यता सालको पातमा टीका, उता निधार खाली

तीजमा पनि सम्झ्यो होला, मेरो कान्छो भाईले
दसैँ पनि त्यसै काँटे, खाली निधार मैले
………
पर्खि बसेँ माला उनेर, भाईटीकालाई दिन गनेर
घरबाट आए होलान्, माइती चेलीबेटी
बनपाखा नाच्दै होलान्,गाउँका केटाकेटी
दिदी आउने बाटो हेर्दै होला, मेरो भाईले
आउँछे बहिनी भने होलान्, मेरो ठूलो दाईले
………
सालको पातमा टीका लगाई दिएहोलान बाले
दसैँ पनि त्यसै काँटे खाली निधार मैले
………

२०३७/०३८ तिरको कुरा हो, डा.भोला रिजाल वंगलादेशमा पोष्टग्रयाजुयट गर्दै थिए । वंगलादेशमा सँगै थिइन् श्रीमती सरला । दुबै जना विदेश भएकोले त्यो वर्ष तीज, दसैँ, तिहार सबै छुट्ने नै भए । सरलाले त्यतिबेला लेखेको गीतांश हो यो ।

तारादेवीले गाएको त्यो गीत अहिले रिजाल दम्पतीको प्रायजसो चाडपर्वको यथार्थ हो ।

करिव दुई दशकभन्दा लामो समयदेखि उनीहरुले तीनभाई छोरा, कविर, मनिष र प्रलयसँग मुस्किलले दसैँ मान्न पाएका छन् । जेठा कविर लण्डनमा छन्, माइलो मनिष क्यानडा र कान्छो प्रलय नर्वेमा छन् । कविरसँगको टीका नियमित नभएको २ दशम भयो । एक वर्ष चाड छुट्दा माइती सम्झेर सरलाले लेखेको गीतले आजकाल आफ्नै मन रुवाउँछ । वंगलादेशको दसैँमा भोलाले सरलालाई अवीरमात्रै लगाइदिएका थिए । रिजाल दम्पती छोराहरुलाई स्काइपमा हेर्छन् र सालको पातमा टीका लगाइदिन्छन् , र आफूहरु लगाउँछन् ।

सन्तान सँगै नहुँदाको खल्लो दसैँमा बाल्यकालको दसैँले ‘नोस्टास्जिक’ बनाउँछ ।
…………
‘बाल्यकालको दसैँको त के बयान गर्नु ?’ बाल्यकालको दसैँ सम्झनाबारे प्रश्न फुत्किन नभ्याउदै डा.रिजालको जवाफ आउँछ । रिजाल परिवारको घर, विराटनगर धरान र इटहरी तीनै ठाउँमा थियो । कहिले कहाँ, त कहिले कहाँ । ठाउँ फरक भएपनि एउटा कुरा चाँही नियमित थियो । ‘जहाँ मनाएपनि सबै दाजुभाई एकै ठाउँमा बसेर मनाउने’ ।
त्यो विशाल परिवारमा पहिला हजुर बुबाको हातबाट सबैले टिका थाप्थे । अनि पालैपालो क्रमअुनसार टिका हुन्थ्यो । ‘त्यो बेलामा मलाई टीका लगाइदिने मात्रै सय जना हुनुहुन्थ्यो ।’ उच्च भएको स्वर मलिन बनाउँदै उनी थप्छन् ‘मैले लगाइदिने १५/१६ घर छन् मैले लगाउने त १/२ जना मात्रै’

उनका हजुर बुबाले १६ रुपैँया हालेर उलेनको कोट र छालाको जुत्ता किनिदिए । उनले १५/१६ दिनअघिदेखि घरमा जो नयाँ मान्छे अएपनि पहिला त्यही कोट देखाउँथे । डा.रिजाल त्यतिबेला यति रमाएका थिए कि, कोट लगाउँदा म नै सबैभन्दा ठूलो मान्छे हुँ जस्तो लाग्थ्यो रे ।

दसैँको त्यो समय निकै रोमाञ्चक हुन्थ्यो । अहिले उनी वर्ष र गते त ठ्याक्कै भन्न सक्दैनन । तर त्यतिबेला ८/९ कक्षामा पढ्दैमा पढ्दै थिए । उनका हजुर बुबाले १६ रुपैँया हालेर उलेनको कोट र छालाको जुत्ता किनिदिए । उनले १५/१६ दिनअघिदेखि घरमा जो नयाँ मान्छे आएपनि पहिला त्यही कोट देखाउँथे । डा.रिजाल त्यतिबेला यति रमाएका थिए कि, कोट लगाउँदा म नै सबैभन्दा ठूलो मान्छे हुँ जस्तो लाग्थ्यो रे ।

विराटनगरको रिजाल परिवार यति ठूलो थियो कि, दसैँमा खसी पनि ३/४ वटा काट्नु पर्थ्र्यो । मासु ताउलामा पाक्थ्यो, विहान बेलुकाकै खाना खाने समय भतेर लगाएजस्तै हुन्थ्यो ।
यति खुसी दिने दसैँ कहिले आउला भन्नेजस्तो नलाग्ने कुरै भएन । कांगेस नेता डा.मिनेन्द्र रिजाल र डा.भोलाका हजुर बुबा दाजुभाई हुन् । पूर्वप्रधानमन्त्री नागेन्द्र रिजालको मिनेन्द्रको हजुर, भोलाका बुबा जिजुबुबा । गीतकार कालीप्रसाद रिजाल जेठाकोे साइलो छोरा, डा.भोला साइलोको जेठो छोरा । यी सबैको दसैँ एउटै घरमा हुन्थ्यो । ‘सबै परिवार दसैँमा भेटिन्थ्यौं र मर्यादाक्रमअनुसार टीका लगाउथ्यौं’ उनी भन्छन् ।
……..
अहिले कहाँ त्यस्तो दशै पाउनु ?
अहिलेको दसैँमा आफ्नै परिवार पनि जम्मा हुन गाहे छ । ‘अहिले त मैले टीका जानुपर्ने घर जम्मा ४/५ वटा छ, मैले लगाइदिनुपर्ने १६/१७ ।’ उनी भन्छन् । ‘सहरमा छिरलिएर बसेको हुनाले दिनभर हिड्दैमा बित्छ दशैं । एक ठाउँमा बसेर रमाउन पाइन्न । आफू जाँदा घरमा अर्को कोही आइदियो भने, अर्कै तनाव’ दसैँमा यातायात पनि सहज हुन्न । गाडी व्यवस्थापन गरेर औपचारिकता मिलाउँदैमा सकिन्छ दसैँ ।

चिकित्सा क्षेत्रमा लागेपछि त दैनिकी, समय पनि आफ्नो हुन्छ । १९८५ /१९८६ सालतिर अहिले चावेलमा भएको ओम अस्पताल त्यतिबेला कमलपोखरीमा थियो । रिजाल परिवारको घर सिनामंगल थियो । टीका लगाउन घरमा जम्मा हुदैथिए । ‘एउटा डेलिभरी सिरियास केस आएको छ ।’ अस्पतालबाट फोन आयो । ‘म भ्याए टीका लगाउन आउँला भनेर हिँडे’उनी सम्झन्छन् ‘पछि ढिला गरेर आएँ ।’ चिकित्सा सेवामा लागेपछि सेवा नै प्रथामिकतामा पर्छ । त्यो कर्तव्य पनि बन्छ । यो कर्तव्य सम्झेरै डा.रिजालले एउटा गीत लेखेका छन् ।

……..
आत्मालाई साक्षी राखेर गर्छौ यो वाचा
तराई, पहाड, हिमाल चारै भञ्ज्यान घुमेर
गर्दछौ सेवा रोगीको
गर्दछौ सेवा दु:खिको
सेवा नै हाम्रो धर्म हो ।
…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय