सरकारी अस्पतालका आइसियूमा नै मापदण्डअनुरूप जनशक्ति छैन

आइसियूका सामान्य मापदण्ड के हुन् ?
सरकारले आइसियूको जनरल मापदण्ड नछुट्याएको भए पनि यसका ३ वटा लेभल हुन्छन् । सामान्यतया हामीले बुझ्ने गरेको आइसियू लेभल ३ आइसियू हो ।
लेभल १ आइसियूमा बिरामीलाई केही थप समस्या उत्पन्न हुन्छ कि भनेर राख्ने गरिन्छ । यस्तो प्रकारको आइसियूमा एकजना नर्सले तीनजना बिरामी हेर्ने गर्छन् । त्यहाँ नियमित रूपमा डाक्टर हुँदैनन् । लेभल १ आइसियूमा राखिएको भन्दा केही सिकिस्तखालका बिरामीलाई लेभल २ आइसियूमा राख्ने गरिन्छ, जहाँ चाहिएको अवस्थामा भेन्टिलेटरमा राख्न सकिन्छ ।
यसमा कुनै अंगलाई समर्थन गर्ने कुरासमेत राख्न सकिन्छ । जस्तै, रक्तचापको औषधि । तर, लेभल २ मा धेरै समयसम्म बिरामी राख्न सकिँदैन । यसमा पनि डाक्टर नियमित हुँदैनन् । त्यहाँ एक नर्सले दुई बिरामी हेर्ने गर्छन् । लेभल २ बाट सिकिस्त बिरामीलाई लेभल ३ मा ल्याउने गरिन्छ । लेभल ३ आइसियूमा सबै सुविधा हुन्छन् । यसमा मेडिकल अब्जर्भर, रेजिडेन्ट हुन्छन् भने एकजना नर्सले एक बिरामीलाई मात्र हेर्ने गर्छन् । यसभित्र भेन्टिलेटर, इबिजी मेसिन, इन्डोस्कोपी, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राफी हुन्छन् । यसप्रकारको आइसियूमा डायलाइसिस पनि कक्षभित्रै गर्न मिल्छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आइसियूको लेभल निर्धारण गर्नुपर्ने भए पनि नेपालमा अझै त्यसको अभ्यास भएको छैन । विदेशमा भने आइसियूको वर्गीकरण हुने गरेको छ । विदेशमा कुनै पनि अस्पताल दर्ता भएपश्चात् अस्पतालमा कतिवटा कुन लेभलका बेड हुने भन्ने निर्धारण गरिन्छ ।

कस्ता प्रकारका बिरामीलाई आइसियूमा रेफर गर्ने गरिन्छ ?
कुनै पनि अंगले काम नगरेमा आइसियूमा राख्नुपर्ने अवस्था आउँछ । ब्लड प्रेसर कम भएमा, श्वास–प्रश्वासका समयमा अक्सिजन नपुगेमा, कलेजोले काम नगरेमा, मुटुले काम नगरेमा, मस्तिष्कले काम नगरी होस कम भएमा तथा कुनै पनि एउटा अंगले काम नगरेमा तथा बिरामीको अवस्था बिग्रँ्रदै गएमा उनीहरूलाई आइसियूमा राख्ने गरिन्छ । कुनै–कुनै बिरामीलाई ठूलो शल्यक्रिया गरेपश्चात् पनि आइसियूमा राख्नुपर्ने अवस्था आउन सक्छ । शल्यक्रियापश्चात् विभिन्न जोखिम आउन सक्ने भएकाले त्यस्ता जोखिम नआऊन् भन्नका लागि आइसियूमा राख्ने गरिएको हो ।

बिरामीको हेरचाह र प्रतिफललाई तुलना गरेर हेर्दा आइसियू महँगो नै छ । आइसियूमा जनशक्ति खटाउन पनि महँगो नै हुने भएकाले सरकारले आइसियूमा आवश्यक मात्रामा जनशक्ति नदिएको हो ।

त्रिवि शिक्षण अस्पतालमा आइसियूको अवस्था के–कस्तो छ ?
सरकारी स्वामित्वका नेपालका सम्पूर्ण अस्पतालको प्रमुख समस्या नै दक्ष जनशक्ति अभाव हो । १० बेडको एउटा आइसियूलाई एकजना डाक्टर भए पुग्छ । लेभल ३ आइसियूमा एउटा बिरामीलाई एउटै नर्सको आवश्यकता पर्छ । तर, नेपालको कुनै पनि सरकारी स्वामित्वका अस्पतालका आइसियूमा नर्सिङ जनशक्ति पुगेको छैन । त्रिवि शिक्षण अस्पतालमा ११ बेडको आइसियू छ । त्यसमा एउटा सत्रमा जम्मा ५ जना नर्स कार्यरत छन् । सिकिस्त अवस्थाका बिरामी ल्याएर राख्ने अति जोखिम ठाउँमा यसरी जनशक्ति अपुग हुँदा कसरी राम्रो प्रतिफल दिन सकिन्छ ? जनशक्तिचाहिँ आवश्यकताभन्दा आधा पनि नदिने, अनि प्रतिफलचाहिँ विदेशको सुविधासम्पन्न अस्पतालको जस्तो खोजेर कसरी पाइन्छ ?
सरकारी स्वामित्वका संस्थाहरूमा नचाहिने ठाउँमा धेरै जनशक्ति छ भने चाहिने ठाउँमा भने जनशक्ति अभाव छ । आइसियूको लेभल ३ मा एउटा नर्सले ३ जना बिरामीको हेरचाह गर्नुपर्ने अवस्थामा त्यसको प्रतिफल राम्रो हुन सक्दैन । हामीकहाँ आइसियूमा कुनै पनि उपकरणको अभाव छैन । कलेजो प्रत्यारोपण गर्नका लागि हामी तयार भइरहेका छौँ भने उपकरणको अभाव हुने त कुरै रहेन । विदेशमा आइसियूमा उपलब्ध सम्पूर्ण उपकरण त्रिवि शिक्षण अस्पतालमा पनि उपलब्ध छन् । प्रमुख समस्या भनेको जनशक्तिमै हो । त्यसमा पनि नर्सिङ जनशक्ति सरकारी अस्पतालमा आवश्यक मात्रामा खपत गर्न सकिएको छैन । डाक्टरको उपलब्धता भने अपर्याप्त छैन ।
एकजना नर्सले एक बिरामी हेर्नुपर्नेमा ३ जना हेर्नुपरेको खण्डमा बिरामीलाई पर्याप्त हेरचाह पुग्दैन । त्यसैकारण नेपालका सरकारी अस्पतालको प्रतिफल निजी अस्पतालसरह हुन नसकेको हो ।
निजी अस्पतालमा प्रतिफल राम्रो हुन्छ । सरकारी अस्पतालको आइसियूमा मृत्युदर ३० देखि ४० प्रतिशत पाइएको छ भने निजीमा १५ देखि २० प्रतिशत छ । निजी अस्पतालका आइसियूमा एक बिरामीलाई एक नर्सले हेरचाह गर्ने व्यवस्था छ ।

आइसियूका आधारभूत कुराहरू पु-याउन खोज्दा नै बिरामीमा आइसियूको लागत बढ्ने हो ।

त्रिवि शिक्षण अस्पतालमा आइसियूका बिरामीको मृत्युदर कुन अवस्थामा छ ?
मेडिकल तथा सर्जिकल बिरामीमा मृत्युदर फरक–फरक रहेको पाइन्छ । त्रिवि शिक्षण अस्पतालमा मेडिकल बिरामीको आइसियूमा मृत्युदर ३५ देखि ४० प्रतिशत छ भने सर्जिकल बिरामीमा करिब ३० प्रतिशत छ । यो विदेशका अस्पताल तथा नेपालकै पनि निजी क्षेत्रबाट सञ्चालित अस्पतालको तुलनामा बढी हो । अघिल्ला वर्षहरूको तुलनामा यो दर स्थिर छ । मृत्युदर बढी हुनुको प्रमुख कारण नै पर्याप्त जनशक्ति नहुनु नै हो ।

नेपालमा आइसियूमा काम गर्न सक्ने दक्ष जनशक्तिको अवस्था कस्तो छ ?
आइसियूमा काम गर्न सक्ने दक्ष जनशक्तिलाई इन्टेन्सिभिस्ट भनिन्छ । त्रिवि शिक्षण अस्पतालमा हामीले इन्टेन्सिभिस्टको डिएम कोर्स दिएर डिएमको समेत उत्पादन गरिसकेका छौँ । नेपालमा आइसियू कोर्स यो एउटा मात्रै हो, अन्त कतै पनि छैन । कार्डियोलोजी तथा नेफ्रोलोजीमा सबै क्षेत्रमा सबै कार्यक्रम छन् । तर, आइसियूको क्षेत्रमा भने त्यस्तो छैन । आइसियूमा काम गर्न सक्ने दक्ष एकजना जनशक्ति उत्पादन गर्न १ वर्ष लाग्छ । यस हिसाबले भन्ने हो भने सयजना दक्ष जनशक्तिको उत्पादन गर्न हामीलाई सय वर्ष लाग्छ ।
अन्य छात्रवृत्ति कार्यक्रमहरूमार्फत विदेशबाट आइसियू कोर्स गरेर आउने जनशक्ति नेपालमा उपलब्ध छ । नेपालमा उत्पादन भएको डिएम करिब ३ जना हुँदा विदेशबाट छात्रवृत्तिमा कोर्स गरेर आउनेको संख्या करिब १० छ । नेपालमा नै छात्रवृत्तिका कार्यक्रम विकास गर्नुपर्ने हाम्रो मनसाय छ ।

त्रिवि अस्पतालमा आइसियू सेवा लिएबापत बिरामीले कति रकम तिर्नुपर्छ ?
बिरामीको हेरचाह र प्रतिफललाई तुलना गरेर हेर्दा आइसियू महँगो नै छ । आइसियूमा जनशक्ति खटाउन पनि महँगो नै हुने भएकाले सरकारले आइसियूमा आवश्यक मात्रामा जनशक्ति नदिएको हो ।आइसियूका आधारभूत कुराहरू पु¥याउन खोज्दा नै बिरामीमा आइसियूको लागत बढ्ने हो । तैपनि सरकारी अस्पतालमा बेडशुल्क तथा भेन्टिलेटर चार्ज भने खासै महँगो छैन । त्रिवि शिक्षण अस्पतालको कुरा गर्ने हो भने भेन्टिलेटर चार्ज १ हजार २ सय ५० छ भने बेडशुल्क पनि त्यति नै छ ।
निजी अस्पतालको कुरा गर्ने हो भने बेड तथा भेन्टिलेटरशुल्क गरी १५ हजार पुग्छ ।

निजी अस्पतालले त्यसअनुसारको सुविधासमेत दिन सकेका छन् । १ बिरामीबराबर १ नर्स उपलब्ध गराउन सकेका छन् । निजी अस्पतालले सरसफाइमा पनि त्यतिकै ध्यान दिने गरेको देखिन्छ ।सरकारी अस्पतालले शुल्क पनि लिन सकेको छैन, सुविधा पनि दिन सकेको छैन । सबैभन्दा ठूलो चुनौती त जनशक्ति अभाव नै हो । अर्काे, सरकारी अस्पतालले शुल्कसमेत बढाउन सकेका छैनन् । शुल्क बढाउन नसकेपछि दिगो हुँदैन, दिगो नभएपछि आइसियू विस्तार गर्नसमेत सकिँदैन ।
आइसियू बढाएमा अस्पतालको दायित्व तथा सरकारको लागतसमेत बढ्ने भएकाले सरकारी अस्पतालमा आइसियू बढाउन नखोजिएको हो । आइसियू अपुग हुँदा हरेक दिन ५ देखि ७ जना बिरामी इमर्जेन्सीबाट रेफर गर्नुपर्ने हाम्रो बाध्यता छ ।

विदेशको तुलनामा नेपालमा आइसियूको लागत कस्तो छ ?
विदेशको तुलनामा नेपालको आइसियूको लागत ज्यादै नै नगण्य छ । नेपालकै कुरा गर्ने हो भने पनि निजी क्षेत्रबाट सञ्चालित ग्रान्डी, मेडिसिटी अस्पतालकै तुलनामा पनि त्रिवि अस्पतालको आइसियूमा लाग्ने खर्च ज्यादै नै न्यून छ । औषधि, डाक्टर, नर्स सबैको खर्च जोड्ने हो भने चलेका निजी अस्पतालमा दैनिक २०–२५ हजार खर्च हुन जान्छ । विदेशको एपोलो, मेदान्त अस्पतालको कुरा गर्ने हो भने दैनिक १ लाख लाग्न सक्छ ।
नेपालीहरू उपचारका क्रममा विदेश गएर त्यति महँगो तिर्न तयार हुन्छन् भने नेपालमा सस्तो सुविधा लिँदा पनि महँगो भयो भनी कम्पेन गर्छन् । शुल्कसँग जोडेर त्यसबाट प्राप्त हुने सेवा–सुविधालाई जोड्ने गरिन्छ । त्रिवि अस्पतालमा हामीले सेवा पनि प्रभावकारी दिन सकेका छैनौँ भने शुल्क पनि बढी लिएका छैनौँ । प्रभावकारी सेवा दिनका लागि त आवश्यक दक्ष जनशक्ति पनि त उपलब्ध हुनुपर्यो नि !

आइसियू मृत्युदरमा विदेशको अवस्था कस्तो पाउनुहुन्छ ?
नेपालका निजी अस्पतालहरूको कुरा गर्नुपर्दा आइसियू मृत्युदर १५ देखि २० प्रतिशत छ भने विदेशमा १० देखि १५ प्रतिशत रहेको पाइन्छ । यस्तो हुनुमा मुख्य भूमिका जनशक्तिकै भए पनि आइसियूको प्रकारमा समेत यो कुरा निर्भर रहन्छ । आइसियू मुख्यतया ३ प्रकारका हुन्छन्– ओपन आइसियू, सेमिक्लोज आइसियू, क्लोज आइसियू ।
ओपन आइसियूमा सबै प्रकारका बिरामी भर्ना गरिन्छन् । क्लोज आइसियूमा यससम्बन्धी सम्पूर्ण तालिम पाएको व्यक्तिलाई त्यसको जिम्मा दिइएको हुन्छ र उसकै नियन्त्रणमा सम्पूर्ण कार्य हुने गर्छन् । उसले रिपोर्ट दिए पनि अन्तिम निर्णय भने आइसियूको टोलीले नै गर्ने गर्छ । सेमिक्लोज मोडललाई भने मध्यम तथा हाइब्रेड मोडल भनेर समेत बुझ्ने गरिन्छ । संसारभरकै आइसियू क्लोज मोडलमा अपनाएमा त्यसको प्रतिफल राम्रो पाउन सकिन्छ । नेपालमा भने क्लोज मोडलको आइसियूको अभाव छ । यस्तो मोडलको आइसियू नेपालमा एउटा–दुइटा मात्रै छन् । धरानमा, काठमाडौंको ग्रान्डी अस्पतालमा, क्लोज मोडलका आइसियू छन् । त्रिवि शिक्षण अस्पतालको आइसियू भने सेमिक्लोज मोडलको हो । सेमिक्लोज तथा क्लोज आइसियूको प्रतिफल ओपन आइसियूको भन्दा राम्रो हुन्छ ।

(डा‍. आचार्य आइसियू विभाग त्रिवि शिक्षण अस्पतालमा क्लिनिकल कोअडिनेटरका रुपमा कार्यरत छन्)

प्रस्तुति : लक्ष्मी चौलागाईँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय