हेल्थपोस्टका सम्पादकसहित पाँच पत्रकारलाई ‘हेल्थ अवार्ड’

हेल्थपोस्ट
प्रकाशित
२०७५ कार्तिक १७ गते १८:४६

हेल्थपोस्टनेपालडटकमका सम्पादक दीपक दाहालसहित चार पत्रकार ‘लायन्स स्वास्थ्य दर्पण हेल्थ अवार्ड–२०७५’ बाट सम्मानित भएका छन् । चितवनमा आयोजित लायन्स स्वास्थ्य दर्पण मधुमेह विशेष टेलिभिजन कार्यक्रमको अवसर पारेर स्वास्थ्य चेतना अभिवृद्धिमा सहयोग पुर्याएबापत यस्तो अवार्ड प्रधान गरिएको हो । सम्मानित अन्य पत्रकारमाअतुल मिश्र (कान्तिपुर), बिबिसी नेपाली सेवा तथा नेपाल टेलिभिजनका पत्रकार ईश्वर जोशी, पोखराका रेडियो पत्रकार दीपेन्द्र श्रेष्ठ र चितवनका कृष्ण गिरी छन् ।

कार्यक्रम स्वास्थ्य दर्पण मिडिया नेटवर्क भरतपुर, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ चितवन सेन्टर, लायन्स क्लब अफ नारायणगढ र लायन्स क्लब अफ नारायणगढ नारायणीले संयुक्त रूपमा आयोजना गरेका हुन् ।
सम्पादक दाहालले स्वास्थ्य पत्रकारिताको विधागत विकास र छापा पत्रकारितामार्फत समाज विकासमा पुर्याएको योगदानको कदर गरिएको आयोजकको भनाइ छ । दाहालले यसअघि एक दशकसम्म नागरिक दैनिकमार्फत र त्यसअघि झन्डै आधा दशक नेपाल समाचारपत्र दैनिकमार्फत स्वास्थ्य पत्रकारिता गरेका छन् ।

पूर्वस्वास्थ्यमन्त्री एवं सांसद उमाकान्त चौधरी र वरिष्ठ पत्रकार किशोर नेपालले संयुक्त रूपमा पत्रकारहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए । पुरस्कार राशि ५ हजार ५ सय छ । त्यसैगरी, सोही कार्यक्रममा लायन्स अभियन्ता डा. सञ्जय खेतान र डिके ढुंगानालाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री चौधरीले पछिल्लो समय नसर्ने रोगमा बढोत्तरी आएको भन्दै त्यस्ता रोगको रोकथाममा जनचेतना महत्वपूर्ण हुने र त्यसका लागि पत्रकारिताको ठूलो महत्व हुने बताए ।

वरिष्ठ पत्रकार किशोर नेपालले सञ्चार क्षेत्रले आमनागरिकमा स्वास्थ्य चेतना अभिवृद्धि तथा जीवनशैली परिवर्तनका लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले पुरस्कृत पत्रकारहरूले आ–आफ्नो क्षेत्रबाट विधागत पत्रकारिताको विकासमा महत्वपूर्ण भूमिका खेलेको समेत बताए । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट गभर्नर सुनील ओझाले नोभेम्बर महिनालाई मधुमेह चेतना महिनाका रूपमा मनाउने भन्दै चेतना बढाउनमा क्रियाशील पत्रकारहरूको सम्मान गर्न पाएकोमा खुसी लागेको बताए ।

कार्यक्रममा स्वास्थ्य दर्पणका अध्यक्ष सन्दीपकुमार श्रेष्ठ, लायन्स स्वास्थ्य दर्पण हेल्थ अवार्ड संयोजक अनुषा चुकेलगायतले मन्तव्य राखेका थिए । स्वास्थ्य मन्त्रालय नीति, योजना महाशाखा प्रमुख डा. विकास देवकोटाले मृत्यु र बिरामी गराउने प्रमुख कारकमध्ये एक मधुमेहको भार बढ्दै गएको भन्दै मन्त्रालयले पनि सोअनुसारका परीक्षण र जनचेतनाका कार्यक्रम अगाडि बढाइरहेको बताए ।

कार्यक्रममा मधुमेहले विभिन्न अंगमा पार्ने असरबारे फरक विधाका विशेषज्ञले विचार राखेका थिए । फिजिसियन डा. बुद्धिबहादुर थापाले हर्मोनमा, डा. जगदीशप्रसाद अग्रवालले नसामा, डा. श्यामराज रेग्मीले मुटुमा मधुमेहको प्रभावबारे जानकारी गराएका थिए । त्यसैगरी, डा. सुनीलमणि पोखरेलले गर्भावस्थामा हुने मधुमेह, डा. मदनकुमार पियाले मधुमेह र क्यान्सर, डा. अरुण सेढाईंले मिर्गौलामा पार्ने असरबारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय