स्वास्थ्य स्वयंसेविकालाई मोबाइल कार्यक्रम प्रभावकारी

कृष्ण मल्ल
प्रकाशित
२०७५ कार्तिक १५ गते १९:२०

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–५ मा रहेको राजपुर स्वास्थ्यचौकीअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मोबाइल फोन वितरण गरिँदै ।

गाउँको तल्लो तहसम्म सरकारको स्वास्थ्य सेवा पुर्याउने महिला स्वास्थ्य स्वयंसेविकालाई वितरण गरिएको मोबाइल फोनले स्वास्थ्य सेवाका काममा प्रभावकारिता थपेको देखिएको छ । गाउँसम्म स्वास्थ्यका सन्देश हेल्थपोस्टसम्म जोड्ने उद्देश्यले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले हेल्थपोस्टअन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरेको थियो । नगरभित्रका १० वटा स्वास्थ्यचौकीका १ सय ४१ जना महिला स्वयंसेविकालाई नगरले गत वर्ष मोबाइल फोन वितरण गरेको थियो ।
महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्यचौकीअन्तर्गत रहेर स्वास्थ्यका आधारभूत पक्षमा उपचारात्मक र सचेतनामूलक काम गर्दै आएका छन् । उनीहरूले मुख्यगरी स्वास्थ्य समस्याको सूचना दिने, राष्ट्रिय कार्यक्रमहरू, जस्तै : भिटामिन ए खुवाउने, पोलियो थोपा खुवाउने, गर्भवती जाँचका लागि स्वास्थ्यचौकीमा पठाउने, आमासमूहको बैठक गरी स्वास्थ्यसम्बन्धी जानकारी दिने, परिवारनियोजनका अस्थायी साधन र जीवनजल वितरण गर्ने, प्राथमिक उपचारको सामान्य सेवा र परामर्श दिने गर्छन् ।
हरिहरपुर स्वास्थ्यचौकीअन्तर्गतकी महिला स्वास्थ्य स्वयंसेविका सेमा खड्काले मोबाइल पाएपछि हेल्थपोस्टमा खबर लिन–दिनका लागि सजिलो भएको बताइन् । ‘नयाँ कुरा भए उताबाट फोन आउँछ,’ खड्काले भनिन्, ‘सरहरूलाई केही सोध्नु र भन्नु परे सजिलो भएको छ ।’ स्वास्थ्यचौकीसम्म हिँडेर जानुपरे आधा घण्टाजति लाग्ने हुँदा समयको समेत बचत भएको उनले बताइन् ।
दुबिया स्वास्थ्यचौकीका प्रमुख दीपकमणि पौडेलले मोबाइलले काममा चुस्तता आएको बताए । ‘सूचना आदान–प्रदान त हुने नै भयो,’ पौडेलले भने, ‘मुख्यगरी उच्च जोखिम (डिफल्टर) बिरामीबारे सोध्न, बुझ्न र उपचार प्रणालीमा सहयोग पुगेको छ ।’ दुबिया स्वास्थ्यचौकीअन्तर्गत १० जना महिला स्वयंसेविका कार्यरत रहेको उनले बताए ।

बुद्धभूमि नगरपालिकाको स्वास्थ्य एकाइका उपसंयोजक गोकर्ण अर्यालले जनतासँग स्वास्थ्य सेवाको पहुँच पुर्याउनका लागि मोबाइल फोनको वितरण गरिएको जानकारी दिए । उनका अनुसार नगरभित्रका १ सय ४१ जना महिला स्वयंसेविकालाई मोबाइलको सिम र सेट दिइएको हो । उनीहरूलाई दिइएको मोबाइलबापतको खर्च प्रतिमोबाइल करिब २ हजारबराबरको रकम नगरपालिकाको स्रोतबाट मिलाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय