दसैँका तीन दिन एम्बुलेन्स सेवा प्रभावित हुने

चुडामणी बस्याल, अध्यक्ष, संयुक्त एम्बुलेन्स चालक संघ, रुपन्देही ।

रुपन्देहीमा दशैका तीन दिन एम्बुलेन्स सेवा प्रभावित हुने भएको छ । एम्बुलेन्स चालकहरु दशै मनाउनका लागि घर जाने भएपछि सेवा प्रभावित हुने अवस्था आएको हो ।
संयुक्त एम्बुलेन्स चालक संघ, रुपन्देहीले दशैको नवमी, दशमी र एकादशी गरी तीन दिनका लागि नजिकका अस्पतालहरुमा मात्र एम्बुलेन्स सेवा दिन अनिवार्य गरेको छ ।
संघका अध्यक्ष चुडामणी बस्यालले एम्बुलेन्स चालकहरुको सोमबारको बैठकले चाडपर्वलाई मध्यनजर गरी तीन दिनका लागि सेवालाई कम गर्ने निर्णय गरेको बताए । तथापी सेवा ठप्प भने नहुने बस्यालको भनाई छ । रुपन्देहीमा संचालित एम्बुलेन्सका करिब १० प्रतिशत चालक रुपन्देही बाहिरका रहेको अनुमान छ ।
चालकहरुबीच यस्तो समझदारी भएको भएपनि आवश्यक परेको खण्डमा फोन सम्पर्क मार्फत चालकलाई सम्पर्क गरी टाढा जानुपर्ने अवस्थामा पनि सेवा दिइने उनले बताए । उनले तीन दिनका लागि अस्पतालमा रातीमा दिइने एम्बुलेन्स सेवालाई अनिवार्य नगरी नजिकको एम्बुलेन्सबाट सेवा दिने निणर्य भएको जानकारी दिए ।
सबै अस्पतालहरुमा त एम्बुलेन्स नहुने अवस्था देखिन्छ त ? भन्ने जिज्ञासामा अध्यक्ष बस्यालले आफुहरु फोन सम्पर्कमा रहने र चालकहरु बीच समन्वय गरी मिलाएर एम्बुलेन्स सेवा प्रवाह गर्ने बताए । उनले आफुले दसैँ रुपन्देहीमै रहेर मनाउने हुँदा समन्वयमा कुनै कसर नराखी एम्बुलेन्स सेवा दिनमा लागिपर्ने प्रतिबद्दता जनाए ।
संयुक्त एम्बुलेन्स चालक संघ, रुपन्देही ६० वटा एम्बुलेन्स आबद्ध छन् । संघले अस्पताल र क्षेत्र हेरी एम्बुलेन्सलाई सेवाको लागि जिम्मेवारी दिने गरेको छ । संघका अनुसार लुम्बिनी अञ्चल अस्तालमा २५ वटा, आम्दा अस्पतालमा २ वटा, बुटवल अस्पतालमा १ वटा, तिलोत्तमा अस्पतालमा १ वटा, मेडिटेक अस्पतालमा १ वटा, चौराहा अस्पतालमा १ वटा, क्रिमशन अस्पतालमा ४ वटा, यूर्निभर्सल मेडिकल कलेजमा ८ वटा, देवदह मेडिकल कलेजमा २ वटा, देवदह क्षेत्रमा ८ वटा, गौतमबुद्ध मुटु अस्पतालमा १ वटा लगायत छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय