शरीर जोडिएका जुम्ल्याहा बालिकाको जन्म

हेल्थपोस्ट नेपाल

कालिकोटको रास्कोट नगरपालिक–५ स्युनाकी ललिता बुढाले प्रदेश अस्पताल सुर्खेतमा शरीर जोडिएका जुम्ल्याहा बालिकालाई जन्म दिएकी छिन् । बालिकाहरूको छाती र पेटको माथिल्लो भाग जोडिएको छ ।
बालरोग विशेषज्ञ डा. नवराज केसीका अनुसार यस्तो घटना अस्पतालमा पहिलो हो । मेडिकल भाषामा यस्तो समस्यालाई ‘थोराको उल्फालो पेगस’ भनिन्छ । २८ वर्षीया ललिताले यसअघि नै दुई छोरीलाई जन्म दिइसकेकी छन् । दुई बालिकाको तौल ३ किलो ६ सय ग्राम छ । बालिका र आमा स्वस्थ छन् । शरीर जोडिएका बालिकाहरूको एनआइसियूमा उपचार भइरहेको छ ।
‘भिडियो एक्स–रेपछि मात्रै कलेजो र मुटु जोडिएको छ÷छैन भन्ने जानकारी हुन्छ,’ उनले भने, ‘बाहिरबाट हेर्दा छाती र पेटको माथिल्लो भाग जोडिएको छ ।’ कालिकोट जिल्ला अस्पतालले रेफर गरेपछि बिर्खबहादुरले श्रीमती ललितालाई आइतबार प्रदेश अस्पताल पुर्याएका थिए । अस्पतालमा भर्ना भएलगत्तै डा. राजीव शाह नेतृत्वको टोलीले अप्रेसन गरेको थियो । डा. शाहको नेतृत्वमा डा. महेश पौडेल, रबिन खातुङ, नर्स विनिता बस्यालसहितको टोलीले तीन घण्टाको प्रयासपछि छाती र पेटको माथिल्लो भाग जोडिएका जुम्ल्याहा बालिकालाई निकालेको थियो ।



Leave a Reply

Your email address will not be published.