स्कुले बालबालिकामा मुटुको बाथरोगको प्रभाव

रोगको परिचय
मुटुको बाथरोग भन्नाले मुटुको भल्भ तथा मांसपेशीमा क्रप अ बेटा हेमोलाइटिक स्ट्रेप्टोकोकसको संक्रमणपश्चात् देखिने असरलाई बुझ्ने गरिन्छ । सामान्यतया घाँटी तथा छालाको ब्याक्टेरियल (ग्यास) संक्रमणपश्चात् २–३ हप्तामा मुटुको बाथज्वरो देखापर्छ । यदि बाथज्वरोको सही पहिचान तथा उपचार नभएमा करिब ६०–७० प्रतिशत व्यक्तिमा मुटुको बाथरोग देखापर्छ ।

मुटुको बाथरोगको प्रभाव
मुटुको बाथरोगको प्रभाव एसियाका प्रायः देशका स–साना बच्चा (५ देखि १५ वर्ष) तथा यौवनावस्थामा देखिएको छ । धेरैजसो खोज तथा अनुसन्धानले यस रोगको चाप प्रतिहजार विद्यार्थीमा करिब शून्य दशमलव ६८ देखि ५ जनामा पाइएको छ । त्यस्तै, नेपालमा पनि प्रतिहजार करिब १ देखि २ बच्चामा यो रोग देखापरेको छ । विश्वभरिको आँकडा हेर्ने हो भने अन्दाजी १५ दशमलव ६ मिलियन व्यक्ति यस रोगबाट प्रभावित भएको देखिन्छ । प्रत्येक वर्ष २८ लाख नयाँ रोगी फेला परिरहेका छन् भने २ दशमलव ३३ लाख व्यक्ति यस रोगका कारण ज्यान गुमाउन बाध्य छन् । हामीले पनि यो रोगको भयावह स्थिति तथा यसका दूरगामी असरहरू दिनहुँजसो देख्ने भएकाले विद्यालयमा अध्ययनरत बाबुनानीमा यसको प्रभाव कस्तो छ भनी सन् २०१३ बाट अध्ययन प्रारम्भ गरेका छौँ ।

प्रायः बच्चामा यस रोगको कुनै पनि लक्षण नदेखिन सक्छ । केही बच्चामा दम फुल्ने, बारम्बार घाँटी तथा छातीको संक्रमण हुने, छाती दुख्ने, ढुकढुकी बढ्ने, तौल अनुमानित रूपमा वृद्धि नहुने, खुट्टा तथा पेट फुल्दै जाने र कतिपयमा छालामा रातो दाग, गाँठागुठी देखिने, जोर्नी दुख्ने, सुन्निने लक्षण देखिन्छन् ।

चितवन तथा नवलपरासीका विभिन्न ग्रामीण र सहरी क्षेत्रका विद्यालयमा अध्ययनरत विद्यार्थीमा अत्याधुनिक प्रविधिबाट मुटुको भिडियो एक्स–रे (इको) प्रयोग गरी यस रोगको स्थितिबारे अध्ययन गर्न थाल्यौँ । करिब २५ हजार विद्यार्थीमा गरिएको यो अध्ययनले प्रतिहजार १ देखि २ जनामा यस रोगको प्रभाव फेला परेको छ । कतिपय बालबालिकामा रोग अत्यन्तै बढिसकेको भेटियो भने कतिपयमा रोगको सुरुवाती तथा सामान्य अवस्था देखापर्यो ।

यो रोगबारे अभिभावक, शिक्षक, शिक्षिका तथा बालबालिका अनभिज्ञ पाइयो । हामीले यस रोगसम्बन्धी जानकारी दिएपछि भने उनीहरूमा रोगबाट बच्ने र बचाउने अभियानमा ज्यादै सकारात्मक सोच पाइयो ।

लक्षण
प्रायः बच्चामा यस रोगको कुनै पनि लक्षण नदेखिन सक्छ । केही बच्चामा दम फुल्ने, बारम्बार घाँटी तथा छातीको संक्रमण हुने, छाती दुख्ने, ढुकढुकी बढ्ने, तौल अनुमानित रूपमा वृद्धि नहुने, खुट्टा तथा पेट फुल्दै जाने र कतिपयमा छालामा रातो दाग, गाँठागुठी देखिने, जोर्नी दुख्ने, सुन्निने लक्षण देखिन्छन् । समयमै यस्ता बालबालिकामा हुने रोगको पहिचान तथा उपचार नभएमा कालान्तरमा गम्भीर समस्या देखापर्न सक्छन् । यसका असरका रूपमा मुटु फेलर, ढड्कनसम्बन्धी रोग, दिमाग तथा शरीरका अन्य रक्तनलीमा रगत (क्लट) उछिट्टिएर जानु, प्यारालाइसिससमेत हुन सक्ने सम्भावना हुन्छ । उपचारका क्रममा औषधि (पेनिसिलिन सुई)को प्रयोग तथा रोग बढिसकेको अवस्थामा मुटुको भल्भ नै फेर्नुपर्ने, जीवनभर रगत पातलो गर्ने (वारफरिन) औषधिको प्रयोग आवश्यक पर्छ ।

रोग पहिचान तथा उपचार
मुटुको बाथरोगको पहिचानका लागि मुटुरोग विशेषज्ञबाट स–साना बालबालिकामा मुटुको परीक्षण गरिन्छ र शतप्रतिशत भए–नभएको हेर्न इको (मुटुको भिडियो एक्स–रे) प्रविधिमार्फत चेकजाँच गरिन्छ ।
रोगको पहिचान गर्नु नै रोगबाट बच्ने उपायको थालनी गर्नु हो । बारम्बार आफ्ना स–साना बालबालिकालाई घाँटी तथा छातीको संक्रमण भएमा थ्रोट–स्वाबको परीक्षण गरी ग्यास संक्रमणको उपचार गर्नुपर्छ । साथै, मुटुको भिडियो एक्स–रे गरेर भल्भहरूमा असर परे–नपरेको किटान गर्नुपर्छ ।
मुटुको बाथज्वरो देखिएमा मुटुरोग विशेषज्ञबाट परामर्श लिएर सो रोगको पूर्णतः उपचार गर्नुपर्छ ।

सावधानी
यस रोगले भविष्यका कर्णाधार कलिला बालबालिका तथा वयष्कहरूलाई असर पर्ने हुनाले नेपाल सरकार तथा स्वास्थ्यसम्बन्धी संघसंस्था, अस्पतालहरूले यस रोगविरुद्ध लड्नका लागि पूर्वाधार तयार पार्नु आवश्यक देखिन्छ ।
जस्तै,
क) जनचेतना अभिवृद्धि कार्यक्रम पत्रपत्रिका, टेलिभिजन तथा विद्यालयहरूमा स्वास्थ्यकर्मीको परामर्श लिइ लागू गर्नुपर्छ । साथै, पाठ्यक्रममा मुटुको बाथज्वरो तथा रोगसम्बन्धी सामग्री समावेश गरिनुपर्छ ।
ख) प्रत्येक वर्ष बालबालिकाको स्वास्थ्य परीक्षण गराउनुपर्छ र शंकास्पद देखिएमा इको गराउनुपर्छ । यसका लागि नेपालमा स्वास्थ्य बिमा नीति लागू गरिनुपर्छ ।
ग) स्वास्थ्यको पहुँच नभएको क्षेत्रमा सरकार तथा निजी क्षेत्रको पहलमा स्वास्थ्यकर्मीको सहयोगले मुटुसम्बन्धी परीक्षण कार्यक्रम सञ्चालन गर्नुपर्छ ।
घ) रोग देखिएका बालबालिकालाई सरकारले निःशुल्क पेनिसिलिन सुई वा चक्कीको व्यवस्था गर्नुपर्छ । त्यस्तै, सो सुविधा दिन सक्ने स्वास्थ्य एकाइ गठन गर्नुपर्छ ।
ङ) अप्रेसन (भल्भ फुकाउन वा भल्भ फेर्न) आवश्यक भएमा सुविधासम्पन्न मुटु अस्पताल रेफर गरिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय