त्यो एक खिल्ली चुरोट किनेको दिन

सल्लाको माथिल्लो जंगलबाट सल्लेपिर पन्छाउँदै कम्मरमा आधा पेट ढाक्ने पटुका बाँधेकी एउटी आमा झर्दै छिन् । हातमा लौरो छ । बाटो पहिल्याउने र टेक्ने लौरो, बुढेसकालको एउटै सहारा भनौँ । थाप्लोमा नाम्लोले थिचेको छ, पिठ्युँमा डोकोभरि दाउरा बोकेकी छिन् । सुस्त–सुस्त हिँडेर अस्पताल प्रांगण हुँदै आउँछिन् । उनी हल्का स्याँ–स्याँ गर्दै छिन् । अरूका निम्ति त अझै तगडा नै देखिन्छिन् । उनको उमेर ढल्किँदै गयो । अनुहार चाउरिँदै गयो । उमेर गिन्तीले कति पुग्यो, पत्तो छैन । कति माघका चिसा सिरेटाले हाने होलान् उनलाई । चुनावमा उनका भोट पनि खसे कतिपटक । नाति अमेरिका पुगे, छोरा राजधानी । तर, उनको भारी कत्ति पनि कम भएन । छुटेन त्यो दाउराको भारी, कहिल्यै ।

सल्लेपिरले उनको बाटो सधैँ ढाकिदिन्छ । उनी सधैँजसो सल्लेपिर हटाउँदै आफैँ बाटो बनाउँदै जंगलबाट निस्किन्छिन्, अस्पतालनजिक । उनको घर पुग्ने छोटो बाटो परेर मात्रै भने होइन । हिँडेर बनेको, तर नक्सामा नरहेको बाटो हो त्यो । जीवनरूपी नक्सामा सधैँ स्पस्ट बाटो नहुन सक्छ, आफैँ पहिल्याउनुपर्ने हुन्छ, हिँडेर बनाउनुपर्छ, खनेर–खोस्रेर बनाउनुपर्छ, ती आमाले जस्तै ।

‘ती डाक्टर बाबु आउँदैनन् अब ? कहाँ गए ?’ डोकोभरि दाउराको भारी बोकेकी आमा भारी नबिसाई सोध्छिन् । आफ्नो श्वासमा ब्रेक लगाई–लगाई भन्छिन्, ‘मेरो ओक्तो छ कि भनेर बाटो पारेको ।’ घाममा बसेर नाम लेख्दै गरेका कर्मचारी जबाफ दिन्छन्, ‘उहाँ त गइजानुभो । अब आउनुहुन्न । पढ्न जानुभयो । ……. अर्का डाक्टर आउनुभा’छ । भित्र हुनुहुन्छ ।’

आमा एउटा कुनामा भारी बिसाउँछिन् । अनि पुर्जा कटाउँछिन्, मंगलबारको दिन परेकाले । भित्र पस्छिन् । उनलाई मंगलबार लिएको ओक्तोले मात्रै काम गर्छ भन्ने विश्वासको जरो मनमस्तिष्कमा गहिरो छ । उनलाई एउटा खोकीको औषधि लिनुपर्छ वेलावेलामा । ‘नयाँ रहिछन् डाक्टर त । त्यो ओक्तो नै थाहा पाएनन् । ‘भुसा’ छोड्ने अर्ती मात्रै दिने नानीहरू………… ! ‘लामो सुस्केरा हाल्दै भारी बोक्छिन् । त्यहीवेला उनको पटुकाभित्र लुकाइराखेको एउटा सिगरेट खस्छ, पातमा बेरिएको सिगरेट । भारी बिसाएपछि सल्काउने पालो थियो होला त्यसको ।

सानैदेखि चुरोटप्रति नफरत रोपिएको थियो मेरो मनमा । त्यसको गन्ध पनि सहन नसक्ने हुन्थ्यो, १० फुट पर भागिन्थ्यो । चुरोटको गन्ध सहन गर्न निकै मुस्किल हुन्छ नखाने मान्छेलाई । चुरोट त विष पो हो । हरेक क्षण आयु कम गरिरहेको हुन्छ । क्यान्सरजन्य रोगको प्रमुख कारकतत्व चुरोट । स्वास्थ्यलाई हानिकारक तत्व चुरोट । चुरोट हानिकारक छ भन्दै हरेक सिनेमा पर्दामा फिल्म सुरु हुनुभन्दा पहिले खोकेको व्यक्ति र उसको निचोरिएको फोक्सोबाट टार निकालेको देखाइन्छ । । चलचित्रको पर्दामा नायक–नायिकाले चुरोट सल्काउँदा ‘धूमपान स्वास्थ्यका लागि हानिकारक छ’ भन्दै अर्ती–उपदेश दिन भने छाडिन्न, पर्दाको पुछारमा भए पनि । चुरोटको बद्ख्वाइँ जति गरे पनि कम हुन्न होला । तर, अचम्मको कुरा, उत्पादन भने कहिल्यै नरोकिने, जानीजानी विषको उत्पादन ।

चुरोट एक खिल्लीबाट दुई, तीन हुँदै कति हुने हो केही भर हुँदैन । एकपछि अर्को सल्किन्छ । सलाई पनि विशेष भूमिका पाएर गजक्क हुन्छ होला । नसा सकिएपछि तलतल लागिरहने । यस्तै त देखिन्छ चुरोट खानेको बानी । निकोटिन जब रगतमा पुग्छ र दिमागको ‘प्लेजर’ सेन्टरमा हिट गर्छ, तब त्यसको नसा लाग्छ । चुरोट उपहार दिएर महाराजाहरूलाई खुसी पारेका कथा कथा मात्रै होइन रहेछन् । चुरोटको पावर विचित्र रहेछ । नभए चुरोटको साथ निभाउने किन नजिकका दोस्त हुन्छन् त ? चुरोटको लालसामा मान्छेलाई काम गराउन पनि सजिलो हुन्छ । सबै एक खिल्ली चुरोटको कमाल, क्यान्सरको डरभन्दा निकोटिनको प्लेजरको प्रभाव बढी हुने ।

कर जति लगाए पनि खपतमा कत्ति कमी नआउने, कस्तो विशेष वस्तु रहेछ चुरोट । चुरोट सल्किँदै सानो हुन्छ, फेरि अर्को सल्किन्छ । तर, त्योक्रम रोकिदैँन । कर धेरै उठ्ने हुँदा चुरोट बन्द गर्न असमर्थ रहन्छ सरकार । केवल जनचेतना मात्रमा सीमित हुन्छ । क्यान्सर लागेको फोक्सोको चित्र प्याकेटभरि भरिदए पनि मान्छेले पिउन छोड्दैनन् । चुरोट नहुँदो हो त मान्छे के गर्दा हुन् ! त्यही चुरोटमा हुने पदार्थलाई पातमा राखेर खान्थे होला । पहिले–पहिले चिटिक्क परेको फिल्टर भएको सिगरेट कहाँ आउँथ्यो र ! त्यही पनि पातमा मोलेर भए पनि खान्थे, तिनै आमाले खाएजस्तै ।

नातिनातिनाहरू एडभान्स भइसके, विचरा ती आमालाई के थाहा, सबै मोबाइल, टिभी, युट्युब आदिमा मस्त र व्यस्त । कसलाई पो रहर होला, सल्लेपिर पन्छाएर अगेनोको जोहो गरेको कथा सुन्ने । नाम्लोले थाप्लोमा बनाएको बाटो हेर्ने रहर कसलाई होला र ! न त डोकोले कति भारी दाउरा बोक्यो भन्ने कथा सुन्न आतुर होला कोही ।

सदाजस्तै ओपिडी सकिएपछि चौरमा निस्किएको थिएँ म । माघको महिना थियो त्यो, बिरामी छिटपुट आउने मौसम । तिनै बूढीआमै एक भारी दाउरा जंगलबाट बटुलेर चौरबाट हिँड्दै थिइन् । वेलावेला ओक्तो लिन आउनेरहिछन् त्यो बाटो । घरको दूरी पनि नजिकै पर्दोहोला । खोकीको ओक्तो रहेछ उनलाई चाहिने । त्यो पनि मंगलबारको दिन । त्यो सिरप औषधि बच्चाका लागि सरकारी सप्लाई हुन्थ्यो । तर, उनलाई भने त्यही झोल नै चाहिने । नत्र ओक्तो नलाग्ने रे ! बसुन्जेल स्टकमा राखेर भए पनि उनका लागि सधैँ उपलब्ध गराइराखेँ मैले । उनले दाउराको भारी बोकेको सधैँजस्तो देखिरहेको थिएँ । मनमा प्रश्न उब्जिएको थियो, ‘कति वर्षकी आमा होलिन् ?’
एकदिन सोधिहालेँ, ‘आमै ! डोको त बडेमानको छ, उस्तै भारी दाउरा । कति वर्षकी हुनुभयो ?’

‘चारबीसमा तीन बढी भयो बाबु । नयाँ डाक्टर बाबुजस्तो छ नि अस्पतालाँ !’ मुस्कानसहित यति भनेर आफ्नो बाटो लागिन् ।
नजिकैको चिया–चमेना खाने ठाउँमा तिनै आमा एकदिन सिगरेट पिउँदै थिइन्, उही पातमा बेरेर बनाएको सिगरेट । उनी साह्रै आनन्द मानेर पिउँदै थिइन् । हामीलाई देखेर होला, अप्ठ्यारो मानेर लुकाउन खोजिन् । ‘आमै, लुकाउनुपर्दैन, मैले देखिसकेँ । हाम्ची, अब १० हजार जरिवाना लाग्ने भयो,’ हाँस्दै भनेँ । स्वास्थ्यकेन्द्रको बोर्डमा प्रस्टसँग टाँसिएको नियम पो हो त !

उनको रहर नै चुरोट पिउने । सारा उमेर त्यही गाउँमा सकिएको पत्तै भएन उनलाई । मलाई भने किन हो, अनायास उनको रहर पूरा गर्न मन लाग्यो । डाक्टरको धर्मले त फिटिक्कै दिँदैन । त्यही पनि मैले एक खिल्ली सबैभन्दा राम्रो ब्रान्डको चुरोट र एक कप चिया अर्डर गरिदिएँ र भनेँ, ‘कसैलाई नभन्नू है !’ उनी अलिकति संकोच मान्दै लिइन् ।

उनी पनि मुख छोप्दै हाँसिन् र भनिन्, ‘कहाँ हुन्थ्यो र ल्याउने हो १० वटा हजार । खेला गर्नुन्च बाबु । कहाँ …… ।’
‘यो भुसा छोड्नुभयो भने राम्रो होला । खोकी पनि लाग्दैन, धेरै बाँचिन्छ,’ मैले उनको बोली खस्न नपाउँदै भनेँ ।
ठूलो हाँसो हाँस्दै उनले निसंकोच भनिन्, ‘बाबु ! पहिलेका डाक्टर बाबुले पनि त्यही भन्थे । म त छोड्न सक्दिन । अलि बढी बाँचेर चुरोट खाँदाखाँदै मर्ने उपाय भए भन्नू । चुरोट छोडेर त म बाँच्दिनँ । जिउने उमेर बाँचिसकेँ, अब केही बाँकी छैन । भुसामा त मेरो खुसी छ, रहर नै त्यही हो ।’ उनका ओठका किनार फिँजारिन्थे ।
‘फिल्टर भएको पो पिउनुपर्छ त आमै, यस्तो भुस भरेर पातमा बेरेर नि खान्छन् त !’ म भन्छु मायाका साथ, फिल्टरले हानि केही कम होला कि भन्ने झिनो आशमा । उनले छोड्ने आश त देखिँदैनथ्यो ।
‘रुपैयाँ चाहियो नि बाबु त्यस्तो चुरोटलाई त, फ्रीमा कल्ले दिन्छ र ? यही ठिक छ मलाई त’ भन्दै मुसुक्क हाँस्छिन् । कति मीठो मुस्कान, द्वेषरहित मुस्कान । एक लामो सर्को तान्छिन् आनन्द मानी, धुवाँ उडाउँछिन् ओठ खुम्च्याई ।

ती आमैको रहर देखेर मलाई पो ईश्र्या लाग्यो । कति खुसी हुन सकेकी । त्यस्तो ढल्किँदो उमेरमा भारी बोकेर तल–माथि गर्छिन् । मुस्कुराउँदा अनुहारका मुजा परेका छाला एकसाथ फिँजारिन्छन् । नाकमा झुन्डिएको बुलाकी पनि गर्वसाथ गजक्क परेजस्तो प्रतीत हुन्छ । । दुःखको कत्ति लेस मानेको देखिँदैन । उनलाई आफ्नो उमेरको जोडसम्म धौ–धौ हुन्छ । मलाई भने त्यो सानो ठाउँमा कति छिटो पट्ट्यार लागिसकेको थियो, २ महिना नबित्दै । कहिले भागूँ भइसकेको थियो त्यहाँका अभिभावकको सांलोबाट ।

उनको मुस्कान बेजोड थियो, आत्मादेखि उद्भव मुस्कान । फोटोमा कैद गरे शताब्दीको उत्कृष्ट फोटोबाट सम्मानित हुन्थ्यो होला । जसको मुस्कान जति गहिरो र निश्चल प्रतीत हुन्छ, उसले त्यति नै गहिरो दुःख भोगेको हुन्छ । सुखले मात्र कृत्रिमतालाई जन्म दिन्छ । दुःखबोधले त नयाँ काँचुली फेरेको मनुष्य निर्माण गर्छ । त्यसमा कृत्रिमताको लेस रहँदैन, झुसिल्किराबाट पुतली राम्रो र सुन्दर बनेजस्तै ।

उनको रहर नै चुरोट पिउने । सारा उमेर त्यही गाउँमा सकिएको पत्तै भएन उनलाई । मलाई भने किन हो, अनायास उनको रहर पूरा गर्न मन लाग्यो । डाक्टरको धर्मले त फिटिक्कै दिँदैन । त्यही पनि मैले एक खिल्ली सबैभन्दा राम्रो ब्रान्डको चुरोट र एक कप चिया अर्डर गरिदिएँ र भनेँ, ‘कसैलाई नभन्नू है !’ उनी अलिकति संकोच मान्दै लिइन् ।
मैले किनेको पहिलो चुरोटको खिल्ली थियो त्यो । उनी भने रहर मान्दै त्यो चुरोट सकिन्जेल तानिराखिन् । म हेरिरहेँ । बोर्डमा टाँसिएका नियम बोर्डमै रहून् । बरु सिगरेट बनाउनेलाई जरिवाना लगाउनुपर्ने । उनका जीवनका कैयौँ इच्छा त्यही धुवाँमा रुमलिँदै उडेको महसुस गर्दै थिएँ म । आमैले त्यही धुवाँसँगै आफ्ना कति आशाहरू धमिलिएको देखिहोलिन् । धुवाँमै आफ्ना मनका गुनगुनको बिस्कुन सुकाइहोलिन् । आफ्ना कथा–व्यथालाई चुरोटको धुवाँमा अक्षर बनाई रचेकी होलिन् । प्रत्येक सर्कोसँगै सेकेन्ड, मिनेट गर्दै उमेर घट्दै गएको वैज्ञानिक तथ्य पनि महसुस गर्दै थिएँ, सोच्दै थिएँ । तर पनि उनको उमेर कम गर्ने तागत त्यो धुवाँमा थिएन सायद ।

उनको साथी भने पनि दुस्मन भने पनि त्यही धुवाँ । उनका कथाहरू अचेल ‘ओल्ड फेसन’ भइसकेका छन् । नातिनातिनाहरू एडभान्स भइसके, विचरा ती आमालाई के थाहा, सबै मोबाइल, टिभी, युट्युब आदिमा मस्त र व्यस्त । कसलाई पो रहर होला, सल्लेपिर पन्छाएर अगेनोको जोहो गरेको कथा सुन्ने । नाम्लोले थाप्लोमा बनाएको बाटो हेर्ने रहर कसलाई होला र ! न त डोकोले कति भारी दाउरा बोक्यो भन्ने कथा सुन्न आतुर होला कोही । नकहिएका कहानीहरूमा शब्द भरिदिने को भेटिएला र ! त्यसैले त धुवाँ छ सधैँको एक मात्र संगिनी । मनमनै भनेँ, ‘तिमी ‘ओल्ड फेसन’ भइछ्यौ आमै ! तिमी ‘आउटडेटेड’ भइछ्यौ ।’

उनको मुस्कान बेजोड थियो, आत्मादेखि उद्भव मुस्कान । फोटोमा कैद गरे शताब्दीको उत्कृष्ट फोटोबाट सम्मानित हुन्थ्यो होला । जसको मुस्कान जति गहिरो र निश्चल प्रतीत हुन्छ, उसले त्यति नै गहिरो दुःख भोगेको हुन्छ । सुखले मात्र कृत्रिमतालाई जन्म दिन्छ । दुःखबोधले त नयाँ काँचुली फेरेको मनुष्य निर्माण गर्छ । त्यसमा कृत्रिमताको लेस रहँदैन, झुसिल्किराबाट पुतली राम्रो र सुन्दर बनेजस्तै । त्यस्तै संघर्षबाट जन्मिएका हँसिला ओठ, आँखा र चाउरिएका अनुहार सुन्दर देखिन्छन्, प्राकृतिक देखिन्छन्, पवित्र देखिन्छन् । नपत्याए एकपटक नेल्सन मन्डेला, मदर टेरेसा, विवेकानन्द, फ्लोरेन्सका तस्बिरहरू नियाल्ने कि ?

ठिक गरेँ कि बेठिक, त्यो मलाई थाहा भएन । आज पनि ती आमाले मुसुक्क हाँस्दै, खुसी हुँदै सम्झिन्छिन् रे, ‘पहिलेका डाक्टर बाबुले मलाई एक खिल्ली चुरोट दिएका थे, ……. ।’ मैले किनेको त्यो पहिलो खिल्ली चुरोट नै उनले आफ्नो अन्तिम खिल्ली मानेर सदाका लागि परित्याग गरिदिएको भए म खुसी हुन्थेँ होला ।

उही
चुरोट दिने डाक्टर

2 thoughts on “त्यो एक खिल्ली चुरोट किनेको दिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय