पूर्वखोला र रम्भा गाउँपालिकाका सबै वडामा बर्थिङ सेन्टर

कृष्ण मल्ल
प्रकाशित
२०७५ असोज २३ गते १६:४३

पाल्पाको पूर्वखोला र रम्भा गाउँपालिकाले हरेक वडामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएका छन् । दुई गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा जिल्लाकै नमुना पालिकाका रूपमा आफूलाई उभ्याएका छन् । पाल्पामा १० स्थानीय तहमध्ये गाउँपालिकाको संख्या ८ छ ।

पूर्वखोला गाउँपालिकाका ६ वटै स्वास्थ्यचौकीमा अहिले बर्थिङ सेन्टर सञ्चालनमा छन् । गत वर्षसम्म तीनवटा स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर रहेकोमा थप तीनवटा स्वास्थ्यचौकीमा यस वर्षदेखि थपिएको गाउँपालिकाले जनाएको छ । यसअघि सिलुवा, रिङनेरह र वीरकोटमा मात्रै बर्थिङ सेन्टर सञ्चालनमा थियो । चालू आर्थिक वर्षबाट देवीनगर, हेक्लाङ र जल्पामा समेत बर्थिङ सेन्टर सुरु भएका छन् । बर्थिङ सेन्टरलाई नै लक्षित गरी गाउँपालिकाले हरेक स्वास्थ्यचौकीमा अनमी करारमा राखेको छ । त्यस्तै, सबै स्वास्थ्यचौकीले विभिन्न माध्यमबाट स्वास्थ्यसंस्थामा आएर नियमित गर्भजाँच तथा स्वास्थ्यसंस्थामै सुत्केरी गराउनुपर्छ भन्ने चेतना समुदायमा बाँडेका छन् ।

जल्पाका वडाध्यक्ष नीरबहादुर सारूले बर्थिङ सेन्टर सञ्चालनपछि राम्रो प्रभाव परेको बताए । स्वास्थ्यचौकीनजिकैको भवनमा एउटा कोठा व्यवस्थापन गरी जुवानोपानी तथा सुत्केरीका लागि पोसिलो खाना बनाउने व्यवस्थासमेत मिलाइएको सारूको भनाइ छ । पूर्वखोला गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले गाउँपालिकाले शून्य होम डेलिभरीको लक्ष्यसहितका कार्यक्रम स्वास्थ्य क्षेत्रमा अगाडि बढाएको बताए । हामी सचेतना कार्यक्रमसँगै स्वास्थ्य क्षेत्रको सेवा विस्तारमा लागेका छौँ । सबै स्वास्थ्यसंस्थामा बर्थिङ सेन्टर सञ्चालन गरेका छौँ । सबै संस्थामा एक–एकजना अनमी करारमा राखेका छौँ ।

बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराए स्वास्थ्यसंस्थामा प्रसूति गराएको प्रमाणका आधारमा सुत्केरीलाई गाउँपालिकाले थप १ हजार ५ सय रुपैयाँ प्रोत्साहन रकम दिने गरेको उनले बताए । गाउँपालिकाको उक्त कार्यक्रमबाट २ सय २० जनाले सुविधा लिइसकेका छन् ।

पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले स्वास्थ्य क्षेत्रमा गाउँपालिकाले गरेको यो प्रयासको धेरैतिरबाट सह्राना भएको बताए । भौगोलिक विकटताका कारण नियमित गर्भ जचाउन नसक्ने, घरमै सुत्केरी हुने महिलाहरू अहिले गाउँकै स्वास्थ्यचौकीमा आएर सुत्केरी हुन थालेका छन् । नेपाल सरकारको स्वास्थ्य प्रक्षेपणमा पूर्वखोला गाउँपालिकामा वार्षिक ५ सय ३१ जना सुत्केरी हुने उल्लेख छ ।

त्यसैगरी रम्भा गाउँपालिकाको पाँचवटा वडामा रहेका स्वास्थ्यचौकीलाई बर्थिङ सेन्टरको रूपमा व्यवस्थापन गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले बताए । गाउँपालिकाहरू बर्थिङ सेन्टर स्थापनाका साथै स्वास्थ्यसंस्थामा सुत्केरी गराउनुपर्छ भन्ने चेतना बढाउनमा लागेका छन् । गाउँपालिकाहरूले बर्थिङ सेन्टरका लागि आवश्यक उपकरणहरूको समेत व्यवस्था गरेका छन् । बर्थिङ सेन्टरका लागि गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको अध्यक्ष अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार स्वास्थ्यसंस्थामा गर्भजाँच, सुत्केरी र बच्चाको जन्मदर्तालाई नगरपालिकाले सँगसँगै जोडेर लगेको छ ।

बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराए स्वास्थ्यसंस्थामा प्रसूति गराएको प्रमाणका आधारमा सुत्केरीलाई गाउँपालिकाले थप १ हजार ५ सय रुपैयाँ प्रोत्साहन रकम दिने गरेको उनले बताए । गाउँपालिकाको उक्त कार्यक्रमबाट २ सय २० जनाले सुविधा लिइसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय