स्टेजमा जम्दै हेल्थ असिस्टेन्ट शीतल

हेल्थपोस्ट
प्रकाशित
२०७५ कार्तिक २३ गते ११:०८

पढाइपछि २ वर्ष लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा काम गरेकी शीतल शर्मा अहिले सांगीतिक क्षेत्रमा छिन् । हँसिलोपन, मिलनसार स्वभाव र आदरभाव उनको पहिचान हो । त्यसैले उनी गायन र उद्घोषणबाट आफ्नो फरक परिचय बनाइरहेकी छिन् । शीतलले बुटवल र काठमाडौंलाई आफ्नो कार्यक्षेत्र बनाएकी छिन् । बाग्लुङको ढोरपाटन नगरपालिकामा जन्मिएकी शर्माले गाउँकै उत्तरगंगा माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी थिइन । उनले बुटवल नयाँगाउँस्थित मायादेवी टेक्निकल कलेजबाट हेल्थ असिस्टेन्ट (एचए) उत्तीर्ण गरेकी हुन् ।

विद्यालय तहको अध्ययनपछि सञ्चार र गायन क्षेत्रसँगै स्वास्थ्य क्षेत्रको पढाइलाई जोडेको उनी बताउँछिन् । उनी सञ्चार र स्टेज कार्यक्रममा लागेको ७ वर्ष पुगेको छ । ‘पढाइपछि लुम्बिनी अञ्चल अस्पतालमा करिब २ वर्ष काम पनि गरेँ, तर स्टेज कार्यक्रम छोड्न सकिन,’ उनले भनिन्, ‘यसले गर्दा बिपिएचमा नाम निकालेर पनि अध्ययनमा बाधा पुग्यो ।’ उनलाई स्टेज कार्यक्रममा भ्याईनभ्याई हुन्छ । मेला, महोत्सव र कन्सर्टहरूमा उद्घोषणमा देखिने शीतल गाउँदै गरेकी पनि भेटिन्छिन् । कार्यक्रम लिएर उनी विदेशसम्म पनि पुग्छिन् । ‘पानीजहाज’ र ‘महारानी’ उनका चलेका गीति एल्बम हुन् । उनले केही समय नेपाल टेलिभिजनमा ‘झंकार’ कार्यक्रम समेत सञ्चालन गरिन् ।

तिहारभर उनी देउसी–भैलो कार्यक्रममा व्यस्त रहिन् । केही दिन बुटवलमा रही भैलोमा सहभागी भएकी शीतल तिहार मनाउन बाग्लुङ पुगेकी छिन् । चाडपर्व गाउँमै मनाउँदा रमाइलो हुने हुँदा गाउँ पुगेको उनले बताइन् । ‘२ वर्षपछि अहिले भाइटीका छ,’ शीतलले भनिन्, ‘दाइ विदेशमा भएको हुँदा दाइका दुई छोरासँग आज टीका हुँदै छ ।’ चाडवाडमा तिहार बढी मनपर्ने शीतलको भनाइ छ । ‘दाजुभाइको सद्भाव, माया र देउसी–भैलोले गर्दा तिहार बढी मनपर्छ,’ शीतलले भनिन् । शीतलले गायन र उद्घोषणसँगै स्वास्थ्य क्षेत्रमा फर्किन सक्ने संकेत गरिन् । ‘मसँग एकेडेमिक सर्टिफिकेट छ, सीप पनि छ, ढिलो–चाँडो स्वास्थ्य क्षेत्रमै फर्किन्छु होला,’ शीतलले संकेत गर्दै भनिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय