कुनै दसैँमा पनि आफूले यकिन गरेको दिन हिँड्न पाएको छैन

म पर्वत जिल्लामा जन्मिएको मान्छे । विद्यालयस्तरको पढाइ नसकिँदासम्म गाउँमै दसैँ मनाइयो । गाउँमा रहँदा दसैँमा टीका लगाउन म करिब ३०–४० घरमा जान्थेँ । जब पढाइको सिलसिलामा काठमाडौं आएँ, पहिलेजसरी दसैँमा घर गएर बस्ने फुर्सद नै हुँदैनथ्यो । आइओएमबाट एमबिबिस पढ्न थालेपश्चात् मुस्किलले घर गए पनि पढाइमै व्यस्त हुन्थेँ । कक्षाको प्रथम विद्यार्थी भएकाले मैले धेरै समय खर्चेर मोजमस्तीको अनुभवै गर्न पाइनँ । रमाइलो गरेर पढ्न छोड्दा अरु नै प्रथम होलान् भन्ने डर मेरो मनमा सदैव हुने गथ्र्याे । त्यसपश्चात् जब अस्पतालमा मेरो क्लिनिकल पोस्टिङ हुन थाल्यो, काममा व्यस्त हुनुपर्ने बाध्यता रहन्थ्यो । प्रायः दसैँमा म काठमाडौंमै रहन्थेँ ।

मैले चितवनमा १६ वर्ष चिकित्सकका रूपमा काम गरेँ । त्यहाँ रहँदा जब दसैँ आउँथ्यो, साथीहरू बिदा लिन्थे, त्यसको गाह्रो मलाई पर्न जान्थ्यो । किनकि, म त्यहाँ विभागको प्रमुख थिएँ । त्यतिवेलाको एउटा घटना मेरो जिन्दगीमा अविस्मरणीय बन्यो । सप्तमीको दिनका लागि कटेको प्लेन टिकट लागातार दुई दिन सार्दा पनि बिरामीको चापले आउन नपाएपछि नवमीको रात आफैँ गाडी चलाएर काठमाडौं आएको अनुभव छ मसित ।

मेरो परिवार चितवनमै भए पनि घटस्थापनापश्चात् उनीहरूलाई काठमाडौं पठाउने गर्थें । प्रायः म आफूचाहिँ सप्तमीको दिन आउने भनी योजना बनाउँथेँ । एकपटकको दसैँमा सप्तमीको दिन काठमाडौं आउने योजना बनाएर मैले प्लेनको टिकट पनि काटिसकेको थिएँ । तर, त्यो दिन यति धेरै इमर्जेन्सी बिरामी आए कि, मैले छोडेर हिँड्नै मिलेन । त्यसदिन मैले बिरामीको उपचारमै बिताएँ । भोलिपल्ट अर्थात् अष्टमीको दिन हिड्ँछु भन्ने तरखरमा थिएँ, एयरलाइन्सलाई आग्रह गरेर अष्टमीको दिनका लागि टिकट सारेँ । त्यसदिन पनि दिनभरजसो बिरामीको चेकजाँचमै व्यस्त भएँ ।

त्यति नै वेला मेरो नजिकै एउटी बोल्न नसक्ने बिरामी ल्याएर ‘ए सर त यहीँ नै हुनुहुँदोरहेछ, जाऔँ’ भन्न थाले । उक्त बिरामीको पाठेघरको मुख पूरै खुलेको रहेछ । त्यस अवस्थामा म डेलिभरी नगराई हिँड्न नमिल्ने भयो ।

कोही गर्भवती त कोही रक्तस्राव, विभिन्नखालका बढी जोखिम भएका बिरामी आएका कारण म त्यसदिन पनि हिँड्न पाइनँ । हुँदाहुँदा मैले फेरि एयरलाइन्समा अनुरोध गरेर नवमीका लागि टिकट सारेँ । २ बजेका लागि फ्लाइट तोकिएको थियो । करिब साढे १ बजेतिर म एयरपोर्टका लागि तयारी गर्दै थिएँ, त्यति नै वेला फोन बज्यो, जुन मेरो एक निजी अस्पतालबाट आएको थियो । म अस्पतालमा पसेर सबैलाई दसैँको शुभकामना दिन्छु र गएँ पनि भन्छु भनेर के पसेको थिएँ, त्यति नै वेला मेरो नजिकै एउटी बोल्न नसक्ने बिरामी ल्याएर ‘ए सर त यहीँ नै हुनुहुँदोरहेछ, जाऔँ’ भन्न थाले । उक्त बिरामीको पाठेघरको मुख पूरै खुलेको रहेछ । त्यस अवस्थामा म डेलिभरी नगराई हिँड्न नमिल्ने भयो । एक त त्यस्तो जोखिमको अवस्था, अर्काे वाक्यहीन महिला, छोडेर हिँड्न मिल्ने अवस्थै थिएन । त्यसकारण म उपचारका लागि त्यहाँ रहेँ । त्यो दिन पनि मेरो प्लेन छुट्यो । त्यसपश्चात् मलाई बेलुका ६ बजेतिर मात्रै फुर्सद भयो । ६ बजेपछि आफैँ ड्राइभ गरेर काठमाडौँ आएँ । त्यो वर्षको दसैँ मेरा लागि दसैँजस्तो भएन ।

हामीले आफ्ना लागि भन्दा पनि बिरामीका लागि सोच्नुपर्ने हुन्छ । मलाई त्यसमा कुनै दुःख भने लागेको छैन । यदि मैले बिरामीलाई त्यहाँ उपचार दिन नसकेको भए उनीहरूलाई काठमाडौं ल्याउनुपर्ने हुन्थ्यो । त्यतिवेला बिरामी तथा उनीहरूको आफन्तलाई विभिन्न समस्या पर्न सक्थ्यो । बिरामीको बाटोमै मृत्यु पनि हुन सक्थ्यो भने उपचारका लागि थोरै रकमले हुने ठाउँमा धेरै लाग्न सक्थ्यो । यस्ता घटना त कति भएका छन् कति, यो एक उदाहरण मात्रै हो ।

म कुनै पनि दसैँमा आफूले यकिन गरेको दिन हिँड्न पाएको छैन । तर, पछिल्ला ३–४ वर्ष भने केही सहज भएको छ । म अहिले काठमाडौंमै भएका कारण पनि सहज भएको होला । काठमाडौं आएपछि पनि दसैँमा ससुराली बुटबल जाने योजना बनाएको हुन्छु, आकस्मिक भएर जान नपाएको घटना धेरै छन् । म परिवारको सबैभन्दा जेठो, मैलै नै घरमा टीकाको सुरुवात गर्नुपर्ने हुन्छ । तर, व्यस्तताका कारण मैलै टीकाको सुरुवात गर्न नपाएको अवस्था धेरै आएका छन् । एउटा दसैँमा टीकाको साइत ११ बजेर ५० मिनेटमा थियो । त्यसको १५ मिनेटअघि मलाई अस्पतालबाट फोन आयो । एकदमै बढी रक्तस्राव भएको केस आएको खबर आयो । त्यसपश्चात् म तुरुन्तै अस्पताल गएँ । बिरामीको उपचारका लागि मलाई धेरै समय लाग्यो । उपचार सकेर आउँदा त साइत सबै गइसक्यो । त्यस्तो वेला मैले टीका लगाइदिन नपाएर मेरी श्रीमतीले जुनियरहरूलाई लगाइदिनुपर्ने अवस्थासमेत आएको छ ।

निर्देशक, परोपकार प्रसूतिगृह

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय