भयावह बन्दै डेंगु, हजार बिरामी, सय किट

अक्टोबरदेखि डिसेम्बर महिना डेंगु संक्रमणका लागि जोखिमपूर्ण हुन् । त्यसमा पनि नोभेम्बर डेंगु संक्रमणको सर्वाधिक जोखिम समय हो । दशकभन्दा बढी समयदेखि नेपालमा यो समयमा डेंगुले सयौँ मानिस प्रभावित हुँदै आएका छन् । प्रत्येक वर्ष डेंगुका कारण धेरै नेपाली ज्यान गुमाउन बाध्य छन् । विगतको अनुभवकै आधारमा पनि सतर्कता अपनाउँदै रोगनियन्त्रणमा राज्यको तत्परता हुनुपर्ने हो । तर, यसवर्ष विगतभन्दा अझै अन्योल बढेको देखिएको छ ।

पोखरामा डेंगु प्रकोप, परीक्षणका लागि किट छैन
करिब २ साताअघिदेखि पोखराको लप्सीफेदीमा ८० जना बिरामीमा डेंगु पुष्टि भइसकेको छ । त्यस्तै, पाँच सयभन्दा बढी बिरामी उस्तै लक्षणबाट प्रभावित भई अस्पताल भर्ना भएका छन् । तर, स्वास्थ्य अधिकारीहरू डेंगु परीक्षण गर्ने ‘र्यापिड डायग्नोस्टिक किट’को अभावमा उपचार तथा रोगनियन्त्रणमा समस्या भएको बताउँछन् ।

स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले पोखरामा केही मात्रामा बिरामी देखिएपछि सयवटा किट पठाएको छ । ‘सबै बिरामी परीक्षण गराएर विश्वस्त हुन चाहन्छन्,’ टेकु अस्पतालका निर्देशक तथा वरिष्ठ भाइरोजोजिस्ट डा. वासुदेव पाण्डेले भने, ‘तर, त्यति किटले कस–कसलाई परीक्षण गर्ने भन्ने कुराले स्थानीय स्वास्थ्यकर्मी अन्योलमा छन् ।’
लामो ज्वरो र डेंगुसँग मिल्ने अन्य लक्षणबाट प्रभावित धेरै बिरामी पोखरास्थित गण्डकी मेडिकल कलेज र पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा उपचाररत छन् ।

जनस्वास्थ्य भन्छ– सबै बजेट महानगरसँग छ, उसैले जिम्मा लिनुपर्ने हो । महानगर भन्छ– हामीलाई केही थाहै छैन, जनस्वास्थ्य नै आधिकारिक निकाय भएकाले समयमै जानकारी गराउनुपर्ने हो । कतिसम्म भने, आकस्मिक बैठक राख्न पनि खाजा कसले खुवाउने, भत्ता कसले दिने, संयोजन कसले गर्ने भन्नेमै अल्झिएको अवस्था छ ।

निःशुल्क उपचार नपाएको प्रति बिरामीको गुनासो रहेको निर्देशक पाण्डे बताउँछन् । ठूलो संख्यामा बिरामी बढ्न थालेपछि गण्डकी प्रदेश सरकारले स्थानीयस्तरमा डेंगु नियन्त्रण तथा उपचार तालिमका लागि डा. पाण्डेलाई बोलाएको थियो । ‘बिरामीको बढ्दो माग र अपर्याप्त किटको समस्या समाधानका लागि रगतमा प्लेटलेटको संख्या एक लाखभन्दा कम हुनेलाई मात्र किट प्रयोग गर्न हामीले तालिमका क्रममा स्थानीय स्वास्थ्यकर्मीलाई सुझाब दियौँ,’ डा. पाण्डेले भने ।

समन्वय अभावमा उपचारमा समस्या
ठूलो संख्यामा बिरामी देखापरिसक्दा पनि कसले पहलकदमी लिने भन्ने अन्योल हुँदा उपचारमा ढिलाइ भएको छ । रोग नियन्त्रणका लागि अर्थ मन्त्रालयको निर्देशनमा सम्पूर्ण बजेट स्थानीय तहमा पुगिसकेको छ । तर, महानगर, प्रदेश तथा जनस्वास्थ्य कार्यालयबीच कसले पहलकदमी लिने भन्नेमा अन्योल छ । जनस्वास्थ्य भन्छ– सबै बजेट महानगरसँग छ, उसैले जिम्मा लिनुपर्ने हो । महानगर भन्छ– हामीलाई केही थाहै छैन, जनस्वास्थ्य नै आधिकारिक निकाय भएकाले समयमै जानकारी गराउनुपर्ने हो । कतिसम्म भने, आकस्मिक बैठक राख्न पनि खाजा कसले खुवाउने, भत्ता कसले दिने, संयोजन कसले गर्ने भन्नेमै अल्झिएको अवस्था छ ।

पोखरा प्रमुख पर्यटकीय स्थल भएकाले त्यहाँ महामारी फैलिएमा एकातिर देशैभर रोगको संक्रमण फैलने खतरा छ भने अकोतर्फ पर्यटन व्यवसाय नराम्ररी प्रभावित हुने जोखिम छ । यसप्रति अहिले अधिकारीहरू चिन्तित देखिएका छन् । यसै सन्दर्भमा केन्द्र, प्रदेश, महानगर र जनस्वास्थ्यका प्रतिनिधिबीच पोखरामा भएको डेंगु नियन्त्रणसम्बन्धी छलफलमा गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरमाया पुनलाई रोगको जोखिम र वर्तमान वस्तुस्थितिबारे जानकारी गराइएको छ । पुनले डेंगु नियन्त्रणका लागि प्रदेश सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएकी छिन् ।

केही समयअघि वनस्थलीआसपासबाट आएका डेढ दर्जन बिरामीमा डेंगु पुष्टि भएपछि इडिसिडीले टिम पठाएर ‘सर्च एन्ड डेस्ट्रोए’ अभियान सञ्चालन गरेको थियो । भाइरको सरुवा चरित्रका कारण अर्को वर्ष डेंगुले कुन क्षेत्रमा डेरा जमाउँछ भन्ने अनुमान लगाउन कठिन भएकाले सबैले यस रोगप्रति वेलैमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

किट अभावबारे इडिसिडीका निर्देशक डा. विवेककुमार लाल देशैभर आपूर्ति गर्न पुग्ने गरी किट खरिद गर्न केन्द्रसँग बजेट नभएको बताउँछन् । ‘हामीले आवश्यक बजेट स्थानीय सरकारलाई दिइसकेका छौँ । योजना बनाउँदा नै अर्थ मन्त्रालयको निर्देशनअनुसार खरिदका लागि सबै बजेट स्थानीय सरकारलाई प्रत्यायोजन गरिसकिएको छ,’ डा. लालले भने, ‘तर पनि रोगको जोखिम देखिएका स्थानमा जसोतसो ५० देखि १०० किट हामीले उपलब्ध गराएकै छौँ ।

त्यसभन्दा बढी हामीसँग क्षमता छैन । तर, जे भए पनि महामारी नियन्त्रणको जिम्मा केन्द्र सरकारले लिनुपर्ने हो । भारतका धेरै राज्यलगायत संघीय संरचनाका अधिकांश मुलुकमा महामारी नियन्त्रणलगायत आकस्मिक व्यवस्थापनका लागि केन्द्र सरकार तयारी अवस्थामा रहनुपर्छ ।’ यस्ता समस्यामा के गर्ने भन्नेबारे मुख्यमन्त्रीको उपस्थितिमा छलफलसमेत गरिसकेको उनले बताए ।

बसाइँ सर्दै डेंगु भाइरस
यसवर्ष तुलनात्मक रूपमा अति जोखिम क्षेत्रका रूपमा परिचित चितवनमा डेंगुका बिरामी कम देखिएका छन् । तथ्यांकअनुसार यसवर्ष चितवनमा हालसम्म २० भन्दा कम बिरामी भेटिएका छन् । विगत वर्षहरूमा जोखिम मानिएको रूपन्देहीमा पनि यसवर्ष तुलनात्मक रूपमा कम बिरामी देखिएका छन् । यसलाई विशेषज्ञहरू भाइरसले ठाउँ परिवर्तन गरिरहने संकेत मान्छन् । गत वर्ष बाढी प्रभावित जिल्लाहरू महोत्तरी र सर्लाहीमा डेंगुको प्रकोप बढी देखिएको थियो ।

काठमाडौं पनि अझै २ महिना डेंगु संक्रमणको जोखिममा छ । केही समयअघि वनस्थलीआसपासबाट आएका डेढ दर्जन बिरामीमा डेंगु पुष्टि भएपछि इडिसिडीले टिम पठाएर ‘सर्च एन्ड डेस्ट्रोए’ अभियान सञ्चालन गरेको थियो । भाइरको सरुवा चरित्रका कारण अर्को वर्ष डेंगुले कुन क्षेत्रमा डेरा जमाउँछ भन्ने अनुमान लगाउन कठिन भएकाले सबैले यस रोगप्रति वेलैमा सजगता अपनाउनुपर्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय