‘बाल क्यान्सरसम्बन्धी सबै उपचार नेपालमै हुन्छ’

 

क्यान्सर रोग निको हँुदैन भनिन्छ नि ?
यो गलत धारणा हो । अस्पताल आएका बिरामीमध्ये हामीले धेरैलाई उपचार गरेर पठाएको छौँ । ७०–७५ प्रतिशत क्यान्सरका बिरामी कान्ति अस्पतालबाट निको भएर गएका छन् । चौथो स्टेजका बिरामीलाई पनि हामीले निको बनाएर पठाएका छौँ ।

बालक्यान्सर धेरैजसो कति वर्षका बालबालिकालाई लाग्ने गर्छ ?
हामी १४ वर्षसम्मका बालबालिकालाई लिने गर्छौं । नेपालको संविधानअनुसार भोटिङ राइटको उमेर (बालिग) नहोउन्जेल बालबालिका भन्नुपर्ने हुन्छ । सबैभन्दा बढी भने १४ वर्षसम्मका बच्चालाई नै लाग्ने गर्छ । भर्खरै जन्मेको बच्चालाई पनि लाग्छ । २ जन्मदेखि नै क्यान्सर भएको २ महिनाको बच्चाको अहिले यहीँ उपचार हुँदै छ । ३० महिनाको बच्चालाई क्यान्सर भएर ल्याएका पनि छन् । यहाँ धेरैजसो १६ वर्षका पनि आउँछन् । लगातार ३ वर्षसम्म फलो अपमा आइरहन्छन्, हामीले निको बनाएर पठाएका छौँ ।

क्यान्सर लाग्ने कारण के हो ?
क्यान्सर यस्तो रोग हो, जुन हाम्रो शरीरको आकार, तौल, उचाइ, आँखा र कपालको रङ र शरीरका अंगहरूका कामलाई निर्दिष्ट गर्ने हाम्रो शरीरका विभिन्न अंगका कोषहरूमा क्रोमोजोम हुन्छन् । त्यसभित्र पनि जिन हुन्छ र त्यसको समूहमा पनि जिन हुन्छ । त्यो जिन र जिनको समूहले सही निर्देशन दियो भने सही तरिकाको कोष बन्न थाल्छ । कोषहरूको पनि आफ्नो उमेर हुन्छ, यति दिन बाँच्ने भन्ने निश्चित आयु हुन्छ । त्यो अवधि सकिएपछि कोषहरू मर्छन् । त्यो निर्दिष्ट गर्ने कामचाहिँ जिन र जिनको समूहले गर्छ । कथंकदाचित् कुनै कारणले यी जिन वा जिनको समूहमा चोट पुग्न गएमा अथवा क्रोमोजोममा चोट पुग्न गयो भने क्रोमोजोमको टुक्रा अर्कोमा गयो वा टाँसिन गयो वा बिलाएर गयो भने यी क्रोमोजोम, जिन वा जिनको समूहले दिने निर्देशन गलत हुन्छ ।

धेरैजसो क्यान्सर वंशजमा जाँदैन । एउटा पुस्तामा जान्छ तर अर्को पुस्तामा क्यान्सर जाने धेरै कम हुन्छ । तर, यदि कुनै चोट लागेको रहेछ भने जिन वा जिनको समूह वा क्रोमोजोममा चोट पुगेको हुन सक्छ र त्यस्ता चोटहरू वंशजमा जान्छन् ।

रगतमा तीनथरीका रक्तकोष हुन्छन्– रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट्स रक्तकोष । यदि जिनको समूहले रक्तकोष वयष्क हुन नपाउँदै सानो उमेरमै अड्काइदिएर रक्तकोषहरूको संख्या अनियन्त्रित रूपमा बढ्न गयो वा रक्तकोषहरू समयमा मरेनन् भने पनि तिनको संख्या बढ्दै जान्छ र तिनीहरूले शरीरभरि ढाक्छन् । जुन–जुन अंगमा ढाक्छन् र त्यो अंगलाई काम गर्न दिँदैनन्, मुख्य क्यान्सरको असर नै यही हो । प्रमुखचाहिँ जिन वा जिनको समूह वा क्रोमोजोममा चोटका कारण क्यान्सर विकसित हुन्छ । यो चोट पुर्याउने तत्व विभिन्न हुन्छन् । जस्तै, प्रदूषित वातावरण, कीटनाशक औषधिको अत्यधिक प्रयोग, औषधिको अत्यधिक प्रयोग, खानेकुरा वा फलफुलमा रासायनिक पदार्थको प्रयोग, यी सबै केमिकल हुन्, यिनीहरूले भित्र गएर हाम्रो शरीरको कोषमा भएका क्रोमोजोम, जिन वा जिनको समूहलाई चोट पुर्याउँछन् । यसले गर्दा यी जिन वा क्रोमोजोमले राम्ररी काम गर्न सक्दैनन् । यिनीहरूले दिएको निर्देशन गलत हुन्छ । गलतखालका कोषहरू उत्पन्न हुन थाल्छन् । अनियन्त्रित रूपमा यी कोषको संख्या बढ्न थाल्छन् र सानै उमेरमा यिनीहरू अड्केका हुन्छन् र वयष्कका रूपमा काम गर्ने हुँदैनन् । यिनीहरूले क्षमताअनुसार काम गर्न सक्दैनन् । त्यसले गर्दा बिस्तारै–बिस्तारै सबै अङ्गहरूलाई ढाकेर मल्टी अङ्ग फेलियर हुन्छन् । मल्टी अर्गान फेलियर भएर बिरामी बित्छन् । ठाउँ–ठाउँबाट मल्टी अर्गन फेलियर भएर रक्तस्राव हुन्छ वा विभिन्नखालको संक्रमण भएर बिरामीको मृत्यु हुन्छ ।

जन्मँदैको बच्चालाई आमाको जिनको कारणले क्यान्सर लाग्छ कि पछि बच्चाको जिन विकास भएर ?
धेरैजसो क्यान्सर वंशजमा जाँदैन । एउटा पुस्तामा जान्छ तर अर्को पुस्तामा क्यान्सर जाने धेरै कम हुन्छ । तर, यदि कुनै चोट लागेको रहेछ भने जिन वा जिनको समूह वा क्रोमोजोममा चोट पुगेको हुन सक्छ र त्यस्ता चोटहरू वंशजमा जान्छन् । कुनै–कुनै क्यान्सर भने केही हदसम्म वंशजमा जान्छन् । जस्तै, मांसपेशीको क्यान्सर, आन्द्राका क्यान्सरहरू, हड्डीका क्यान्सरहरू, ब्रेनका क्यान्सरजस्ता एउटै समूहका कतिपय क्यान्सरहरू वंशजमा जाने हुन्छन् । धेरैजसो क्यान्सर वंशजमा जाँदैनन् । आमालाई क्यान्सर भयो भन्दैमा बच्चालाई क्यान्सर हुँदैन । तर, आमाको बिग्रेको जिन भने केही हदसम्म बच्चामा जाने गर्छ । तर, बच्चाको शरीर यदि विद्वान् छ कि उसले नराम्रोखालको जिनलाई छानेर मात्र लिने गर्छ । जिनमा पुगेको चोटलाई शरीरले आफैँ मर्मत गर्न सक्छ । मर्मत गर्ने हुनाले क्यान्सर विकासित हुन एकदम गाह्रो हुन्छ । क्यान्सर हुनका लागि कुनै–कुनै क्यान्सरमा करिब १६–१७ पटक चोट पुगेको हुनुपर्छ । कुनै–कुनैमा ५०औँपटक चोट पुगेपछि मात्र क्यान्सर हुन्छ । विभिन्न रासायनिक तत्व, औषधि, विकिरणले पनि, जिन वा जिनको समूह वा क्रोमोजोममा चोट पुर्याउन सक्छ, त्यसका कारणले मात्र क्यान्सर विकसित हुन्छ । जस्तै, हिरोसिमा, इचिनेबोलमा चाहिँ अटोमिक प्लानमा दुर्घटना भयो, जसले अहिलेसम्म पनि पुस्तौँपुस्तासम्म क्यान्सर देखिएको छ । त्यो किन भने, त्यहाँ जिनमा ठूलो चोट परेका कारण यस्तो भएको हो र वंशजमा गएका कारण समस्या भएको हो ।

आमाको जिनको कारणले बच्चामा जिन सरेर क्यान्सर लाग्छ कि लाग्दैन ?
कुनै–कुनै क्यान्सरको हकमा, यदि आमाले धेरै मात्रामा एक्स रे गरेको, विकिरणमा एक्सपोज भएको, रासायनिक पदार्थ, गर्भावस्थामा विभिन्नखाले औषधिको प्रयोग, कीटनाशक औषधि भएको खानेकुरा वा रासायनिक पदार्थको प्रयोग गरेका खानेकुरा बढी प्रयोग गरेमा पनि जिनहरूमा चोट पुगेको रहेछ भने आमाको शरीरको जिनले पनि मर्मत त गर्छ, तर सबै मर्मत गर्न नसक्दा केही हदसम्म बच्चाको शरीरमा जान्छ । तर, बच्चाको शरीरले पनि मर्मत गरिरहेको हुन्छ । जिनमा एकपटक मात्र चोट पुर्याएर मात्र क्यान्सर हुँदैन, बारम्बार चोट पुर्याएको हुनुपर्छ, १५–२० पटक चोट पुर्याएपछि बल्ल त्यो जिन थकित भएर आफूले मर्मत गर्न नसकेपछि गलतखालको सेल बनाउन थाल्छ ।

बालबालिकालाई कस्तो प्रकारका क्यान्सर लाग्ने गर्छन् ?
बालबालिकामा धेरैजसो लाग्ने भनेको ब्लड क्यान्सर नै हो, जसलाई हामी ल्युकिमियाज भन्ने गर्छौैैं । त्यसमा पनि अकिटल्मफोप्लास्टिक ल्युकिमियाज भएको बढी भेटिएको छ । ब्लड क्यान्सरमा एएलएलएएमएल किटइम्फोलिया, किटमाइलोफिया, बोर्न अफ सफ्टट्युमर क्यान्सर र्यापदोयुमा सरकुमा, इयु सर्कुमा, हड्डीको क्यान्सर, ओस्टिक सार्कुमा, मिर्गौलाको क्यान्सर, रिनल ट्युमर, कलेजोको क्यान्सर, लिभरको ट्युमर, आर्सिनोमा भन्ने क्यान्सर हुन्छन् । हिजोआजचाहिँ ब्रेन ट्युमर पनि बढी मात्रामा देखिने गरेको छ । मेजोलुस्टायामा ट्युमर, ग्यालोमाजको ट्युमर, जमसेल ट्युमर, ब्रेनमा हुने, एपेनडायोमा हुने वा सबैभन्दा बढी युकेमेजिया हुन्छ, त्यसपछि सिएस ट्युमर र बोन एन्ड सप्सिट्युमर र लिम्फोमाज, युन एन लिम्फोमाज, वेस्टी सारमाफाओ, लिबर ट्युमरको क्यान्सर र किड्नीको क्यान्सर नै बढी मात्रामा देखिने गर्छन् ।

साधारणतया हाम्रो शरीरमा ४००० देखि ११००० सम्म सेतो रक्तकोष हुनुपर्नेमा रोगीमा ४० हजार, २ लाख, ९ लाखसम्म मैले देखेको छु । १ मिलिलिटरमा ९ लाख सेतो रक्तकोष पनि देखेको पनि छु ।

ल्युकिमियाज भनेको कस्तो क्यान्सर हो ?
यो सेतो रक्तकोषको क्यान्सर हो । जिन वा जिनको समूहलाई चोट पुग्न गएपछि तिनीहरूद्वारा र्निदिष्ट सेतो रक्तकोषहरू बढ्न पाएनन् र सानै उमेरमा अड्के भने अनियन्त्रित भएर एकदमै विकराल रूपमा उनीहरूको संख्या बढ्न जान्छ । समयमा मर्नुपर्ने यी रक्तकोषहरू मरेनन् भने सानै उमेरमा त्यहीँ अड्केर बस्छन् र अनियन्त्रित रूपमा बढ्न थाल्छन् । साधारणतया हाम्रो शरीरमा ४००० देखि ११००० सम्म सेतो रक्तकोष हुनुपर्नेमा रोगीमा ४० हजार, २ लाख, ९ लाखसम्म मैले देखेको छु । १ मिलिलिटरमा ९ लाख सेतो रक्तकोष पनि देखेको पनि छु । त्यसो हुँदा के हुन्छ भने, रगत त तरलपदार्थ हो नि, बग्नु पर्यो नि ! यति धेरै रक्तकोष भएपछि रगत बाक्लो हुन्छ र अलकत्रा बगेजस्तो गरी बग्न थाल्छ, बिस्तारै बग्छ । रगत जताततै जाने भएकाले सबै अंगलाई असर पार्छ, ब्रेनमा पनि जान सक्छ । ब्रेनमा गयो भने टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने, काँप्ने, कहिलेकाहीँ खुट्टा नचल्ने पनि हुन्छ ।

कहिलेकाहीँ बच्चाको ज्यानै पनि जान सक्छ । रगत रोकिँदै बिस्तारै बग्ने भएकाले रक्तनली पनि फुट्छ, फुट्दा ठाउँ–ठाउँमा रगत बग्ने गर्छ । नाकबाट रगत जान सक्छ, छालाबाट पनि रगत जान सक्छ । दिसा–पिसाबमा रगत जान सक्छ । अरू भित्री अङगबाट रगत बग्न सक्छ । अनियन्त्रित रूपमा रगत बढेका कारण फोक्सोमा फैलियो भने निमोनिया हुने, खोकी लाग्ने हुन्छ र डाक्टरले एन्टिबायोटिक दिन्छन् । फेरि हनहन्ती ज्वरो आउँछ । धेरैपटक ज्वरो आउने, रगत कम भएर जाने, ठाउँठाउँबाट रगत बग्ने, बच्चा एकदम आलस्य हुने, तौल घटेर जाने, शरीरका विभिन्न ठाउँमा गिर्खा आउने, आँखा कम देख्ने, आँखामा सेता दागहरू देखिने, आँखा सुन्निएर आउने, पेट दुख्ने, पेटमा मांसपेशीमा डल्लाहरू आउने, साधारणतया नर्मल व्यक्ति १–२ दिनमा व्यक्ति हिँड्दा लरबराएर हिँड्ने, बेहोस हुने, काम्ने, जहिल्यै ज्वरो आइरहने, शरीर सेतो भएर जानेजस्ता लक्षणहरू देखियो भने हामी तुरुन्त डक्टरकोमा जानुपर्छ ।

ब्लड क्यान्सरको हकमा चाहिँ सेतो रक्तकोष वयष्क भएका हुँदैनन् र अनगिन्ती संख्या बढेकाले राम्ररी काम गर्न सक्दैनन् ।

सेतो रक्तकोषको क्यान्सर शरीरभरि फैलने हुन्छ र बोनम्यारोको रातो रक्तकोष, सेतो रक्तकोष, प्लेटलेट्स रक्तकोष बढाउने हो भने रातो रक्तकोषले अक्सिजनलाई विभिन्न भागमा लैजान्छ । प्लेटलेट्सले शरीरमा कहीँ पनि रगत बग्न नदिएर रगत जमाउने काम गर्छ भने प्लेटलेट्सको रातो रक्तकोष कम भयो भने शरीर सेतो भएर जान्छ । शरीरका विभिन्न भागमा अक्सिजन पुर्याउन सक्दैन । प्लेटलेट्सको कमी मात्र भयो भने पनि ठाउँ–ठाउँबाट रगत बग्न थाल्छ । राता–राता छिर्का आउने, बोक्सीले चुसेको भन्छौँ नि हामी, निला निला डामहरू आउने, नाकबाट रगत जाने, दिसा–पिसाबमा रगत जाने र भित्री अंगमा रगत बग्ने हुन्छ । सेतो रक्तकोष हाम्रो शरीरका सिपाही हुन् । शरीरमा पसेको जुनसुकै रोगविरुद्ध लड्ने काम सेतो रक्तकोषले गर्छ । तर, ब्लड क्यान्सरको हकमा चाहिँ सेतो रक्तकोष वयष्क भएका हुँदैनन् र अनगिन्ती संख्या बढेकाले राम्ररी काम गर्न सक्दैनन् । बोनम्यारोमा पनि फैलिएर बोनम्यारोलाई राम्रोखालको रक्तकोष बनाउन दिँदैनन्, आफू पनि रोगसँग लड्न सक्दैनन्, जसका कारण बालबालिकामा जहिले पनि ज्वरो आइरहने, खोकी लाग्ने, निमोनिया, पिसाबको असर, मेनेन्जाइटिस, इन्सेफलाइटिस हुने लगायत विभिन्नखालका संक्रामक रोग लागिरहने हुन्छ ।

ठूला मान्छेले चुरोट, ड्रग्स, अल्कोहल बढी मात्रामा प्रयोग गर्छन्, यी सबै केमिकल हुन्, जसले नजिकै बस्ने बच्चालाई असर गर्छ । बच्चा छेउमा बसेको हुन्छ, चुरोटको धुवाँ उँडाइरहेको हुन्छ, झन् बच्चाको मुखमै फुकिरहेको हुन्छ नि, यो प्यासिभ स्मोकिङ एकदमै भयानक हो ।

बच्चालाई रोग लाग्न नदिन आमा कत्तिको सचेत हुनुपर्छ ?
एकदमै, सचेत के अर्थमा हुनुपर्छ भने आमाले गर्भावस्थामा प्रदूषित खानेकुरा खानुभएन । रासायनिक पदार्थ तथा कीटनाशक औषधिको प्रयोग भएका फलफूल, तरकारी, खाद्यान्न तथा अन्य मिसावटयुक्त पदार्थ खानु भएन । विकिरणहरूमा आफूलाई बढी एक्सपोज गर्नुभएन, धेरै मात्रामा एक्स–रे, सिटी स्क्यान गर्नुभएन । फ्याक्ट्री भएका स्थानबाट हानिकारक पदार्थ निस्कने भएकाले त्यस्ता ठाउँबाट सदा टाढा बस्नुपर्छ । फ्याक्ट्रीबाट विकिरणहरू पैदा भइरहेका हुन्छन् जसले जिन र क्रोमोजोमलाई असर पार्छ । बढी मात्रामा औषधि पनि खानुभएन । औषधि रासायनिक तत्व हुन्, जसले केही मात्रामा रोग निको पारे पनि साइड इफेक्ट गरिरहेका हुन्छन् र जिनलाई चोट पुर्याउँछन् । जिनमा चोट पुग्यो भने बच्चालाई सर्न सक्छ । रासायनिक पदार्थ पनि भ्रूण अवस्थामा भएको बच्चाको शरीरमा पनि जान्छ जिनमा चोट पुगेपछि बच्चालाई क्यान्सर हुन जान्छ ।
ठूला मान्छेले चुरोट, ड्रग्स, अल्कोहल बढी मात्रामा प्रयोग गर्छन्, यी सबै केमिकल हुन्, जसले नजिकै बस्ने बच्चालाई असर गर्छ । बच्चा छेउमा बसेको हुन्छ, चुरोटको धुवाँ उँडाइरहेको हुन्छ, झन् बच्चाको मुखमै फुकिरहेको हुन्छ नि, यो प्यासिभ स्मोकिङ एकदमै भयानक हो । बरु एक्टिभ स्मोकिङ गर्दा अलिअलि छानिएर केही मात्रामा फोक्सोमा जान्छ, फोक्सोको क्यान्सर विकसित भएर जान्छ । तर, बच्चानजिकै बसेर चुरोट खाँदा, मुखबाट नराम्रोखालको विषालु तत्वहरू निस्कन्छन्, त्यसले बच्चालाई नराम्रो चोट पुर्याउँछ । अल्कोहलपान गर्नेको श्रीमतीको शरीरमा पनि चोट लागिरहेको हुन्छ र क्रोमोजोममा चोट पुगिरहेको हुन्छ र त्यही अल्कोहल बच्चामा पनि गइरहेको हुन्छ । त्यो रासायनिक तत्वले बच्चाको शरीरमा जिन वा जिनको समूह वा क्रोमोजोममा चोट पुर्याएको हुन्छ । त्यसबाट पनि बच्चामा क्यान्सर विकसित हुन सक्छ ।

कान्ति बाल अस्पतालमा बालक्यान्सरको उपचार कत्तिको सम्भव छ ?
कान्ति बाल अस्पतालमा हामी ब्लड क्यान्सरदेखि ब्रेन ट्युमरसम्म सबैको उपचार गर्छौं । धेरैजसो क्यान्सरको उपचारमा हामी सफल नै छौँ । हामीले उपचार गर्दा धेरैजसो बच्चालाई निको भएको छ । यहाँ हामी क्यान्सरको उपचारका क्रममा औषधि वा केमोथेरापी मात्र उपचारको विकल्प होइन, यसमा मल्टिमोडालिटी उपचार गनुपर्छ भन्छौँ । यसमा हामीलाई सबैको सहयोग चाहिन्छ । सर्जनको पनि सहयोग चाहिन्छ, निश्चित अवधिमा अप्रेसन गर्नुपर्ने हुन्छ । अर्कोचाहिँ रेडियोथेरापी भन्छौँ हामीले, विकिरणले बाँकी रहेको ट्युमरलाई पगाल्ने, त्यो पनि दिनुपर्ने हुन्छ । अरू विषयका डाक्टर पनि आवश्यक पर्छ, जस्तो मुटुको उपचार गर्नुपर्ने हुन्छ अथवा यसले डायबिटिज विकास गर्न सक्छ ।

एन्ड्रोकोनोलोजिस्ट पनि चाहिन सक्छ, फोक्सो, मिर्गौलालगायतमा पनि असर पार्न सक्छ । यी सबै विषयका डक्टरसँग हामीले समन्वय गर्नुपर्छ । नर्सिङ स्टाफ त झन् महत्वपूर्ण हुन्छ । हामीले औषधि लेखिदिन्छौँ, मुख्य २४ घण्टा बस्ने भनेको त नर्सहरू नै हो । साधारणतया बच्चामा क्यान्सरको उपचार नै मुख्य उपचार हो । उपचारका क्रममा औषधिको साइड इफेक्टका कारण होस् वा बच्चा कमजोर भएर होस्, बच्चामा देखापर्ने अरू समस्यालाई नियन्त्रित गर्न हामीले विभिन्नखाले अन्य उपचार गर्नुपर्ने हुन्छ । एउटाचाहिँ मल्टिमोडालिटी हुन्छ, किमोथेरापी, रेडियोथेरापी सर्जरी, यी तीनैखाले हुन्छन् । कुनैमा केमोथेरापी मात्र दिए पुग्छ भने कुनैमा यी तीनैवटा मोडालिटी प्रयोग गर्नुपर्ने हुन्छ । हामीकहाँ बढी कुपोषणबाट प्रभावित भएर आएको पाइएको छ । धेरैजसो तौल कम भएका बालबालिका आउने गर्छन् । उनीहरूको रोगहरूसँग लड्ने क्षमता कम हुन्छ । त्यसमाथि अझ ब्लड क्यान्सर भयो भने त सेतो रक्तकोषहरूले रोगसँग लड्ने क्षमता न्यून हुन्छ । त्यसले गर्दा बालबालिकामा संक्रमक बढी देखिन्छ । संक्रमक भनेको चाहे जीवाणुले होस् वा कीटाणुले, झ्याउहरूले होस् वा प्रोटोजोवाले, उनीहरूमा एचआइभी हुन सक्छ । मलेरिया, निमोनिया, झाडापखाला, पिसाब इन्फिक्सेन, ब्रेनको इन्फिेक्सन तथा अरूखालका नसर्ने रोगहरू (डायबिटिज, मिर्गौलाको रोगलगायत) हुन सक्छन् । रेनल फेलियरमा जान सक्छन्, टनी गेलियर फेलियर पनि भन्छौँ हामी, यी सब बालबालिकामा क्यान्सरको उपचारका क्रममा हुन सक्छन् ।

क्यान्सरका स्टेजबारे केही बताइदिनुस् न ?
सामान्यतया ब्लड क्यान्सरमा स्टेज भन्ने हुँदैन । ब्लड जताततै फैलने भएकाले सुरुमै क्यान्सर फैलिसकेको हुन्छ । तर, अरू सलिड ट्युमरहरू ब्रेन ट्युमर, मांसपेशीको ट्युमर, हड्डी, कलेजो, मिर्गौला, लिम्फोमाजलगायतको ट्युमर, यिनीहरूलाई चाहिँ हामी स्टेजिङ गर्छौं । स्टेजिङ भनेको के हो भने जुन ठाउँमा क्यान्सर भयो, त्यहीँ ठाउँमा छ भने त्यो पहिलो स्टेजको क्यान्सर हो । नजिकका लिम्फुडहरूमा फैलियो भने त्यसलाई दोस्रो स्टेज भनिन्छ । अलिक टाढा, लिम्फोमाको हकमा छाती र पेटको बीच भागमा डायफ्रान भन्ने एउटा झिल्ली हुन्छ, त्यसको दुईतिर फैलियो भने त्यसलाई तेस्रो स्टेज भनिन्छ । टाढा–टाढासम्म फैलिएको, जस्तो कि ब्रेनमा फैलिएको होस् अथवा बोनम्यारोमा जहाँबाट रगत बनेको हुुन्छ, अथवा खुट्टाको क्यान्सर छाती वा फोक्सोमा फैलिएको होस्, यस्तो अवस्थालाई चौथो स्टेज भनिन्छ । कुनै–कुनै क्यान्सरमा हामी पाँचौँ स्टेजको क्यान्सर पनि भन्छौँ, जस्तै ः दुईवटै मिर्गौलामा क्यान्सर भयो भने त्यसलाई पाँचौँ स्टेजको क्यान्सर भनिन्छ । अरू क्यान्सरको हकमा भने चौथो स्टेजको क्यान्सर नै लास्ट हो । क्यान्सर चौथो स्टेजमा पुगेकालाई बचाउन अलिक गाह्रो नै पर्छ । तर, कतिपय अवस्थामा हामीले निको बनाएर पनि पठाएका छौँ । पहिलो स्टेज र दोस्रो स्टेजको क्यान्सर निको पार्न सजिलो हुन्छ । हामीले एकदम हल्का केमोथेरापी दिएर, सर्जरी गरेर वा आवश्यक परेमा रेडियोथेरापी दिएर निको पार्न सकिन्छ । तेस्रो र चौथो स्टेजको क्यान्सर भने एकदम गाह्रो हुन्छ । औषधि पनि एकदम कडा–कडा प्रयोग गर्नुपर्ने हुन्छ । त्यसको साइड इफेक्ट पनि कडा हुन्छ र बच्चा बाँच्ने सम्भावना पनि कम हुन्छ । चौथो स्टेजको क्यान्सर भएका बालबालिका २५ प्रतिशत बाँच्ने सम्भावना हुन्छ ।

क्यान्सर हुने कारण धेरैजसो, ब्लड क्यान्सरको कुरा गर्ने हो भने अथवा स्टिम सेल, ल्युकिमेनस सेल्सको कुरा गर्ने हो भने पनि यिनीहरू विकृत भएका हुन्छन्, अनि जिन वा क्रोमोजोमको समूहमा चोट पुग्न गयो भने स्टिम सेलहरू डिफ्रेन्सियट हुन सकेनन् ।

पाँचौँ स्टेजको क्यान्सर निको हुने सम्भावना कत्तिको हुन्छ ?
पाँचौँ स्टेजको पनि निको भएको छ । हामीले उपचार गरेका थियौँ । केमोथेरापी दिएका थियौँ । एकजना सर्जन डक्टर हुनुहुन्थ्यो रामनन्दन चौधरी, उहाँले अप्रेसन गर्नुभयो, फेरि मैले औषधि दिएँ, उसलाई केमोथेरापी पनि दियौँ । त्यो धनगढीको बच्चा थियो, २ वर्षको । उसको पाँचौँ स्टेजको क्यान्सर निको भएको थियो र ऊ अहिले स्कुल गइरहेको छ । मानिसको धारणा मात्र गलत हो, धेरैजसो क्यान्सर निको हुन्छन् । हामीकहाँ समयमा आयो भने निको बनाएर पठाउँछौँ । तर, सबैले मिहिनेत गर्नुपर्छ, विशेषगरी आमाबाबुले मज्जाले मिहिनेत गर्नुपर्छ । बच्चाले औषधि खाएन भनेर हामीलाई भनेर त काम लाग्दैन । औषधि खाएको खण्डमा बच्चा तन्दुरुस्त हुन्छ र बच्चालाई रोगसँग लड्ने क्षमता पनि प्राप्त हुन्छ । उपचारमा आमाबुबाको सहयोग भयो भने अवश्य हामी बचाउन सक्छौँ, निको भएर जान्छ ।

कान्ति बाल अस्पतालमा कुन स्टेजको क्यान्सर लिएर बढी बिरामी आउँछन् ?
धेरैजसो दोस्रो र तेस्रो स्टेजका बिरामी आउँछन् । कुनै–कुनै मात्र अलिक छिटो आउँछन् । प्रायः दोस्रो र तेस्रो स्टेजमा आउँछन् । सबैभन्दा बढीचाहिँ तेस्रो स्टेजका आउँछन् । चौथो स्टेजमा पुगेर त कम बिरामी आउने हुन्छन्, लगभग बित्ने नै हुन्छन् । अज्ञानताका कारण धेरैजसो बिरामी घुमेकोघुम्यै हुन्छन्, एउटा डाक्टरबाट अर्कोको । घुम्दाघुम्दै ज्यान गइसक्छ, या त उपचार नलाग्ने अवस्थामा पुगिसकेको हुन्छ ।

यहाँ उपचार हुन नसक्ने अवस्थामा बिरामीलाई बाहिर कहाँ–कहाँ पठाउनुहुन्छ ?
मैले चाहिँ रेफर गर्ने गरेको छैन । मैले उपचारका क्रममा बिरामीको बोनम्यारो ट्रान्सप्लान्टेसन्ट गर्नुपर्ने अवस्था आयो भने मात्र बाहिर रेफर गर्ने गरेको छु । बाहिर भन्नाले, अहिलेचाहिँ सिभिल अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट सुरु भयो, नेपालको परिवेशमा बोनम्यारो ट्रान्सप्लान्टेसन सम्भव नहुँदा मैले इन्डिया पठाउने गरेको छुु । कतिपय बिरामीलाई सल्लाहसुझाब दिन्थेँ– यो बिरामीको उपचार भनेको बोनम्यारो ट्रान्सप्लान्ट नै हो । धेरैजसो चौथो स्टेजको क्यान्सरलाई इन्डिया पठाउने गरिन्छ । हाई रिस्कको ब्लड
क्यान्सरका बिरामी आउँछन्, चौथो स्टेजका बिरामीलाई क्यान्सर फर्केर पनि आउने गरेको छ ।

बोनम्यारो ट्रान्सप्लान्टेसन भनेको ?
बोनम्यारो ट्रान्सप्लान्टेसन भनेको एउटा उपचारविधि हो । कुनै–कुनै क्यान्सरको उपचारका हकमा यो विधि उपयोग हुन्छ । हाम्रो शरीर मुख्यतः बाबु–आमाको बिउमा भएको एउटा सेलबाट दुईवटा र दुईवटाबाट चारवटा, आठवटा, १६, ३२, ६४ हुँदै गएर शरीरका विभिन्न अंग बन्छन् । सुरुको अवस्थालाई सेल्स स्टेम्प्सन भनिन्छ । सेल्स स्टेम्प्सने आफैँ नवीकरण गर्न सक्छ र अरूबाट पनि बनाउन सक्छ भने स्टिम सेल्सचाहिँ विभिन्न तन्तु वा फरकखालका कोषमा डिफिरियन्ट सेट हुन सक्छ । कतिपय अवस्थामा परिवर्तन हुन सक्छ । जस्तै, रगतका कोषहरू, मुटु, कलेजो, फोक्सो, यिनीहरू बढ्न डिफ्रेन्सिटबाट परिवर्तन भएर मुटु बढ्ने हो सेम सेल्सबाट परिवर्तन भएर सेतो, रातो, प्लेटलेट्स रक्तकोष बन्छन् भने यो स्टिम सेल्सचाहिँ नियन्त्रित रूपमा यसको डिफ्रसियन्सनबाट परिवर्तन हुँदै गएर विभिन्न अंग, कोषिका अथवा तन्तुहरू बढ्ने हो भने यसको संख्या अनगिन्ती बढ्ने भएकाले नै स्टिम सेलको कारणले नै हो ।

क्यान्सर हुने कारण धेरैजसो, ब्लड क्यान्सरको कुरा गर्ने हो भने अथवा स्टिम सेल, ल्युकिमेनस सेल्सको कुरा गर्ने हो भने पनि यिनीहरू विकृत भएका हुन्छन्, अनि जिन वा क्रोमोजोमको समूहमा चोट पुग्न गयो भने स्टिम सेलहरू डिफ्रेन्सियट हुन सकेनन् । अरू अङ्गहरू, कोषिकाहरूमा परिवर्तन हुन सकेनन्, एउटैखालका कोषिकाको संख्या अनियन्त्रित रूपमा बढ्न थाल्यो । त्यसले गर्दा ब्लड क्यान्सरका सेल्सहरू बढ्न थालेर सेतो रक्तकोषहरू विकास भए । तन्तुहरूमा विभिन्नखालका मांसपेशीका क्यान्सर, मिर्गौलाको क्यान्सरमा सानो उमेरमा अड्किएको जुन साना कोषहरू छन्, ती अनियन्त्रित रूपमा बढ्दै गए । यसैका आधारमा हामीले बोनम्यारोविधिबाट यही स्टिम सेलबाट, स्टिम सेलहरू (सिडी ३४) बोन म्यारोमा पनि हुन्छन्, रगतमा पनि र अरू अंगमा पनि हुन्छन्, ती स्टिम सेलहरूलाई छुट्याएर हामीले खेतलाई पूरै सफा गरी धान रोपेजस्तै गरी शरीरको बोनम्यारोमा जहाँ–जहाँ रक्तकोषका ग्रन्थि बन्छन् ती ठाउँ पूर्ण रूपले सफा गरेर रगतमा वा बोनम्यारोमा भएको सिडी ३४ सेल्सहरू निकालेर फालिदने हो । त्यो नराम्रो रगत फालिदिएर राम्रोखालको सेम सेल हालिदिएपछि त्यसबाट नयाँ आउने कोषिकाहरू राम्रोखालकै बन्छन् भन्ने हाम्रो धारणा हो । त्यसहिसाबले गरिने स्टिम सेल्स ट्रान्सप्लान्टेसनलाई बोनम्यारो ट्रान्सप्लान्टेसन भनिन्छ । बोनम्यारोबाट सिडी ३४ सेलहरू निकाल्ने काम नै बोनम्यारो ट्रान्सप्लान्टेसन हो ।

ब्लड क्यान्सर न्यूनीकरणका लागि के गर्नुपर्छ ?
सबैभन्दा पहिले जिन वा जिनको समूह वा क्रोमोजोमलाई चोट पुर्याउने तत्वहरूलाई नियन्त्रण गर्नुपर्छ । त्यो भनेको मिसावटयुक्त र कीटनाशक औषधि प्रयोग भएको खानेकुरा नखाने, विकिरणमा एक्सपोज हुने काम घटाउने हो । यससँगै क्यान्सरसम्बन्धी चेतनामूलक कार्यक्रम गर्नुपर्यो । हामीले क्यान्सरलाई पहिलो चरणमै समात्न सक्यौँ भने पूर्ण रूपमा हटाउन सक्छौँ । आवश्यक परेको खण्डमा हामीले सेम सेल्स ट्रान्सप्लान्ट गरिदियौँ भने बच्चा पूरा सामान्य जीवनमा फर्किन थाल्छ । सामान्य भयो भने अर्को जन्मने बच्चामा क्यान्सर फैलँदैन । त्यसैले हामीले जनचेतनामूलक कार्यक्रम चलाउनुपर्यो । प्रिभेन्टली मेजर, जस्तै ः चुरोट, रक्सी, ड्रग्स नियन्त्रण, जंक फुड्सको असरबारे चेतना, रासायनिक पदार्थ, विकिरण, हाइटेन्सनको लाइनबाट टाढा बस्ने, मोबाइल बढी प्रयोग नगर्ने गर्नुपर्छ । मोबाइलका कारण चिन्ता बढ्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने हुन्छ, जसले पनि क्यान्सर निम्तिने गर्छ ।

क्यान्सर कस्तो प्रकारको रोग हो ?
क्यान्सर अहिले नेपालमा मात्र नभएर संसारभरि नै विकराल रूपमा फैलिरहेको छ । बालक्यान्सरको हकमा विकसित देशहरू, जहाँ संक्रामक रोगहरू र कुपोषण नियन्त्रणमा आइसकेका छन्, त्यहाँ पनि दुर्घटनापछि दोस्रोमा क्यान्सरबाटै बालबालिकाको बढी मृत्यु हुने गरेको छ ।

ठूलो मान्छे र बच्चामा हुने क्यान्सरमा के फरक छ ?
सामान्यतया फरक के हो भने, बालबालिकामा क्यान्सर हुने कारण मैले भनेँ, जिन वा क्रोमोजोममा चोट पुगेका कारणले हुन्छ । ठूलो मान्छेको हकमा जिन वा क्रोमोजोमको चोट मात्र नभएर उनीहरूले बाँचेको जीवनशैलीजन्य कारणले पनि हुन्छ । जस्तै, चुरोट धेरै खाने मान्छेमा लङ क्यान्सर बढी हुन्छ । महिलामा स्तन क्यान्सर हुने गर्छ । अल्कोहल बढी खानेमा कलेजोको क्यान्सर बढी हुन्छ । ठूलो मान्छेमा वातावरणले बढी असर पार्छ, जुन बालबालिकाको हकमा कम हुन्छ । त्यसैले गर्दा बालबालिकाको क्यान्सर चाँडो निको हुन्छ । ठूलो मान्छेमा चोट धेरै भइसकेको हुन्छ र चोट पुर्याउने तत्वहरू पनि बढी नै सक्रिय भइसकेका हुन्छन्, जसले गर्दा निको पार्न धेरै गाह्रो हुन्छ । ठूलो मान्छेको हकमा ५ वर्ष बचाउन सक्दा पनि गर्व हुन्छ भने बालबालिकामा क्यान्सर निको भएपछि उनीहरू ६०–७० वर्षसम्म बाँच्छन् र सफल जीवनयापन गर्न सक्षम हुन्छन् ।

(प्रस्तुतिः अतिन आचार्य)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय