मृत्युको पहिलो कारण मुटुरोग, नेपालका प्रमुख अस्पतालमा के छ उपचार अवस्था ?

विश्वमा नसर्ने रोगमध्ये मानव मृत्युको पहिलो कारणका रूपमा रहेको मुटुरोग दिन प्रतिदिन विकराल बन्दै गएको छ । प्रत्येक वर्ष विश्वमा १ करोड ७५ लाख मानिसको मृत्यु मुटुरोगका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकले देखाएको छ । मुटुरोगबाट मृत्यु हुने मानिसको संख्या यसरी नै बढ्दै जाने हो भने सन् २०३० मा यो रोगबाट मृत्यु हुनेको संख्या २ करोड ३० लाख पुग्ने देखिन्छ ।

नेपालमा पनि जनसंख्याको १०–१५ प्रतिशतलाई मुटुरोग लाग्ने गरेको तथ्यांकमा उल्लेख छ । मुटु तथा रक्तनलीजन्य मुख्य रोगहरूमा कोरोनरी मुटुरोग, हृदयाघात, बाथ मुटुरोग, हृदयाघात, उच्च रक्तचाप, मस्तिष्काघातजस्ता रोग पर्छन् ।
विश्वमा ६०–७० वर्ष उमेर समूहका मानिसमा बढी मुटुरोग पाइएको छ । तर, नेपालमा भने ४०–५० वर्ष उमेर समूहका मानिसमा मुटुको समस्या धेरै पाइएको सहिद गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतीन्द्र शर्मा बताउँछन् ।
सहिद गंगालाल हृदयरोग केन्द्रले १५ पुस ०५५ मा बहिरंग सेवाको स्थापना गरेदेखि हालसम्म १४ लाख ४० हजार बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरिसकेको छ ।

डा. शर्माका अनुसार अस्पतालले हालसम्म करिब ५६ हजार बिरामीको विभिन्नखालको तथा २० हजार बिरामीको मुटुको शल्यक्रिया गरिसकेको छ । केन्द्रले सन् २०१७ मा १ लाख ५३ हजार ४ सय ६२ बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरेको छ भने १ हजार ७ सय ८२ वटा मुटुको विभिन्नखाले शल्यक्रिया सम्पन्न गरेको छ । केन्द्रले हालसम्म १४ हजारभन्दा बढी ओपन हार्ट सर्जरी सम्पन्न गरिसकेको छ । केन्द्रमा सन् २०१७ मा भर्ना भई उपचार गराउने बिरामीको संख्या १३ हजार ४ सय ५९ छ ।

सहिद गंगालाल हृदयरोग केन्द्रले १५ पुस ०५५ मा बहिरंग सेवाको स्थापना गरेदेखि हालसम्म १४ लाख ४० हजार बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरिसकेको छ ।

विकासोन्मुख देशका ३० प्रतिशत मानिसको मृत्युको कारण मुटुरोग बनेको मनमोहन कार्डियोथेरापिक एन्ड भास्कुलर सेन्टरका मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराई बताउँछन् । उनका अनुसार संसारमा नसर्ने रोगका कारण हुने मृत्युमध्ये मुटुरोग पहिलो कारण हो भने क्यान्सर दोस्रोमा पर्छ । कतिपय बच्चामा जन्मजात नै मुटुरोग लाग्ने भट्टराई बताउँछन् ।

मनमोहन कार्डियोथेरापिक एन्ड भास्कुलर सेन्टरमा ०७४ मा बहिरंग सेवामार्फत ५७ हजार ८ सय ९ बिरामीले उपचार गराएका थिए । त्यस्तै, सो वर्ष भर्ना भएर उपचार गराउनेमा ३ हजार ६ सय ८३ र आकस्मिक सेवा लिनेमा ६ हजार १ सय १० बिरामी थिए । यो संख्या ०७० मा बहिरंगतर्फ ४२ हजार ८ सय २८, भर्ना भएर उपचार गराउनेमा ३ हजार ७ सय २६ र आकस्मिकतर्फ ४ हजार ८ सय ६२ थियो । त्यसैगरी, ०७१ मा यो संख्या बहिरंगतर्फ ५१ हजार २ सय ३९, भर्ना हुनेमा ३ हजार ६ सय ४९ र आकस्मिकतर्फ ४ हजार ९ सय ९८ थियो ।

नेपालमा मुटुरोग बर्सेनि बढ्दै जानुमा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, शारीरिक परिश्रमको अभाव, मोटोपन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मानसिक तनावजस्ता कारकतत्व रहेको चिकित्सकहरू बताउँछन् ।

०७२ मा भने बहिरंगतर्फ ५० हजार ७ सय २९, भर्ना हुनेमा २ हजार ९ सय ६० र आकस्मिकतर्फ ४ हजार ५ सय ९६ ले सेवा लिएका थिए, जुन अघिल्ला वर्षहरूको तुलनामा घटेको देखिन्छ । तर, ०७३ मा भने पुनः उक्त संख्या बढेको देखिन्छ । ०७३ मा बहिरंगतर्फ ५४ हजार २६, भर्ना हुनेमा ३ हजार ४ सय १५ र आकस्मिकतर्फ ५ हजार ५ सय ६१ ले उपचार गराएका थिए ।
अस्पतालको यो तथ्यांकले बर्सेनि मुटुरोगी बढ्दै गएको देखाउँछ । नेपालमा मुटुरोग बर्सेनि बढ्दै जानुमा सुर्तीजन्य पदार्थको सेवन, अस्वस्थ खानपान, शारीरिक परिश्रमको अभाव, मोटोपन, उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मानसिक तनावजस्ता कारकतत्व रहेको चिकित्सकहरू बताउँछन् । उच्च रक्तचाप मुटु तथा रक्तनलीजन्य रोगको एउटा प्रमुख कारकतत्व मानिन्छ । यो रोगको कसै–कसैमा कुनै पनि लक्षण देखिँदैन । त्यसकारण उच्च रक्त रक्तचापलाई समयमै नियन्त्रण गर्न सकिएन भने यसले मुटु तथा मस्तिष्कमा क्षति पुग्न गई मानिसको अकस्मात् मृत्यु हुन सक्छ ।

मुटुरोगको उपचारलाई नेपाल सरकारले विशेष महत्व दिँदै आएको छ । नेपाल सरकारले १५ वर्षमुनिका बालबालिका तथा ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई मुटुरोगको निःशुल्क उपचारका लागि बजेट प्रदान गर्दै आएको छ ।
नेपाल सरकारले चालू आर्थिक वर्षमा उक्त प्रयोजनका लागि १३ करोड रकम विनियोजन गरेको छ । गत आर्थिक वर्षको फागुन महिनामा सरकारले बाथ मुटुरोगीको सम्पूर्ण शल्यक्रिया निःशुल्क गर्ने निर्णय गरेपश्चात् ५ सय ९६ बिरामीको निःशुल्क शल्यक्रिया भइसकेको छ । नेपाल सरकारले उक्त प्रयोजनका लागि १५ करोड ९० लाख विनियोजन गरेको थियो ।

मुटुरोग लागिसकेपछि यसको उपचारको बाटो खोज्नुभन्दा पनि मुटुरोग रोकथामको क्षेत्रमा सरकारले ध्यान दिनुपर्ने सहिद गंगालाल हृदयरोग केन्द्रका कार्यकारी निर्देशक शर्मा बताउँछन् । रोकथामका कार्यक्रम सस्तो हुने र त्यसले मानिसलाई अकालमा मृत्यु हुनबाट जोगाउने भएकाले रोकथामका कार्यक्रम ल्याउनु आवश्यक रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय