९० प्रतिशत नेपालीको समस्या दन्तसडन, के हो ?

बढ्दो पाश्चात्य जीवनशैली, हतारमा र नचपाईकन छिटो खाना खाने प्रवृत्ति, फास्टफुड र जंकफुडको प्रचलनले दाँतमा किरा लाग्ने रोगीको संख्या बढ्दै गएको छ ।

भारतमा सन् २०११ मा गरिएको प्रारम्भिक सर्वेक्षणले ७० प्रतिशत बालबालिका र ९० प्रतिशत वयष्कमा दाँतसम्बन्धी कुनै न कुनै समस्या भएको देखाएको छ । विश्वमै अग्रपंक्तिमा रहेको दीर्धकालीन रोग दन्तसडन नेपालमा लगभग ९० प्रतिशतमा देखिएको छ । अझ सहरी एवं बोर्डिङ स्कुलका बालबालिकामा त झन् ९९ प्रतिशतभन्दा बढी दाँतसम्बन्धी रोग देखिएको छ । यस रोगसम्बन्धी विभिन्न कुरीति, कुसंस्कार, कुसोचाइ र अन्धविश्वास विद्यमान छन् । यो रोगको उपचार गर्न खोजियो भने अहिलेको नेपालको वार्षिक बजेटको कैयौँ गुना बढी खर्च लाग्ने अनुमान छ ।
विश्वमा सबैभन्दा बढी देखिने दीर्घकालीन रोग दन्तसडन स्याँ–स्याँ (दम)भन्दा १०औँ गुना बढी पाईन्छ । विश्वका कुनै जाति, धर्म, भू–भाग, देश, हावापानी, लिंग, उमेरका व्यक्तिलाई नछोड्ने दन्तसडनरोग तुलनात्मक रूपमा विकसित देशमा, उच्च खानपानमा, सहर–बजारमा, बोर्डिङ स्कुलका विद्यार्थीमा दिनप्रतिदिन बढ्दै गएको हुनाले यसलाई सभ्यताको अर्थात् आधुनिकताको उपहार भनेर पनि चिनिन्छ ।

मुखमा भएका सूक्ष्मजीवद्वारा दाँतमा टाँसिएका खाद्यपदार्थ (प्रमुखतया गुलियो)सँग प्रतिक्रिया गरी उत्पन्न हुने अम्ल/तेजावले दाँतलाई नोक्सान गरी दाँतमा हुन जाने खाल्डोलाई दन्तसडन भनिन्छ । यसलाई सर्वसाधारणले दाँतमा किरा परेको वा दाँत किराले खाएको भन्ने गर्छन् । आज पनि गाउँघरमा दाँत किराले खाएमा धामी–झाँक्रीलाई देखाएर झारफुक गर्ने प्रचलन विद्यमान छ, जुन गलत हो ।

अन्य संक्रामक रोगजस्तै दन्तसडन पनि संक्रामक रोग भएकाले कीटाणु बस्ने ठाउँ (Host), कीटाणु (Agent) र वातावरण (Environment) यसका कारण हुन् । तर, समय (कति लामो)ले नै दन्तसडनमा अहम् भूमिका खेल्दछ । दन्तसडनको रोकथामको कुरा गर्नुपर्दा कीटाणु बस्ने ठाउँ (मुख) र सूक्ष्मजीव सबै व्यक्तिमा रहन्छ नै, रोकथाम र नियन्त्रण गर्नुपर्ने वा गर्न सकिने भनेको वातावरण र समय नै हो ।
वातावरणमा दाँतको बनावट, -याल-थुक शरीरसँग सम्बन्धित कारण आन्तरिक हो भने बाहिरी कारण हामीले प्रयोग गर्ने खाद्यपदार्थ नै हो । किनभने, हामीले जे–जस्तो खाद्यपदार्थ खाए पनि उक्त खाद्यपदार्थलाई दाँत वा गिजामा टाँसिरहन नदिएमा मुखमा भएका सूक्ष्मजीवद्वारा प्रतिक्रिया भई अम्ल निस्कन पाउँदैन र दन्तसडन हुँदैन, साथै दन्तलेउ र दन्तपत्थर बन्न पनि सक्दैन ।

दन्तसडन र गुलियो

२० वर्षअघि प्रतिव्यक्ति प्रतिवर्ष ६ केजीका दरले खपत हुने चिनी हाल १६ किलोकेजी प्रतिव्यक्ति पुगेको छ । यसका अतिरिक्त विदेशबाट आयात हुने गुलियोपदार्थ, जंकफुड, फास्टफुड र पेयपदार्थको हरहिसाबै छैन । बिहान उठेदेखि राति नसुत्दासम्म प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा गुलियो खाद्यपदार्थ कतिपटक सेवन गर्छौं, त्यसको हरहिसाबै हुँदैन ।
खाएका प्रायः खाद्यपदार्थ दाँतमा टाँसिएर वा अड्केर रहँदा तथा दाँतमा लामो समयसम्म रहिरहेमा पक्कै पनि हानिकारक हुन्छन् । तर, तुलनात्मक रूपमा गुलियो खाद्यपदार्थ अलि बढी र छिटो हानिकारक हुन्छ, किनभने यसबाट उत्पन्न हुने अम्ल धेरै हुन्छ, छिटो निस्कन्छ र गुलियोले सूक्ष्म जीवलाई पनि आकर्षण गर्छ ।

गुलियो, टाँसिने र प्रशोधित खाद्यपदार्थ कति धेरै भन्दा पनि कति धेरैपटक (How many times rather than how much), कुन रासायनिक र भौतिक बनावटको, अन्य खाद्यपदार्थसँग वा एक्लै, कुन रूपमा र कसरी सेवन गरिन्छ, त्यसले असर पारिरहेको हुन्छ । सबैभन्दा पहिले यो गुलियो कति लामो समयसम्म मुखमा÷दाँतमा रहिरहन्छ, त्यही नै सबैभन्दा हानिकारक कारण हो । जस्तै, हामीले सबैभन्दा गुलियो मान्दै आएको खुदो वा चिनी दिनमा एक–दुईपटक र मुखमा १ मिनेट राखेर प्रयोग गर्छौं, तर Juice/Ice-cream दिनमा एक–दुईपटक नै मुखमा १५–२० मिनेट राखेर प्रयोग गर्छौं भने खुदो वा चिनीभन्दा व्गष्अभरक्ष्अभअचभबm नै बढी हानिकारक हुन्छ । तसर्थ, गुलियो, त्यसमा पनि अझ टाँसिने, प्रशोधित खाना सकेसम्म प्रयोग नगरौँ । यदि गर्नुपरेमा खानासँग वा खाना खाइसकेपछि डिर्जटका रूपमा प्रयोग गरौँ र त्यसपछि ब्रस गरौँ । अन्य अतिरिक्त समयमा खानुपरेमा सकिन्छ भने खानासाथ ब्रस गरौँ । यदि सम्भव नभए सफा पानीले मात्र भए पनि मुख कुल्ला गर्यौँ भने पनि गुलियो खाद्यपदार्थ सेवनबाट हुने हानिकारक असरबाट जोगिन सकिन्छ ।

दन्तसडनका लक्षण तथा चिह्न
– कालो, खैरो वा चकजस्तो सेतो दाग वा रङ देखिन्छ ।
– चिसो, तातो वा गुलियो खाँदा र ब्रस गर्दा दाँत सिरिङ–सिरिङ हुन्छ, जसलाई दाँत लाग्छ भनिन्छ ।
– खानेकुरा अड्कने तथा खाना चपाउन अप्ठ््यारो हुने हुन्छ ।

उल्लिखित लक्षण देखिँदा पनि उपचार नगरे–

– दाँत दुख्छ, गिजा सुन्निन्छ, दाँत हल्लिन्छ,
– गाला, चिउँडो सुन्निन्छ, मुख खोल्न सकिँदैन ।

एकातिर प्रकृतिले शरीरको सबैभन्दा कडा तन्तु इनामेल दाँतलाई दिएको छ भने अर्कोतिर एकपटक नोक्सान भइसकेपछि नपाइने तन्तु हो इनामेल । त्यसकारण एकपटक नोक्सान भइसकेपछि त्यसको क्षतिपूर्ति नक्कली वस्तुले नै गर्नुपर्ने हुन्छ, जसलाई हामी सिमेन्ट भर्ने भन्छौँ । घरमा केही समयका लागि कपासलाई ल्वाङको तेलमा भिजाएर निचोरेर, नभए खाली कपास वा रुई दन्तसडनद्वारा भएको खाल्डोमा राख्न सकिन्छ । दुखाइ कम गर्न औषधि खान सकिन्छ । त्यसैले दन्तसडनको गाम्भीर्यअनुसार साधारण सिमेन्ट मात्र भरेर वा जरैदेखि उपचार गरेर दाँतलाई जोगाउँदै यसको कार्यलाई (जस्तै, मुस्कुराउन, सुन्दर देखिन, टोक्न, चपाउन, शुद्ध उच्चारण गर्न, बोल्न र निल्न) जोगाउन सकिन्छ ।

रोकथाम
रोकथामको कुरा गर्नुपर्दा रोगका कारणहरू हटाउनु वा कारणबाट टाढा रहनु नै रोगबाट बच्ने उत्तम उपाय हो । तर, दन्तसडन गराउने कारक तत्व सबै व्यक्तिमा हुन्छ, जुन सबैलाई नभई नहुने चिज पनि हो । खाद्यपदार्थ सेवन गर्ने भनेको मुख नै हो, त्यसैले मुखलाई शरीरको प्रवेशद्वार मानिन्छ । मुख, दाँत, मुखका सूक्ष्म जीव, र्याल÷थुक सबै व्यक्तिमा हुन्छ र खानेकुरा पनि शरीरका लागि सबै व्यक्तिले मुखबाटै खाने हो । खाना दाँतमा टाँसिएको २० मिनटमा अम्लमा परिवर्तन हुन्छ, त्यसपछि क्रमैसँग प्लाक वा लेउ, टार्टर वा पत्थर बन्छ । दन्तलेउ दा्रँतमा टाँसिई त्यसमा भएका सूक्ष्म जीवले रासायनिक प्रतिक्रिया गरी उत्पन्न अम्लले किरा लगाउने हो । खाना राम्ररी चपाएर खाँदा बढी र्याल निस्की दाँत धोइन्छ र सफा हुन्छ । त्यस्तै, खाएपछि कुल्ला गर्ने हाम्रो प्रवृत्ति अति राम्रो छ ।

अन्तमा, दन्तसडनको रोकथाम र नियन्त्रण भनेको खानेकुरामा नियन्त्रण, नराम्रो आदत वा बानीमा नियन्त्रण र ती खाद्यपदार्थलाई लामो समयसम्म मुखमा रहिरहन नदिनु हो । तसर्थ, दाँत एवम् मुखको सरसफाइ नै दन्तसडनबाट बच्ने प्रमुख उपाय हो । साथै, आफू स्वयम्ले नै आफ्नो मुखको परीक्षण र दन्तचिकित्सकसँग नियमित दन्तपरीक्षण गराउनु रोगको उचित समयमा निदान, कम दुःख, जटिलता र खर्च बचाउनु हो ।

(न्याम्स वीर अस्पताल काठमाडौंका वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन डा. बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष तथा नेपाल सरकार आँखा, नाक, कान घाँटी र मुख स्वास्थ्य शाखाका प्रमुख हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय