मर्निङ वाक जानुपूर्व….

हेल्थपोस्ट
प्रकाशित
२०७५ कार्तिक १० गते ११:०९

मर्निङ वाकका लागि निस्कनु शारीरिक अभ्यासको महत्वपूर्ण उपाय मात्र होइन कि, यो तपाईंको सम्पूर्ण दिनको सुरुवात तपाईं ‘आफ्ना लागि’ दिनु पनि हो, जुन दिनभर तपाईं नपाउन पनि सक्नुहुन्छ । मर्निङ वाकका लागि निस्कनुपूर्व सहजखाले पहिरन छनोट गर्न नभुल्नुहोस् । नियमित व्यायाम र सन्तुलित खानालाई जीवनको अभिन्न अंग बनाउन नभुल्नुहोस् ।

मर्निङ वाकपूर्वका महत्वपूर्ण तयारी–
१. उपयुक्त सामग्री छनोट गर्नुहोस् ।
तपाईं हल्का वा कडा कस्तोखाले हिँडाइमा हुनुहुन्छ, सोहीअनुरूप सामग्री छनोट गर्नुपर्ने हुन्छ । आफूलाई सहज हुनेखालका लुगा र जुत्ता छनोट गर्नुहोस् । सबैभन्दा महत्वपूर्ण कुरा के हो भने मर्निङ वाकका लागि तपाईं उत्साहित हुनु जरुरी छ ।

२. समय निश्चित गर्नुहोस् ।
पहिलो महत्वपूर्ण कुरा तपाईंले मर्निङ वाकका लागि निश्चित समय छुट्याउनुपर्नेछ । पहिल्यै निर्णय गर्नुहोस्, कति समयका लागि जाँदै हुनुहुन्छ । मर्निङ वाकका लागि ३० मिनेट समय अति उत्तम हो र २० मिनेट रोम्रो हो । मर्निङ वाकका कारण खाना खाने, तयार हुने, नुहाउने र कपडा लगाउने समय पनि प्रभावित हुनुहुँदैन । अन्य काम प्रभावित हुने गरी मर्निङ वाकलाई समय नछुट्याउनुहोस् ।

३. रुट तय गर्नुहोस् ।
यदि तपाईं केही समयका लागि घरवरिपरि नथाकुन्जेल हिँड्ने तयारीमा हुनुहुन्छ भने कुनै तयारी आवश्यक छैन । तर, तपाईं निश्चित दूरी (२–३ माइल) हिँड्ने तयारीमा हुनुहुन्छ भने तपाईंले खेल मैदान, सार्वजनिक पार्कलगायत वाकिङ रुट छान्नुपर्ने हुन्छ ।

४. रुचिअनुसार म्युजिक तयार गर्नुहोस् ।
केही मानिस मर्निङ वाकमा म्युजिक सुन्न मनपराउँछन् । संगीतले ऊर्जा जगाउँछ, काममा उत्प्रेरित गर्छ, बोर हुनबाट जोगाउँछ र सम्पूर्ण व्यायामलाई रमाइलो बनाउँछ । तर, केही मानिस विनासंगीत हिँड्न रुचाउँछनु, ताकि आफ्नो सोचमा एक्लो हुन पाइयोस् र आफ्नो बिहानीलाई आत्मसात् गर्न पाइयोस् । यो तपाईंको रुचिको विषय हो ।

५. पूर्ण आरामको पनि सुनिश्चितता गर्नुहोस् ।
यदि तपाईं हिँडाइलाई आफ्नो दैनिकीको अभिन्न पाटो बनाउन चाहनुहुन्छ भने सामान्य अवस्थामा भन्दा केही छिटो बेडमा जाने वातावरण सुनिश्चित गर्नुहोस् । यदि तपाईं पूर्ण निद्रा सुत्न सक्नुभएन भने मर्निङ वाकलाई निरन्तरता दिन सक्नुहुनेछैन । अपूरो निद्राले अवश्य पनि तपाईंको योजना खलबल्याउनेछ । त्यसैले जति नै व्यस्त दैनिकीमा पनि आधा घण्टा पहिले सुत्न जाने तयारी गर्नुहोस् ।

६. घण्टी (आलार्म) लगाउन नबिर्सनुहोस् ।
आफ्नो आवश्यकताअनुसार आफूसित उपलब्ध यन्त्रमा निर्धारित समयका लागि घण्टी लगाउनुहोस्, ताकि सम्पूर्ण रात तपाईं ढुक्कले सुत्न पाउनुहोस् ।

One thought on “मर्निङ वाक जानुपूर्व….

  1. राम्रो कुरा सेयर काे लागि धन्यबाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय