नर्भिकलाई अन्तर्राष्ट्रिय अवार्ड

स्वास्थ्य व्यवसायमा उत्कृष्टता (विजिनेस एक्सिलेन्स इन हेल्थ केयर)बापत नर्भिक इन्टरनेसनल अस्पतालले अमेरिकाको प्रतिष्ठित अवार्ड हात पारेको छ । अस्पतालले संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित अमेरिकाको चेम्बर अफ कमर्सको एक निकाय द वल्र्ड कन्फडेरेसन अफ बिजिनेस (वल्र्डकब)को ‘द बिज अवार्ड’ प्राप्त गरेको हो ।
राजधानीमा शुक्रबार राति आयोजित एक समारोहमा उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अस्पतालकी प्रबन्धनिर्देशक मेघा चौधरीलाई अवार्ड हस्तान्तरण गरे । सोही समारोहमा प्रबन्धनिर्देशक चौधरीलाई उत्कृष्ट नेतृत्व, कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह, दीपेन्द्र मिश्र, रवि शर्मा र अंकित अग्रवाललाई उत्कृष्ट व्यवसाय व्यवस्थापन, प्रवीण डावर र प्रदीप झालाई उत्कृष्ट बजार व्यवस्थापन तथा कपिल गौतमलाई उत्कृष्ट गुणस्तर व्यवस्थापन सम्मान प्रदान गरिएको थियो ।

समारोहमा वल्र्डकबका विदेश मामिला निर्देशक निकोलस कफारोले नर्भिक अध्यक्ष वसन्त चौधरीलाई अस्पताललाई दिइएको एलिट मेम्बरसमेत प्रदान गरे ।

वल्र्डकबले स्थापित मापदण्डमा आधारित छनोट मापदण्डहरु व्यावसायिक अगुवाइ, सेवाको गुणस्तर, प्रभावकारी तथा गुणस्तरीय व्यवस्थापन प्रणाली, चिकित्सा नैतिकताको अवलम्बन, बिरामीे सुरक्षा, अस्पतालजन्य संक्रमणको नियन्त्रणलगायत रोग रोकथाम, निदान, औषधोपचार एवम् उपचारका क्षेत्रमा अस्पतालले हासिल गरेको उत्कृष्ट नतिजालाई सम्मानको आधार मानेको थियो ।

द वल्र्डकबले द बिज विश्वभरबाट उत्कृष्ट व्यावसायिक संघ–संस्था तथा व्यक्तित्वलाई एकत्रित पार्ने, विश्व सञ्जालसँग आबद्ध बनाउने, सम्मानित गर्ने गर्छ । यस्तो सम्मान विश्वव्यापी अगुवाहरुलाई विविध सेवा–सुविधाका माध्यमबाट तिनका आर्थिकस्तर एवम् व्यावसायिक प्रतिष्ठा बढाउने अभिप्रायले स्थापना गरिएको संस्थाले जनाएको छ ।

सन् २००४ मा स्थापित संस्थाको १ सय २० भन्दा बढी राष्ट्रमा ३ हजारभन्दा बढी सदस्य प्रतिष्ठानहरुको सञ्जाल छ । सम्मानले व्यवसायको नैतिक अभ्यासलाई प्रवद्र्धन गर्दै अनुकरणीय व्यावसायिक उदाहरणहरु स्थापित गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा तत्सम्बन्धी व्यवसायहरुले निर्धारित मापदण्डलाई अनुसरण गराउने गर्छ ।

यसअघि नर्भिकले ‘ग्लोबल ग्रिन एन्ड हेल्दी हस्पिटल्स’, अमेरिकाको सदस्यता प्राप्त गरेको थियो । नेपालमै सर्वप्रथम आइएसओ प्रमाणीकरण पाएको नर्भिकले यसपूर्व युरोप बिजिनेस एसेम्ब्ली, बेलायतबाट उत्कृष्ट क्षेत्रीय हस्पिटल र नेपालको उत्कृष्ट इम्प्लोयर ब्रान्डजस्ता सम्मानर तथा पुरस्कार प्राप्त गरिसकेको छ ।

कार्यक्रममा बोल्दै प्रबन्धनिर्देशक मेघाले चिकित्सा सेवाका गुणस्तर अझै उकास्न अथक प्रयास गर्दै भविष्यमा अस्पतालको सेवालाई थप अन्तर्राष्ट्रियस्तरको बनाउने बताइन् । वल्र्डकबका अन्तर्राष्ट्रिय मामला निर्देशक निकोलस कफारोले वल्र्डकबले आ–आफ्नो क्षेत्रका विश्वका उत्कृष्ट व्यवसाय तथा व्यावसायिक व्यक्तित्वहरुलाई सम्मान गर्ने गरेको भन्दै यो सम्मान नेपालको संस्थाले पाउँदा खुसी लागेको बताए ।

नर्भिकका अन्तर्राष्ट्रिय चिकित्सा सल्लाहकार डा. एरिकले आउँदो २ वर्षभित्र अस्पतालले चिकित्सा विधालाई थप विशिष्टीकरण गर्ने बताए । उनले अस्पतालको सेवाको गुणस्तर सुधार गर्दै नर्भिकमा छिट्टै असमयको बुढ्यौली रोक्ने चिकित्सा र स्टेम सेल थेरापी सेवा सुरु गर्ने बताए ।

कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सा सेवाको उत्कृष्ट गुणस्तर कायम राख्न नर्भिकले गरेको निरन्तर प्रयासको प्रशंसा गरे । उनले नेपालमै सबैखाले उपचार सम्भव भएको भन्दै नर्भिकले निजी क्षेत्रबाट त्यसको अगुवाइ गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय