दाइले अस्पतालमै गएर टीका लगाइ दिनुहुन्थ्यो

बाल्यकालको दशैंको उत्साह नै अर्कै हुन्थ्यो । दसैँमा हाम्रो घरमा सबै कन्यालाई रातो टीका लगाइदिने, नवदुर्गा लागेपछि चण्डी पाठ गर्ने विभिन्न मन्दिर जाने चलन थियो । घरमा सबैजना विहानै सबेरै उठ्नुपर्थ्र्यो । अहिले सम्झिदा त नवदुर्गाको त्यो माहोल महोत्सव जस्तो लाग्थ्यो । बोका काट्ने अष्टमीको दिन चाँही अल्ली गाहे हुन्थ्यो । हाम्रो कूलबाट मैतीदेवी मन्दिरमा प्रत्येक वर्ष बली दिनुपर्ने चलन थियो । मन्दिरमा रगत बगेको देखेर मासु खानै मन नलाग्ने ! पछि मेरो बुबाले त्यो चलन अन्त्य गरिदिनुभयो ।

कलेज जीवनमा पनि मैले बली, काटमार गर्नुहुन्न भनेर एक किसिमको अभियान नै चलाएँ । साथीभाइलाई काटमारदेखि टाढै बस्नुपर्छ भनेर सम्झाउथे । बोका चढाउनु भन्दा अण्डा चडाएपनि हुन्छ नि ! भन्दा मान्थे पनि । सन् १९७७ देखि मेडिकल पढ्नका लागि ७ वर्ष युक्रेन बसेँ । हामी जहाँ गएपनि संस्कृति बोकेर गइन्छ । त्यहाँ पनि चाडपर्वको एकदमै याद आउथ्यो । बाल्यकालको दशैं, त्यो रमझम, बाुबुआमा एकदमै मिस हुन्थ्यो ।

एकपटक त हामी विश्वविद्यालयमा भएका नेपाल मिलेर दसैँ मनाऔं भनेर सल्लाह गर्यौं । एउटा हल लियौं । सबै ठाउँमा एक ठाउँमा खानपिन गरेर दसैं मनायौं । पछि जब चिकित्सा सेवामा लागियो । फेरी पनि बाल्यकालको जसरी दसैँ मनाउन पाइएन । मेरो पहिलो सेवा सन् १९८४ मा टिचिङ अस्पतालमा थियो । त्यतिबेला टिचिङमा पनि बहिरंगमात्रै थियो, अन्तरंग सेवा थिएन । अन्तरंग नहुँदासम्म खासै व्यवस्त हुन्नथियौं । अन्तरंग सुरु भएपछि व्यवस्तता बढ्दै गयो ।

सुरुमा टिचिङ वरपरका मान्छेबाहेकलाई पायक पर्दैन थियो । विस्तारै भीड बढ्न थाल्यो, व्यवस्ता पनि । मैले अष्टमी नवमी दशमी तीनै दिन ड्युटीमा बसेर बिताएको छु । चिकित्सकहरु १/२ जना मात्रै हुन्थ्यौं । तीनजना महिला थियौं । एकपटक स्त्री तथा प्रसुति वार्डमा तीन जना चिकित्सा थियौं, एकैपटक दुई जना गर्भवती हुनुहुन्थ्यो ।

मेरो नै समय भयो । व्यवहारिकता हेरेर पनि म नै बढि ड्युटी बस्नुपर्ने भयो । ती वर्षहरुमा कुनै समय एकैछिन समय मिलाएर घरमा आएर टीका लगाएर तुरुन्तै फर्किहालिन्थ्यो । कुनै वर्ष परिवार (विशेषगरी दाई)ले अस्पतालमै गएर टीका लगाइ दिनुहुन्थ्यो । यस्तो गर्दा कहिँलेकाँही त रुन नै मन लाग्थ्यो । मन वचन र कर्मले स्वीकारेको पेशा भएपछि चित्त नै बुझाउन नसकिने हैन ।

अहिले अर्कै खालका अनुभूति । अहिले दुबै सन्तान अमेरिका छन् । छोरो मेडिकल पढ्दैछ, छोरी जेनेटिक काउन्सिलिन पढ्दैछिन् । साथमा सन्तान नभएपछि चाडपर्व खासै रमाइलो लाग्दैन । तैपनि, उनीहरुको भविष्यका लागि गएका हुन भनेर चित्त बुझाउँछौ । अहिले नेपालमा बुहारी एक्लै छिन् । उनलाई अल्ली शुन्य नहोस् भनेर बुहारीसँग घुमेर यो वर्ष दशैं मनाइरहेको छु

प्रस्तुति :गीता सापकोटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय