नेत्ररोगमा पुटपाक विधि

औषधि द्रव्यलाई पुटपाक गरी निचोरेर आँखामा हालिने विधि नै पुटपाक विधि हो । यसका ३ भेद छन्– लेखन, स्नेहन र रोपण ।
पुटपाकः प्रयोक्तव्यो नेत्रेषु भिषजा भवेत् ।
स्नेहनो लेखनीयश्च रोपणीयश्च स त्रिधा ।। सु.उ.१८अ.

विधि
मुलायम मासु २ पल लिई राम्ररी पिस्ने र औषधद्रव्य १ पल र द्रव ८ पल लिई एकै ठाँउमा मिलाउने र गम्भारी, एरण्ड, केरा आदिको पातमा बेरी त्यसमा माटोको लेप लगाउने र खयर, वर, एरण्डजस्ता काठले रातो नहोउन्जेल पकाउने, तत्पश्चात् त्यसलाई निकाली निचोरेर रस लिने र तर्पणविधिद्वारा रोगीमा प्रयोग गर्ने । रक्तज र पित्तज रोगमा चिसो र वातज र कफज रोगमा केही मनतातो प्रयोग गर्न सकिन्छ ।

प्रयोग
आँखा सुक्खा हुने, अँध्यारोजस्तो देख्ने, परेला कडा हुने, हेर्न गाह्रो हुने, नेत्र दबेको जस्ता समस्यामा पुटपाक विधि उपयोग गर्न सकिन्छ । सिराहर्ष, तिमिर, अभिष्यन्द, पक्ष्मघात, सिरोत्पात, अधिमन्थ आदि समस्यामा समेत पुटपाक विधि योग्य हुन्छ । तर, चिन्ता, भ्रम र परिश्रम हुँदा, आँखा रातो, मैलो र वेदनायुक्त हुँदा पुटपाक विधि उपयोग गर्नुहुँदैन ।

प्रसन्नवर्णविशदं वातातपसहं लघु ।
सुखस्वप्नावबोध्यक्षि पुटपाकगुणान्वितम् ।। सु.उ.१८अ.

विशेषज्ञको परामर्शद्वारा गरिने सम्यक् पुटपाक विधिबाट तत्काल आन्नद, उन्मेष–निमेषक्रिया राम्रो हुनुका साथसाथै नेत्रवर्ण राम्रो, निर्मल, सुन्दर, हल्का र मैलोरहित बनाउँछ । राम्रो निद्रा, सुखावह जागरणका निम्ति उपयोगी हुने पुटपाक विधि नेत्रलाई हावा, धूप सहन सक्ने बनाउनसमेत लाभदायक छ । यस विधिको अतियोगले नेत्रमा पीडा, पिडका, तिमिररोगका साथै विकृत वर्ण र अश्रुस्राव हुन सक्ने हुनाले होसियारी अपनाउनु जरुरी हुन्छ ।

चिकित्साशास्त्र अध्ययन संस्थान, ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी (सन्दर्भ सामग्री : सचित्र शालाक्य विज्ञान)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय