बिसिजी खोप लगाउने सिरिन्ज अभाव

कृष्ण मल्ल
प्रकाशित
२०७५ मंसिर २ गते १०:१३

प्रदेश नं. ५ मा बिसिजी खोपका लागि प्रयोग गरिने सिरिन्ज अभाव भएको छ । समयमै सिरिन्ज आपूर्तिको व्यवस्था नमिलाउँदा रोगसँग लड्ने क्षमताको विकास गर्ने खोप लगाउनबाट बालबालिका वञ्चित भएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति महाशाखाको लापरबाहीका कारण सिरिन्ज अभाव भएको बताइन्छ ।

प्रदेश ५ मा १२ जिल्ला छन् । जिल्लाका स्वास्थ्यसंस्थामा सिरिन्ज अभाव भएको स्वास्थ्यकर्मीले बताएका छन् । सिरिन्ज नहुँदा २ महिनादेखि बिसिजी खोप नलगाइएको बाणगंगा नगरपालिका कपिलवस्तुका स्वास्थ्य एकाइका उपसंयोजक गोकर्ण अर्यालले बताए ।

बालमृत्युदर घटाउन १ वर्ष उमेरभित्र बिसिजी खोप दिने गरिन्छ । सिरिन्ज अभावका कारण खोप लगाउन ल्याइएका बालबालिका त्यत्तिकै फर्किने गरेको स्वास्थ्यकर्मी बताउँछन् । मुख्यगरी शिशुलाई क्षयरोगको जोखिमबाट बचाउन बिसिजी खोप दिइन्छ । यसको सिरिन्ज ०.०५ एमएमको मसिनो हुँदा सर्वसुलभ रूपमा किन्न पाइँदैन ।
रिङनेरह स्वास्थ्यचौकी पाल्पाकी अनमी शर्मिला विकले चौकीमा सिरिन्ज सकिएको बताइन् । उनका अनुसार उक्त स्वास्थ्यचौकीले प्रत्येक महिनाको १६ देखि २० गतेसम्म खोप कार्यक्रम सञ्चालन गर्ने गर्छ । जेनतेन चलाइरहेको भए पनि सिरिन्ज सकिएकाले बिसिजी खोप प्रभावित हुने पूर्वखोला गाउँपालिका पाल्पाका स्वास्थ्य संयोजक श्रीराज आचार्यले बताए ।

‘सिरिन्जको माग गरेको ३ महिना भइसक्यो,’ जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले भने, ‘उपलब्ध नहुँदा दिन सकिएको छैन । यसबाट धेरै बालबालिका प्रभावित हुने देखिएको छ ।’ उनका अनुसार पाल्पामा मात्रै ५ हजार ९ सय १० बालबालिका १ वर्ष उमेरमुनिका छन् ।
भीम अस्पताल भैरहवाले पनि सिरिन्ज अभाव देखाउँदै खोप लगाउन शिशु लिएर अस्पताल पुगेका आमाहरूलाई फर्काउने गरेको छ ।

प्रदेश ५ स्वास्थ्य निर्देशनालय खरिद तथा आपूर्ति व्यवस्था शाखाका वरिष्ठ फार्मेसी अधिकृत बुद्धिराज काफ्लेले केही गाउँपालिकामा सिरिन्ज अभाव हुन लागेको भन्ने सुनिए पनि खोप नै रोकिएको जानकारी आफूकहाँ नआएको बताए । निर्देशनालयले केन्द्रमा निरन्तर यस विषयमा सम्पर्क गरिरहेको र हप्तादिनभित्र आइपुग्ने सूचना पाएको काफ्लेको भनाइ छ । यद्यपि निर्देशनालयमा गाभिएको मेडिकल स्टोर बुटवलमा सिरिन्जको स्टक भने छैन ।

प्रदेश ५ मा ८ सय ८० खोपकेन्द्र, ५ सय ७० स्वास्थ्यचौकी र १९ अस्पतालमा बिसिजी खोप सेवा उपलब्ध भएको बताइन्छ । नेपालमा ११ वटा रोगविरुद्ध बालबालिकालाई खोप लगाइँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय