चिकित्साशिक्षा विधेयकमाथि दफावार छलफल सुरु

संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा विचाराधीन चिकित्साशिक्षा विधेयकमा आइतबारदेखि दफावार छलफल सुरु भएको छ । समितिअन्तर्गतको उपसमितिको आइतबारको बैठकमा प्रस्तावनादेखि दफा १६ सम्मका संशोधन मागकर्ता सांसदसँग छलफल गरिएको उपसमितिका संयोजक भैरवबहादुर सिंहले बताए । ‘हामी भोलि पनि बैठक बसेर यथाशीघ्र टुंग्याएर समितिमा पठाउँछौ,’ सिंहले हेल्थपोस्टसँग भने ।

दफावार छलफलका लागि १५ कात्तिकमा निर्धारित बैठक कोरम नपुगेर स्थगित भएको थियो भने २ मंसिरमा विषय प्रवेश नै नगरी सकिएको थियो । विधेयक ५ महिनाभन्दा लामो समयदेखि समितिमा विचाराधीन छ ।सिंहका अनुसार उपसमितिको बैठकले संशोधन मागकर्ता सांसद, सम्बन्धित व्यक्ति र निकायका पदाधिकारी बोलाएर छलफल थाल्ने निर्णय गरिसकेको छ । विधेयकलाई डा. गोविन्द केसीसँग भएको सम्झौताअनुसार पारित गर्ने गरी सरकारले प्रतिबद्धता गरिसकेको र सोहीअनुसार सत्तारूढ दलका सचेतकले नै संशोधन दर्ता गराइसकेका छन् ।

उपसमितिमा सांसदहरू अञ्जना सिशंखे, खगराज अधिकारी, गगनकुमार थापा, भैरवबहादुर सिंह, योगेशकुमार भट्टराई शान्तकुमार थारू, हितबहादुर तामाङ, उमाकान्त चौधरी, चित्रलेखा यादव र एकवाल मिया सदस्य छन् ।

समितिमा २१ साउनदेखि नै दफावार छलफल भएर उपसमितिसमेत गठन भए पनि विधेयक टुंगोमा पुग्न सकेको छैन । सरकारले डा. गोविन्द केसी १५औँ अनशनमा रहेका वेला ११ असारमा प्रतिनिधिसभामा विधेयक दर्ता गरेको थियो । विधेयक १३ साउनमा संसद्मा सामान्य छलफल भएपछि समितिमा गएको थियो । समितिमा विभिन्न चरणमा सरोकारवाला पक्षसँग छलफल भए पनि बर्खे अविवेशनअगावै विधेयक टुंग्याउने गरी समितिलाई दबाब परेको थियो । तर, उपसमितिको बैठकसमेत समयमा बस्न सकेको थिएन । संसद् बैठक अन्त्य भएको दिन ११ असोजमा उपसमितिबाट टुंग्याएर संसद्बाट पारित गराउने प्रयास भए पनि अन्तिम समयमा सत्तापक्ष पछाडि हटेको थियो ।
विधेयकलाई माथेमा प्रतिवेदनअनुसार पारित गर्नुपर्ने प्रमुख मागसहित डा. गाविन्द केसी पटक–पटक अनशन बसिसकेका छन् । पछिल्लोपटक बिरामी भएर अस्पताल भर्ना भएका समयमा भेट्न पुगेका डा. केसीसित प्रधानमन्त्री केपी ओलीले विधेयक आगामी अधिवेशनबाट पारित गर्ने प्रतिबद्धता गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय