओथेरापी सहायक, स्नातक तह फिजिओथेरापिस्ट, स्नातकोत्तर तह तथा अन्य सम्बन्धित विषयमा स्नातकोत्तर तह अध्ययन गरेको स्वास्थ्यकर्मी ।
५. सामान्य चिकित्सा विषयमा टेक्निकल एसएलसी अहेव (सिएमए), हेल्थ असिस्टेन्ट (एचए) अध्ययन गरेको स्वास्थ्यकर्मी ।
६. ओप्थाल्मिक र ओप्टोमेट्री विज्ञान विषयमा प्रमाणपत्र तह ओप्थाल्मिक असिस्टेन्ट, स्नातक तह ओप्टोमेट्रिस्ट तथा स्नातकोत्तर तह अध्ययन गरेको स्वास्थ्यकर्मी ।
७. डेन्टल विज्ञान विषयमा टेक्निकल एसएलसी डेन्टल हाइजनिस्ट, प्रमाणपत्र तह डेन्टल असिस्टेन्ट अध्ययन गरेको स्वास्थ्यकर्मी ।
८. आयुर्वेद चिकित्सा विषयमा टेक्निकल एसएलसी, प्रमाणपत्र तह अध्ययन गरेको स्वास्थ्यकर्मी ।
९. विविध विषयअन्तर्गत होमियोप्याथी, नेचुरोप्याथी, अकुपन्चर विज्ञान, अनेस्थेस्थेटिक, फोरेन्सिक विज्ञान तथा अन्य स्वास्थ्यसँग सम्वन्धित विषयहरू जुन नेपालको अन्य कुनै प्रोफेसनल काउन्सिलमा दर्ता हुन नसक्ने तर स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा एकेडेमिक कोर्स (टेक्निकल एसएलसीदेखि स्नातकोत्तर तह) अध्ययन गरेका स्वास्थ्यकर्मी ।

स्वास्थ्यसेवालाई गुणस्तरीय एवम् मर्यादित बनाउन र अनावश्यक अप्ठ्यारोबाट जोगिन रिपोर्ट, प्रेस्क्रिप्सनमा प्रोफेसनल काउन्सिल नम्बर छ वा छैन यकिन गरेर मात्र स्वास्थ्यसेवा लिनुहुन सबै नेपाली नागरिकलाई अनुरोध गर्दै यस कार्यमा सबै नागरिक सचेत हुन र स्वास्थ्यसेवाको गुणस्तर बढाउनमा र गलत स्वास्थ्य प्राक्टिस रोक्नमा यहाँहरूको सहयोगको अपेक्षा गर्दछु ।

किन लेख्नुपर्छ रिपोर्ट, प्रेस्क्रिप्सन, लेटरप्याड, नेमप्लेटमा र काउन्सिल नम्बर ?

१. हेल्थ प्रोफेसनलको आफ्नो पहिचान हुन्छ ।
२. हेल्थ प्रोफेसनलबाहेक गैरस्वास्थ्यकर्मीले हेल्थ केयरसम्बन्धी कुनै किसिमको सेवा प्रदान गर्न पाउनेछैन ।
३. हेल्थ प्रोफेसनलले काउन्सिलको प्रोफेसनल कोड अनुसरण गरेको मानिनेछ र कानुनबमोजिम हुने कारबाहीबाट जोगिनेछ ।
४. हेल्थ केयरमा हुने विभिन्न विकृति (गलत सेवा दिने अभ्यासहरू) रोकिनेछन् ।
५. हेल्थ प्रोफेसनल भएर पनि आफ्नो रिपोर्ट, प्रेस्क्रिप्सनमा काउन्सिल नम्बर नलेखेको अवस्थामा हेल्थ केयर सुविधा लिने उपभोक्ताले उजुरी दिएमा वा अरु कतैबाट उजुरी परेमा नेपाल हेल्थ प्रोफेसनल काउन्सिलले चाहेर पनि हेल्थ प्रोफेसनल (काउन्सिलमा रजिस्टर भए पनि)लाई बचाउन अप्ठ्यारो हुनेछ ।
६. आफ्नो रिपोर्ट, प्रेस्क्रिप्सनमा काउन्सिल नम्बर नलेखेको अवस्थामा, काउन्सिलमा रजिस्टर भएको अवस्थामा र हेल्थ प्रोफेसनलले आफ्नो कोड अफ इथिक्सभित्र रही हेल्थ केयरसम्बधी काम गरेको खण्डमा उक्त हेल्थ प्रोफेसनलले ढुक्क भएर काम गर्न सक्नेछ र यस्तो अवस्थामा केही उजुरी आए पनि कुनै किसिमको अप्ठ्यारो नपर्ने तथा यस्तो अवस्थामा नेपाल हेल्थ प्रोफेसनल काउन्सिलले पनि हेल्थ प्रोफेसनललाई बचाउन अगाडि आउनेछ ।

७. उजुरी परेको र गल्ती प्रमाणित भएको अवस्थामा हेल्थ प्रोफेसनल काउन्सिलको नयाँ नियमावलीअनुसार २५ हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।
तसर्थ, हेल्थ प्रोफेसनल काउन्सिलले विभिन्न समयमा र बारम्बारको अनुरोध तथा निर्देशनलाई अनुसरण गरी हेल्थ केयर सेवालाई गुणस्तरीय एवम् मर्यादित बनाउन र अनावश्यक अप्ठ्यारोबाट जोगिन रिपोर्ट, प्रेस्क्रिप्सनमा प्रोफेसनल काउन्सिल नम्बर लेख्ने गरौँ ।

रिपोर्ट, प्रेस्क्रिप्सनमा काउन्सिल नम्बर लेख्दा स्वास्थ्यसेवा उपभोग गर्ने नागरिकलाई हुने फाइदा–

१. दर्तावाल स्वास्थ्यव्यवसायीबाट गुणस्तरीय स्वास्थ्यसेवा पाएर आफ्नो स्वास्थ्यको हेरचाहमा सुरक्षित महसुस गर्छन् ।
२. रिपोर्ट, प्रेस्क्रिप्सनमा प्रोफेसनल काउन्सिल नम्बर लेख्दा स्वास्थ्यसेवा दिने स्वास्थ्यकर्मीको शैक्षिक योग्यता र स्वास्थ्यसेवाको स्तरीयताको पहिचान हुन्छ ।
३. स्वास्थ्यव्यवसायीबाहेक अरू गैरस्वास्थ्यकर्मीले हेल्थ केयरसम्बन्धी कुनै किसिमको सेवाप्रदान नगर्ने अवस्थाको सिर्जना हुन्छ ।
४. स्वास्थ्यसेवाको गुणस्तर बढ्नेछ र स्वास्थ्यसेवामा हुने गरेका विकृति बिस्तारै घटेर जानेछन् ।
५. स्वास्थ्यव्यवसायीले काउन्सिलको प्रोफेसनल कोड अनुसरण गरेर मात्र स्वास्थ्यसेवा दिने हुनाले स्वास्थ्यसेवाको प्रभावकारिता वृद्धि हुन्छ ।
६. अनावश्यक रूपमा स्वास्थ्यसेवामा भएका गलत प्राक्टिस निरुत्साहित भएर जान्छन् ।
७. कुनै स्वास्थ्यव्यवसायी दर्तावाल छ वा छैन भन्ने यकिन गर्न सजिलो हुन्छ ।
८. दर्तावाल व्यवसायीले दिएको स्वास्थ्यसेवामा गुणस्तरीयतालाई सुनिश्चित गर्न सजिलो हुन्छ, किनभने स्वास्थ्यकर्मीले आफ्नो इथिकल कोडभित्र बसेर मात्र स्वास्थ्यसेवा प्रदान गर्छन् ।
९. हेल्थ केयरमा हुने विभिन्नकिसिमका विकृति रोकिनेछन् । स्वास्थ्यसेवाको गुणस्तरीयताको सुनिश्चितताका साथै जनस्वास्थ्य राज्यको दायित्व सही मानेमा पूरा भएको महसुस हुने वातावरण सिर्जना हुनेछ ।
१०. स्वास्थ्यसेवा उपभोग गर्नेले आफूले पाउने रिपोर्ट, प्रेस्क्रिप्सनमा काउन्सिल नम्बर नलेखेको अवस्थामा हेल्थ केयर सुविधा नलिने र सो नभएमा उपभोक्ताले उजुरी दिएमा वा अरू कतैबाट उजुरी परेमा सेवा गर्नबाट वञ्चित हुनुका साथै कानुनबमोजिम कारबाही एवम् जरिवाना तिनुपर्ने हुन्छ
। स्वास्थ्यसेवालाई गुणस्तरीय एवम् मर्यादित बनाउन र अनावश्यक अप्ठ्यारोबाट जोगिन रिपोर्ट, प्रेस्क्रिप्सनमा प्रोफेसनल काउन्सिल नम्बर छ वा छैन यकिन गरेर मात्र स्वास्थ्यसेवा लिनुहुन सबै नेपाली नागरिकलाई अनुरोध गर्दै यस कार्यमा सबै नागरिक सचेत हुन र स्वास्थ्यसेवाको गुणस्तर बढाउनमा र गलत स्वास्थ्य प्राक्टिस रोक्नमा यहाँहरूको सहयोगको अपेक्षा गर्दछु ।

नेपाल स्वास्थ्यव्यवसायी परिषद्का पूर्व अध्यक्ष हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय