अर्घाखाँँचीवासीको आयु बढी प्यूठानीको कम

हेल्थपोस्ट नेपाल
अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नं ८ काफलखर्क गाउँमा गफिदै गरेका स्थानीय पाका

प्रदेश नं. ५ मा सबैभन्दा बढी आयु अर्घाखाँचीका मानिसको रहेको देखिएको छ । प्रदेशका १२ जिल्ला रहेकोमा कम आयु भने प्यूठानको रहेको सरकारी तथ्यांकले देखाएको छ । मानव विकास प्रतिवेदनलाई उल्लेख गर्दै प्रदेश नं. ५ सरकारले जारी गरेको स्थितीपत्रमा यो बिषय देखाइएको छ ।

स्थितीपत्रका अनुसार अर्घाखाँचीका मानिसको औसत आयू ६८ दशमबल ५६ वर्ष छ । यो १२ जिल्लाका मानिसहरु मध्ये सबैभन्दा बढी आयु हो । यस प्रदेशमा कम औसत आयू भएको जिल्लामा प्यूठान रहेको छ जहाँको औसत आयु ६४ वर्ष छ ।

रुपन्देही, पाल्पा, गुल्मी, रुकुम, बाँके जिल्लाको औसत आयु ६८ वर्षको हाराहारी रहेको देखाएको छ । त्यसपछिको कम औसत आयु रोल्पा जिल्लाको ६६ वर्ष छ । अन्य जिल्लाहरुको औसत आयुबीच त्यति भिन्नता छैन । विकास प्रतिवेदन २०१४ मा जिल्लागत औसत आयूको तथ्यांकका आधारमा यस प्रदेशको अपेक्षित आयू ६७ वर्ष हाराहारी छ । जुन नेपालको अपेक्षित औसत ६८ दशमलब ८ वर्ष भन्दा केही कम हो ।

डा. उमाशंकर चौधरी, प्रमुख, स्वास्थ्य महाशाखा, सामाजिक विकास मन्त्रालय, प्रदेश नं. ५

प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले सरकारको अध्ययनले अर्घाखाँचीको मानिसको आयु बढी देखिएको बताए । यद्यपी यो तथ्यांक प्रदेश सरकारको भने नभएको उनको भनाई छ । प्रदेशले आफै तथ्यांक लिइनसकेको हँदा स्वास्थ्यको प्रदेश योजना बनाउन नेपाल सरकारले गरेका सर्वेक्षण र अध्ययनलाई स्रोतको रुपमा लिइएको बताए । योजना बनाउनका लागि नेपाल सरकारकै तथ्यांकलाई आधार लिइएको हो चौधरीले भने, ‘हाम्रो सयन्त्र बनेपछि यस्ता सर्वेक्षण र अध्ययन प्रदेश सरकारले पनि गर्छ ।’ मानव विकास प्रतिवेदन मात्र नभई नेपाल डेमोग्राफिक हेल्थ सर्भे, २०६८, स्वास्थ्यका बार्षिक प्रतिवेदनलाई पनि मन्त्रालयले स्वास्थ्यको योजनाका लागि आधार मानिएको डा. चौधरीले जानकारी दिए ।

यसैगरी स्थितिपत्रमा कोरा मृत्युदर प्रतिहजारमा पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान जिल्लामा ९ भन्दा बढी रहेको छ । यो दर सबभन्दा कम रुकुममा ६ दशमलब ११ रहेको छ । बाल मृत्युदर भने बर्दियामा सबै भन्दा बढी ५८ जना प्रति हजार जन्ममा रहेको छ । रोल्पा र प्यूठानमा पनि बाल मृत्यु दर ५० भन्दा माथि छ । यस प्रदेशमा सवभन्दा कम बाल मृत्युदर पाल्पामा १९ छ । यस जिल्लाको कोरा मृत्युदर ७ दशमलब २७ जना प्रतिहजार र बाल मृत्यु दर ४१ दशमलब ०४ जना रहेको छ ।

स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७२/७३ को वार्षिक प्रतिवेदन अनुसार प्रदेश नं. ५ मा एउटा उपक्षेत्रिय अस्पताल, ३ वटा अञ्चल अस्पताल, ८ वटा जिल्ला अस्पताल, ४ वटा साधारण अस्पताल, ३२ वटा प्राथमिक स्वास्थ्य केन्द्र, ५६८ वटा स्वास्थ्य चौकी, ६ वटा सामुदायिक स्वास्थ्य युनिट, ६ वटा अन्य सार्वजनिक संस्था र १०० वटा गैर सरकारी स्वास्थ्य संस्थाहरु गरी ७५२ वटा स्वास्थ्य सम्बन्धी संस्थाहरु संचालनमा रहेका छन् । स्वास्थ्य संस्थाहरुको संख्याको दृष्टिले यो प्रदेश चौथो स्थानमा रहेको छ । यस प्रदेशमा तीन वटा मेडिकल कलेजहरु पनि संचालनमा छन् । दाङ्गमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन हुने क्रममा रहेको छ ।

 



Leave a Reply

Your email address will not be published.