श्रीमानको मायाले मात्र बाँचेकी हुँ

म गंगालाल अस्पतालमा नियमित मुटु परीक्षण गराइरहेकी छु । आजभन्दा १ वर्ष अगाडि भाइलाई अस्ट्रेलिया उडाउन काठमाडौं आएका वेला अचानक टाउको दुखेर वीर अस्पतालमा भर्ना भएकी थिएँ । त्यो टाउकोको दुखाइ मेरा लागि निकै भारी साबित भयो । अचानक सुरु भएको अस्पतालयात्रा आजसम्म पनि जारी छ ।

टाउको दुख्नेबित्तिकै वीर अस्पतालमा भर्ना भएको थिएँ । त्यहाँ उपचार गराउनेक्रममा मेरो मुटुमा समस्या भएको पत्ता लाग्यो र मलाई गंगालाल अस्पताल रेफर गरियो । त्यसपछि निरन्तर गंगालालमै चेकजाँच गराइरहेकी छु । सम्पूर्ण परीक्षण गरिसकेपछि मेरो मुटुुको भल्भमा खराबी रहेको पत्ता लाग्यो । मेरो मुटाका दुईवटा भल्भ फेरिइसकेको छ । अहिले गाउँमै कृषि पेसामा संलग्न छु ।

मलाई डाक्टरले २ वर्षभन्दा बढी नबाँच्ने पनि भनेका थिए । आज म महिना–महिनामा नियमित चेकअपका लागि आउँदा डक्टर र नर्सहरू खुसी हुँदै बधाई दिन आउँछन्

म त्यतिवेला वीर अस्पतालमा २० दिन र गंगालालमा १२ दिन बसेँ । त्यो बसाइ मेरा लागि पूरा जीवन बिताउनभन्दा कठिन थियो । अहिले पनि म निरन्तर चेकअपका लागि अस्पताल आइरहन्छु । मेरो त्यति लामो अस्पताल बसाइ र त्यसपछिको नियमित चेकजाँचका क्रममा डाक्टर, नर्सले मलाई सधैँ माया र सहयोग गरे । मैले अस्पताल बस्दा पूरै पारिवारिक वातावरण पाएँ । मलाई गंगालाल अस्पताल आउँदा आफ्नै घरमा दिदीबहिनीहरूसँग बसेजस्तै लाग्छ । अस्पतालबाट डिस्चार्ज भएर घर जाने वेला रोएको थिएँ । त्यतिवेला मलाई आफन्तसित टाढिँदाको अनुभूति भएको थियो ।

म अस्पताल भर्ना हुँदा मेरा आफन्त अब नबाँच्ने भयो भनेर दिनहुँ रुँदै आउँथे । मलाई डाक्टरले २ वर्षभन्दा बढी नबाँच्ने पनि भनेका थिए । आज म महिना–महिनामा नियमित चेकअपका लागि आउँदा डक्टर र नर्सहरू खुसी हुँदै बधाई दिन आउँछन् । मेरा ३ वटी नानीहरू छन् । मेरो भगवान्जस्तो श्रीमान् हुनुहुन्छ । उहाँ नभएको भए मैले आजको दिन देख्न पाउनेथिइन होला जस्तो लाग्छ । मेरो उपचार गर्दा डेढ लाख खर्च भएको छ । जीवनमा खर्चभन्दा पनि ठूलो माया रहेछ । मेरा लागि श्रीमान् श्वास हुनुहुन्छ । श्वास फेर्न नपाउँदा एकछिन पनि बाँच्न नसकिएजस्तै सायद म श्रीमान् नभए पनि बाँच्न सक्दिन जस्तो लाग्छ ।

मान्छेलाई कतिखेर के हुन्छ, केही थाहा नहुने रहेछ । म भाइलाई विदेश उडाउन आएको, एकैपटक ४० दिनपछि पो घर पुगेँ । जीवन अनिश्चित रहेछ । आज पनि घरीघरी यही घटना सम्झेर नियमित उपचारका लागि आइरहन्छु । जे होस् बाँचेँ, सम्झँदा त खुसी लाग्छ, कहिलेकाहीँ भने रुन पनि मन लाग्छ । अस्पतालको बेडमा बस्दा कति समय त रोएरै बिताएँ । बच्चाहरूलाई सम्झिरहन्थेँ, उनीहरूकै सम्झना र मायाले बाँचेँ जस्तो लाग्छ । परिवारको माया नै ठूलो रहेछ, यसैले रोगसित लड्न आत्मबल दिँदोरहेछ । त्यमाथि पनि मेरा लागि श्रीमान् वरदान साबित हुनुभएको छ । हामीले मागीविवाह गरेको भए पनि मलाई धेरै माया गर्नुहुन्छ । आज लाग्छ, परिवारको माया नै मेरो जीवनको आधार हो ।

(सिद्धलेक, धादिङकी ३८ वर्षीया रेग्मीसँग अतिन आचार्यले गरेको कुराकानी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय