प्रधानमन्त्री ओली बसेकै बेडमा डा. केसी भर्ना, २४ घण्टा स्वास्थ्य निगरानी‍‍

छातीको दुखाइ बढेपछि मनमोहन कार्डियोथोरासिस एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका चिकित्सा शिक्षा अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्यको २४ घण्टा निगरानी गरिने भएको छ । उपचारमा संलग्न डा. अरुण सायमीका अनुसार छातीको दुखाइमा सुरुमा इसिजी नर्मल आए पनि सचेत भएर निगरानी गर्नुपर्ने भएकाले अस्पताल भर्ना गरिएको हो । ‘भोलिसम्म हेरौँ, फेरि जाँच गरौँ, अनि के गर्ने निर्णय लिऊँला,’ डा. सायमीले भने ।

डा. केसीलाई अस्पतालको २१५ नम्बर क्याबिनमा भर्ना गरिएको छ, जुन केही दिनअघि बिरामी पर्दा प्रधानमन्त्री केपी ओली बसेकै बेड हो । डा. केसीको उपचारमा पनि प्रधानमन्त्री ओलीको उपचारको नेतृत्व गरेका डा. सायमीकै नेतृत्वको टोली खटिएको छ । सोही बेडमा उपचाररत प्रधानमन्त्रीलाई डा. केसीले १४ कात्तिकमा भेटेर स्वास्थ्यलाभको कामनासमेत गरेका थिए । चिकित्सकले अस्पताल भर्ना हुन सुझाब दिएपछि अन्य जनरल बेड खोज्दा खाली नभएपछि विशेष क्याबिन लिनुपरेको डा. केसीका सहयोगी डा. अभिषेकराज सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय