खानका लागि बाँच्ने कि बाँच्नका लागि खाने ?

गोरखपुरबाट दिल्ली हुँदै पहिलोपटक पटियाला पुग्दा बिहानको ३ बजिसकेको थियो । तर, रात जति नै छिप्पिसकेको भए तापनि हामीलाई भने पूरा निस्फिक्री थियो । पहिलो त पन्जाबका व्यस्त रात्रिकालीन सडकहरू र त्यहाँ चौबिसै घण्टा चल्ने सार्वजनिक यातायात छँदै थिए । दोस्रोचाहिँ हामी पन्जाबी साथीकै साथ लागेर उसको देश घुम्न गएका थियौँ । त्यसैले छिप्पिसकेको रातले मनमा कुनै त्रास पैदा गर्न सकेको थिएन ।

सामान्यतः तपाईंको घरमा बिहानको ३ बजे कोही पाहुना आइपुगे के गर्नुहुन्छ ? सुत्नका लागि ओढ्ने–ओछ्याउने व्यवस्था गरिदिने, अनि थप सत्कारका लागि बिहानीको प्रतीक्षा गर्ने ।

तर, पटियालाले भने हामीलाई बिहानको ३ बजे नै चौरासीव्यञ्जनले भव्य स्वागत गर्यो । यहाँ चौरासीव्यञ्जनलाई विम्बका रूपमा प्रयोग गरिएको होइन, झन्डै–झन्डै गनेरै ८४ थरीका परिकार हाम्रा लागि तयार पारिएका थिए । म त आफ्नो जीवनकालमा पहिलोपटक त्यति झिसमिसेमा पेट चर्कने गरी खाँदै थिएँ ।

बिहानीले दिनको संकेत गर्छ । हो, त्यस बिहानीले पनि हाम्रो पन्जाब बसाइ र त्यसदौरान हाम्रा खान्कीबारे स्पष्ट संकेत गर्दै थियो ।

२०औँ शताब्दीकी प्रसिद्ध लेखिका भर्जिनिया वुल्फ भन्छिन्– यदि तपाईंले राम्रोसँग खानुभएको छैन भने तपाईं राम्रोसँग सोच्न सक्नुहुन्न, राम्रोसँग सुत्न सक्नुहुन्न, न त राम्रोसँग प्रेम नै गर्न सक्नुहुनेछ । राजा अकबरले आफ्नो दरबारमा मिष्ठान्न भोजनका लागि मात्र ४ सयभन्दा बढी मानिस नियुक्त गरेका थिए रे । बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल सबेरै पेट चर्कने गरी नखाएसम्म केही काम गर्दैनथे ।

‘पाजी, आज हम घर नही जायंगे, ठीक हे ?’
‘पर क्यूँ भाई, घर क्यूँ नही जायंगे ?’
‘क्यूँ की, घर वाले ख्वा ख्वा कर मुजे मार डालेंगे,’ उसले निकै नै हतास भएर भन्यो । गुनासो एकजनाले पोख्यो तर भावनाचाहिँ पूरै टोलीकै त्यही थियो ।

पन्जाबीहरू पनि खानका अत्यन्त सौखिन, अरू कुरा जे होस्, खानेकुरामा कहिल्यै कम्प्रोमाइज नगर्ने । दिनको सुरुवात पन्जाबी लस्सी, ‘गोबीका पराठा’, परौठामा दल्नैपर्ने शुद्द देशी मख्खन, थरीथरीका अचार, अण्डाका परिकार, खुवा, पन्जिरी (जौको पिठोबाट बनेको पन्जाबी परिकार), चिया आदिले हुन्थ्यो । त्यो पनि एक–दईवटा परौठा र एक–दुई गिलास लस्सी खाएर उम्कन नपाइने, अनिवार्य थपीथपी खानैपर्ने ।

बेलुकी मख्खी (मकैको) रोटी, सर्सोका साग, चावल, दाल, चिकेन सुप, अनि सबै परिकारमा मिसाउनका लागि छुट्टै मख्खन । त्यति खाइसकेपछि उठ्नेवेला गुलाब–जामुन अनि फेरि चुठ्नेवेला पन्जाबी सुप ।

दिउँसो खालीमुख बसेको देख्नै नहुने, मानौँ मुख चल्न रोकियो भने संसार पनि चल्न रोकिनेछ । समोसा, पकौडा, चाप (एक प्रकारको भेज सेकुवा), आलुका परिकार, भुजिया आदिले दिनमा संसारलाई चलायमान राख्दथ्यो ।

दिउँसो प्रायः हामी पटियालाका सहर–बजार अनि पुरातात्विक ठाउँहरू घुम्न निस्किन्थ्यौँ । एकदिन त एकजना साथीले असह्य भएर प्रस्ताव राख्यो–
‘पाजी, आज हम घर नही जायंगे, ठीक हे ?’
‘पर क्यूँ भाई, घर क्यूँ नही जायंगे ?’
‘क्यूँ की, घर वाले ख्वा ख्वा कर मुजे मार डालेंगे,’ उसले निकै नै हतास भएर भन्यो । गुनासो एकजनाले पोख्यो तर भावनाचाहिँ पूरै टोलीकै त्यही थियो ।

टाउकोमा पगरी नलगाएका नौला मानिस, अनि त्यसमाथि विदेशी पाहुना भनेर हामीले त्यहाँ राम्रै सत्कार पाएका थियौँ । तर पनि बिहान–बेलुकी यसो घुम्न निस्कँदा हामी भने सकेसम्म पाजीको आफन्त वा साथीको घरमा छिर्न खोज्दैनथ्यौँ । जहाँ छिर्यो, पेट चर्कने गरी खानैपर्ने ।

केही दिनअघि मात्रै राजदीपको घरमा घाँटीसम्म आउने गरी समोसा, लालमोहन अनि गाँजरको हलुवा खानुपरेको हामी कसैले बिर्सिएका थिएनौँ । दोस्रोबाट तेस्रो लालमोहन प्लेटमा थपिँदा त सातैजनाको हात आत्मसमर्पण गर्ने शैलीमा ठडिएको थियो ।

हाम्रो बसाइकै दौरान नयाँ वर्ष आयो, जसको रौनकले सिंगो पन्जाब झुमेको थियो । चोक–चोकमा नाँच्ने–गाउनेहरूको ठूलो भिड जम्मा भएको थियो अनि बजारका सयौँ स्टलहरूमा हजारौँ परिकारका खानेकुरा उपलब्ध थिए । घरमा हाम्रा लागि भनेर झन् विशेष परिकार तयार भइरहेका थिए । जता गयो खाने र खुवाउने कुरा मात्रै ।


कति–कतिखेर त साथीले ‘क्या गाना हे ?’ भनेर गीतको तारिफ गर्दा पनि गानालाई खाना सुनेर ‘बस भाई, नही खाना हे’ भनेका उदाहरणहरू छन् । समग्रमा भन्नुपर्दा पन्जाबले हाम्रा लागि एककिसिमको खानाआतंक नै सिर्जना गरिदिएको थियो ।

झन् त्यसवेला हामी आश्चर्यचकित भयौँ, जतिखेर उहाँहरू भन्दै हुनुहुन्थ्यो– पाहुना आएका छन् भनेर हामीले विशेष केही पकाएका होइनौँ । धेरै परिकार बनाएर खाने हाम्रो संस्कार नै हो । नभन्दै सहर, बजार अनि गल्लीहरूमा भेटिने हरेक पन्जाबी खाएजस्तै अग्ला, हृष्टपुष्ट अनि फुर्तिला देखिन्थे ।

पन्जाबीहरूमा खाने संस्कृति विकास हुनुको मुख्य कारण उनीहरूको सबल कृषिकर्म नै हो । भारतमा १९६० को दशकमा हरित क्रान्ति अर्थात् ग्रिन रिभोलुसन सम्पन्न भयो, जसको नेतृत्व पन्जाबले नै गरेको थियो । प्रशस्त खेतीयोग्य जमिन र अधिकांश मानिस कृषि पेसामै संलग्न रहँदारहँदै पनि मनग्य उत्पादन भने हुन सकिरहेको थिएन । तर, पन्जाब सरकारले ६० को दशकमा एउटा निर्णयमार्फत कृषि क्षेत्रमा व्यापक लगानी बढायो । मेक्सिकोबाट आफ्नो माटोसुहाउँदो १८ हजार टन गहुँका दाना मगाएर कृषकलाई वितरण गर्यो । बिजुली, पानी र फर्टिलाइजरहरू लगभग निःशुल्क रूपमा खेतबारीमा उपलब्ध गरायो । फलस्वरूप पन्जाब आफूलाई मात्र होइन, सारा भारतलाई पुग्ने अन्न उत्पादन गर्न सक्षम बन्यो । आज पनि त्यहाँका खेतीयोग्य जमिन प्लटिङ गरेर बेच्न वा बसोवास गर्न निकै नै झन्झटिलो कानुनी प्रक्रिया पूरा गर्नुपर्छ । खेतबारीमा सरकारले निःशुल्क बिजुली र सिँचाइको व्यवस्था गरेको छ । हरेक मुख्य सहरवरिपरि ठूला–ठूला नहर देख्न सकिन्छ । कृषि औजार खरिद गर्न कृषकले मनग्य अनुदान पाएका छन् ।

त्यसैले त पन्जाब सिंगो राष्ट्रकै अन्नभण्डार बनेर उभिएको छ । तसर्थ, भण्डारकै डाडुपुन्यु भएकाको भान्सामा अनेकथरि परिकार पाक्नु नौलो कुरो पनि त भएन ।

अझ मानिसले खान नछाडोस् भनेर प्रकृतिले जिब्रोमा अनेकथरी स्वाद भरिदिएको छ । निश्चित समयमा भोक लाग्ने, खाऊँ–खाऊँ लाग्ने, मीठो खाना देख्दा वा सम्झना मात्रैले पनि मुख रसाउने आदि प्राकृतिक गुणहरूले त झन् खाने कर्मलाई महत्वपूर्ण नै बनाइदिएका छन् ।

शाह जाले औरंगजेबलाई बन्दी बनाउँदै गर्दा उनकै रोजाइको एउटा मात्र अन्न खान दिनू भनी आदेश दिएका थिए रे । कुटिल औरंगजेबले चना मागे र आफ्नो निर्वासित जीवन चना मात्र खाएर बिताए । त्यो बाँच्नका लागि खाइएको खाना थियो ।

संसारमा आधाभन्दा बढी जनसंख्या (सायद) आज पनि बाँच्नका लागि मात्र खान्छ । गिठ्ठा–भ्याकुर बटुलेर गुजारा गर्ने या अरूले फालेको जुठो खाना खाएर जीविका चलाउने सयौँ उदाहरण त हाम्रै वरिपरि प्रशस्तै छन् । कोही रोगव्याधिका कारण खानबाट वञ्चित हुन्छन् । फेरि कोहीचाहिँ आफ्नो सिद्धान्त, धर्म, तपस्या या पेसाका कारण ठिक्क शरीरसुहाउँदो अड्कलेर खाने हुन्छन् । न्यूनतम बाँच्नका लागि पनि खान नपाउनेहरूका निम्ति खानु ज्यादै नै महत्वपूर्ण कर्म हो, त्यसमा कुनै दुईमत नै रहेन । तर, जो ‘बाँचिरहेका’ छन् उनीहरूका लागि खानु कत्तिको महत्वपूर्ण छ त ?

सन् २००९ मा प्रकाशित जर्मन जर्नललाई आधार मान्ने हो भने मानिस विनाखाना र पानी ८ देखि २१ दिनसम्म बाँच्न सक्छ र पानी मात्र पिएर २ महिनासम्म । तर, त्यति लामो समय भोकै बस्दा विभिन्न अंगमा पर्ने असर भने भयावह छ । तसर्थ, मानिसले बाँच्नका लागि खानुपर्ने न्यूनतम खाना भनेको वयष्क पुरुषका लागि १ हजार २ सय क्यालोरी प्रतिदिन र वयष्क महिलाका लागि १ हजार ८ सय क्यालोरी प्रतिदिन हो । मानिसलाई बाँच्नका लागि न्यूनतम कति खाना चाहिन्छ भनेर विभिन्न साइन्टिफिक रिसर्च भएका छन्, तिनैलाई आधार बनाएर सूत्रहरू पनि बनेका छन् । उदाहारणका लागि ५ फिट ४ इन्च उचाइ र ६० केजी तौल भएकी ३० वर्षीया महिलालाई प्रतिदिन न्यूनतम १ हजार ४ सय १५ क्यालोरी शक्ति बाँच्नका लागि चाहिन्छ ।

सर्सर्ती हिसाब गर्दा ठिक्कको एक थाल पाकेको भातमा ३ सय क्यालोरी, एक कचौरा दालमा ३ सय ५० क्यालोरी, एउटा रोटीबराबर सय क्यालोरी, बन्दाको तरकारी १ सय २२ क्यालोरी, प्रतिगोटा आलु सय क्यालोरी र एउटा अण्डाबराबर १ सय ७३ क्यालोरी शक्ति हाम्रो शरीरले प्राप्त गर्दछ । अझ घिउ, मासु, दही, मोहीमा छुट्टै थप क्यालोरी पाइन्छ । यसरी हेर्दा हामीले खाने एक छाक सामान्य खाना मात्रै पनि बाँच्नका लागि पर्याप्त छ ।
तर, के हामी बाँच्नका लागि मात्र खान्छौँ त ?
प्रायः मानिसका लागि खानु, अझ मीठो खानु जीवनको महत्वपूर्ण कर्म हो । धेरैले तर्क गर्छन्– यो सब गरेको खानकै लागि त हो । हुन पनि हो, हाम्रो शरीरको बनावट नै त्यस्तै छ । यो मेसिनरूपी शरीर चलेकै हामीले खाने खानाबाटै हो । खाएको खानालाई घण्टौँ लगाएर पचायो, त्यसैबाट शक्ति सञ्चय गर्यो, रगतमार्फत त्यही खानाबाटै सञ्चित शक्तिलाई कोषिकाहरूसम्म पुर्यायो, अनि यो हड्डी र मांसपेशीहरूलाई जीवित तुल्यायो ।
अझ मानिसले खान नछाडोस् भनेर प्रकृतिले जिब्रोमा अनेकथरी स्वाद भरिदिएको छ । निश्चित समयमा भोक लाग्ने, खाऊँ–खाऊँ लाग्ने, मीठो खाना देख्दा वा सम्झना मात्रैले पनि मुख रसाउने आदि प्राकृतिक गुणहरूले त झन् खाने कर्मलाई महत्वपूर्ण नै बनाइदिएका छन् ।

एकचोटि यसरी सोचौँ न– यदि मानिसले खानेकर्मलाई आफ्नो सबैभन्दा न्यूनतम प्राथमिकतामा राखे के हुन्छ ? (यस आलेखमा दुई छाक खान धौ–धौ पर्ने समुदायको खानेकर्मबारे चर्चा गरिएको छैन ।) हामी मीठै खाऊँ भन्नका निम्ति असल वा खराब जस्तो कार्य पनि गर्छौं । खानैका लागि कतिपय ठाउँमा आफ्नो श्री, इतिश्री भुलिदिन्छौँ । दौडधूप, मारकाट, झैझगडा खानाकै लागि हुन्छन् । पापी पेटका अघि इमान र न्याय झुकेका सयौँ उदाहरण छन् ।

भनिन्छ, मानिसको सृष्टि गर्दा उसलाई भगवान्ले एउटा अर्ती दिनुभएको थियो रे, एकपटक खानू, अनि तीनपटक नुहाउनू । तर, मानिसले भने त्यसलाई ठिक उल्टो बुझ्यो, एकपटक नुहाउनू, अनि तीनपटक खानू । फलस्वरूप मानिसले आज खाना खानुलाई नै जीवन ज्युनुको पर्याय बनाएको छ ।

हो, खानुपर्छ, मीठो–मसिनो नै खानुपर्छ । पेट चर्कने गरी नै खानुपर्छ । बाँच्नका लागि मात्र होइन, स्वस्थ रहन अनि चुस्त–दुरुस्त रहन पनि खानैपर्छ । तर, हरेक दिन हरेक गाँस हाल्नुअघि एउटै प्रश्नको उत्तर खोज्न जरुरी छ–
के यो खाना मेरो इमान र परिश्रमको खाना हो ?

आखिर पन्जाबले हामीलाई सिकाएको कुरो पनि त्यही थियो– बडो इमानदारीका साथ कृषिकर्म गर्ने अनि आफ्नो परिश्रमको कमाइ उस्तै रइस पाराले खाने ।

तस्बिर : वीर अनमोल सिंह सन्धु, पटियाला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय