डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी प्रमाणित, १ वर्ष कैद, १ करोड १९ लाख जरिवाना

हेल्थपोस्ट नेपाल

भरतपुर क्यान्सर अस्पतालका पूर्वअध्यक्ष एवं पूर्वकार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठ पदको दुरूपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अदालतबाट दोषी ठहरिएका छन् । अस्पतालको विभिन्न जिम्मेवारीमा रहँदा उनले आर्थिक हिनामिना गरी अकुत सम्पत्ति आर्जन गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंले उनलाई १ वर्ष कैद र १ करोड १८ लाख ६६ हजार जरिवनाको सजाय सुनाएको हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २ फागुन ०७२ मा श्रेष्ठविरुद्ध दायर गरेको भ्रष्ट्राचार अभियोगमाथि मंगलबार न्यायाधीशहरू बाबुराम रेग्मी, रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

अख्तियारले श्रेष्ठविरुद्ध १ करोड ६७ लाख ५७ हजार १ सय १३ रूपैयाँ सम्पत्ति अवैध आर्जन गरेको भन्दै सोहीबमोजिमको बिगो मागदाबी गरेको थियो । कार्यकारी निर्देशक हुनुपूर्व ०६३ देखि ०६५ सम्ममा १५ लाख २७ हजार रूपैयाँ मात्र आर्जन गरेका डा. श्रेष्ठले निर्देशकको जिम्मेवारी सम्हालेको ३ वर्षमा ५० लाख स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी थियो । त्यसैगरी ०६९ भदौमा अस्पताल व्यवस्थापन समितिको अध्यक्ष भएपछि उनले ९४ लाख ३१ हजार गैरकानुनी आर्जन गरेको अख्तियारको आरोप थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा आयोगको ऐन, २०४८ को दफा २९ बमोजिम सम्पत्ति जफत गरी राज्यकोषमा दाखिला गर्न आरोपत्रपमा माग गरिएको थियो । डा. श्रेष्ठले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति श्रीमती शिलु श्रेष्ठको नाममा समेत राखेको समेत अख्तियारको दाबी थियो ।

श्रेष्ठको नाममा विभिन्न बैंकमा १३ वटा खाता रहेकोमा घर निर्माणमा कुल ४४ लाख ५४ हजार र जग्गामा ६५ लाख ८५ हजार खर्चेको अख्तियारको अनुसन्धानमा भेटिएको थियो । उनको चितवनका एनपिआई सामुदायिक अस्पताल, चितवन अस्पताल प्रालि र नेपाल पोलिटेक्निकल इस्टिच्युटमा समेत सेयर रहेको अख्तियारको अनुसन्धानले देखाएको थियो ।
०५४ मा क्यान्सर अस्पतालमा विशेषज्ञ चिकित्सकका रूपमा सेवा सुरु गरेका श्रेष्ठले भदौ २०६४ देखि ०६७ सम्म कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए । ०६९ मा उनी अस्पताल सञ्चालक समितिका अध्यक्ष बनेका थिए ।



One thought on “डा. भक्तमान श्रेष्ठ भ्रष्टाचारी प्रमाणित, १ वर्ष कैद, १ करोड १९ लाख जरिवाना

  1. Aba punarabedan le fukuwa ra nirdos Bhanne ta hola tetaka nyadhis lai veti chadhaya paxi nirdos bhaihalxan yasto natak birhospital bharatpur cancer ka purba director lai garda huntho hola ni

Leave a Reply

Your email address will not be published. Required fields are marked *