कसरी हुन्छ मस्तिष्कघात ? यस्तो छ उपचार

डा. गोपालरमण शर्मा
प्रकाशित
२०७५ असोज २८ गते १७:२२

मस्तिष्कमा जाने रगतको सञ्चारमा अवरोध आएको खण्डमा मस्तिष्कघात भएको भनिन्छ । मस्तिष्कघातका दुई प्रकार हुन्छन् । एउटा भित्रै रक्तस्राव हुने, अर्काे मस्तिष्कमा रगत सञ्चालन गराउने नली ब्लक हुने, सामान्यतया यिनै दुई कारणले मस्तिष्कघात हुने गर्छ । रक्तस्राव हुने मस्तिष्कघात १५ देखि २० प्रतिशत मात्रै हुने गरेको पाइएको छ भने रक्तसञ्चालन गराउने नली ब्लक हुने मस्तिष्कघात ८० देखि ८५ प्रतिशत हुने गर्छ । यसबाट के थाहा पाउन सकिन्छ भने मस्तिष्कमा रक्तस्राव हुनेभन्दा बढी सम्भावना ब्लक हुने हुन्छ ।

मस्तिष्कघात अहिले नेपालमा ठूलो समस्या तथा चुनौतीका रूपमा देखापरेको छ । यो समस्या युवा तथा बालबालिकामा भन्दा पनि वृद्धावस्था तथा मध्यम उमेरका मानिसमा बढी मात्रामा देखापरेको छ । यदि दैनिक १० जना बिरामी जाँचका लागि आए भने करिब ३ जना मस्तिष्कघातका आउने गरेको पाइएको छ ।  मानिसको उमेर बढेसँगै रगतका नसाहरूमा परिवर्तन आई कोलेस्टेरोल तथा फोहोर जम्मा हुने गर्छ । त्यसले रक्तस्राव हुने तथा ब्लक हुने सम्भावना बढ्दै जान्छ ।

कुनै पनि मानिस आकस्मिक रूपमा बेहोस भयो भने कि त्यो मानिसलाई हृदयाघात हुन्छ, कि मस्तिष्कघात । आकस्मिक रूपमा बेहोस हुने मानिसमध्ये करिब ९० प्रतिशतमा यिनै दुई समस्या देखापर्छन् ।

रक्तचाप उच्च हुनु, डाइबेटिज हुनु, कोलेस्टेरोलको मात्रा उच्च हुनु मस्तिष्कघातको जोखिमका अवस्था हुन् । १० देखि १५ प्रतिशतमा भने जन्मिँदै रगतको समस्या देखापरेका कारण मस्तिष्कघात हुने गर्छ । त्यसले रक्तनली फुटेर पनि मस्तिष्कघातको समस्या निम्त्याउन सक्छ । कतिपय अवस्थामा टाउको मात्रै दुखेको कारण पनि मस्तिष्कघात हुने गर्छ । कहिलेकाहीँ शरीरको एकातर्फको भाग पूरै नचलेको भन्दै परीक्षणका लागि बिरामी अस्पताल आउने गरेका छन् । कतिपय आकस्मिक रूपमा बेहोस् भएर मस्तिष्कघातको सिकार बन्न पुग्छन् ।

कुनै पनि मानिस आकस्मिक रूपमा बेहोस भयो भने कि त्यो मानिसलाई हृदयाघात हुन्छ, कि मस्तिष्कघात । आकस्मिक रूपमा बेहोस हुने मानिसमध्ये करिब ९० प्रतिशतमा यिनै दुई समस्या देखापर्छन् । यदि कुनै मानिस बेहोस भएर प्यारालाइसिसको अवस्थामा पुगेको छ भने त्यो मानिसमा मस्तिष्कघातको सम्भावनालाई हामी नकार्न सक्दैनौँ । कोही–कोहीलाई भने छारेरोगको समेत समस्या देखापर्ने गर्छ । यो रोग महिला तथा पुरुष दुवैलाई हुने सम्भावना उत्तिकै रहन्छ ।
हामीले मस्तिष्कघात भए–नभएको पत्ता लगाउन सिटी स्कान, एमआरआईलगायत विभिन्न प्रविधि अपनाउने गर्छाैं । यस्ता प्रविधिका माध्यमबाट नै कुन प्रकारको मस्तिष्कघात हो भनी चिकित्सकले छुट्याउने गर्छन् । दुई प्रकारका मस्तिष्कघातको उपचार विधि नै फरक प्रकारको भएको हुनाले कुन प्रकारको मस्तिष्कघात हो भनी छुट्याउनु आवश्यक छ ।

लक्षण
मस्तिष्कघातले बिस्तारै लक्षणहरू देखाउने होइन, यो एक आकस्मिक रूपमा आउने समस्या हो । तसर्थ, बिरामीमा पहिले खासै लक्षण देखापर्दैनन् ।
यसका केही लक्षण यस्ता हुन्छन्–
– आकस्मिक रूपमा बेहोस हुनु ।
– आकस्मिक रूपमा छारेरोगजस्तै लक्षण देखापर्नु ।
– आकस्मिक रूपमा हातखुट्टाहरू कमजोर हुनु ।
– आकस्मिक रूपमा बोली लरबराउनु ।

उपचार विधि
यदि रगतको नसा ब्लक भएर मस्तिष्कघात भएको हो भने त्यसमा शल्यक्रियाको शल्यक्रियाको भूमिका खासै हुँदैन । त्यसको उपचारका लागि चिकित्सकले बिरामीको स्वास्थ्यजाँचपश्चात् औषधि दिने गर्छन् । यस्तो मस्तिष्कघातलाई निको बनाउन फिजियोथेरापीको पनि महत्वपूर्ण भूमिका रहने गर्छ । यदि भित्र रक्तस्राव भएर भएको मस्तिष्कघात हो भने त्यसमा शल्यक्रियाको आवश्यकता पर्छ । रक्तस्राव भएर भएको मस्तिष्कघातमा प्रायः भित्र रगत जमेको हुने भएकाले शल्यक्रियाको माध्यमबाट रगत निकाल्नुपर्ने हुन्छ ।

मस्तिष्कघात भएका करिब ६० देखि ७० प्रतिशत बिरामी सामान्य अवस्थामा आउन सक्दैनन् । उनीहरूलाई आफ्नो व्यक्तिगत कामका लागि समेत एकजना सहयोगीको आवश्यकता पर्ने गर्छ ।

मस्तिष्कघातको उपचारपश्चात् मानिस पहिलेकै अवस्थामा फर्किन सक्छ कि सक्दैन भन्ने कुरा मस्तिष्कघात भएको ठाउँमा निर्भर हुन्छ । मस्तिष्कमा पनि कम र बढी संवेदनशील ठाउँ हुन्छन् । यदि संवेदनशील ठाउँमा रक्तस्राव भएको छ भने त्यस अवस्थामा पूर्णतया निको हुने सम्भावना रहँदैन । यदि मस्तिष्कको केन्द्रीय ठाउँमा मस्तिष्कघात भएको छैन र भएको स्थानको काम थोरै नै छ भने त्यस्तो अवस्थामा पूर्ण रूपमा निको पनि हुन सक्छ । मस्तिष्कघात भएका करिब ६० देखि ७० प्रतिशत बिरामी सामान्य अवस्थामा आउन सक्दैनन् । उनीहरूलाई आफ्नो व्यक्तिगत कामका लागि समेत एकजना सहयोगीको आवश्यकता पर्ने गर्छ । उनीहरूलाई ह्विलचियरको समेत आवश्यकता पर्न सक्छ । मस्तिष्कघातले करिब ६० देखि ७० प्रतिशतलाई अपांग बनाउन सक्छ । करिब ३० देखि ४० प्रतिशत मानिस भने उपचारपश्चात् सामान्य अवस्थामा आउन सक्छन् ।
एकपटकको उपचारपश्चात् मस्तिष्कघात फेरि दोहोरिन पनि सक्छ । उच्च रक्तचाप, डाइबिटिजजस्ता रोग नियन्त्रण गर्न नसकेको खण्डमा मस्तिष्कघात दोहोरिन पनि सक्छ । मेरो उपचार अनुभूतिमा ४ पटकसम्म मस्तिष्कघात भएको बिरामीसमेत छन् ।

रोकथामका उपाय
रक्तचाप नियन्त्रण गर्नु ।
कोलेस्टेरोल बढ्न नदिनु ।
शारीरिक व्यायाममा विशेष ध्यान दिनु ।
धूमपान नगर्नु ।
मद्यपान नगर्नु ।

बरिष्ठ न्युरोसर्जन शर्मा नेपाल मेडिसिटी अस्पताल, भैँसेपाटीमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय