‘फ्लु’बारे जानौँ, सामान्य नठानौं

फ्लु के हो ?

सर्वसाधारणले कहिले स्वाइन फ्लु, हङकङ फ्लु, त कहिले बर्ड फ्लु भनेर चिन्ने रोग नै फ्लु हो । फ्लु इन्फ्लुएन्जा भाइरसलाई छोटकरीमा प्रयोग गरिने शब्द हो । यो ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ प्रकारका हुन्छन् । इन्फ्लुएन्जा ‘डी’ खासगरी गाईवस्तुमा मात्र सीमित देखिएको छ भने ‘सी’ एकदम सामान्य हुने र महामारीको रूप लिँदैन भन्ने मान्यता रहेको पाइन्छ । तर, ‘ए’ र ‘बी’ भने हरेक फ्लुको सिजनमा देखिने गरेको पाइन्छ । अमेरिकामा यसको सक्रियता डिसेम्बरदेखि मार्चसम्म हुने गर्छ । नेपालमा मनसुन सिजन र जाडो महिनाको सुरुवात र अन्ततिर बढी मात्रामा देखिने गरेको पाइन्छ ।

लक्षण कस्ता हुन्छन् ?
१. अचानक उच्च ज्वरो आउनु
२. टाउको दुख्नु
३. खोकी लाग्नु (खासगरी सुक्खा)
४. नाकबाट पानी बग्नु
४. मांसपेशीका वा शरीर दुख्नु
५. कसै–कसैलाई पातलो दिसा हुनु (विशेषगरी बालबालिकामा)
यी लक्षणहरू संक्रमणको १ देखि ४ दिनसम्ममा (औसतमा २ दिन) देखिने गर्छ ।

कसरी सर्छ ?
प्रत्यक्ष्य र अप्रत्यक्ष्य गरी २ प्रकारले सर्ने गर्छ । एक मिटरभन्दा कम दूरीमा संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा संक्रमण हुन्छ । त्यस्तै, स्वस्थ व्यक्ति सार्वजनिकस्थलहरूमा जाँदा नाक, मुख, आँखामा बारम्बार हात लगेमा अप्रत्यक्ष्य रूपमा सर्ने गर्छ । त्यस्तै, संक्रमित व्यक्तिले प्रयोग गरेको सरसामान अर्को व्यक्तिले प्रयोग गरेमा पनि सर्न सक्छ । भर्खरैको एक नयाँ अनुसन्धानले संक्रमित व्यक्तिले श्वासप्रश्वास मात्र गर्दा पनि फ्लु भाइरस सर्ने गरेको देखाएको छ ।

सन् १९१८ मा स्पेनिस फ्लुको नामले चिनिने इन्फ्लुएन्जा ‘ए’अन्तर्गत पर्ने ‘एच१एन१’ उपप्रजातिको महामारी फैलिँदा विश्वभर झन्डै ५ करोडजतिको मृत्यु भएको अनुमान गरिएको छ । तत्पश्चात् एसियन फ्लु वा ‘एच२एन२’ को कारणले सन् १९५७–५८ मा अनुमानित २० लाखको मृत्यु भएको र त्यस्तै हङकङ फ्लु अर्थात् ‘एच३एन३’को कारणले विश्वभर करिब १० लाखको मृत्यु भएको अनुमान गरिएको छ ।

के भयो भने प्रयोगशाला परीक्षणमा पठाउने ?
फ्लुको सिजनमा कसैलाई पनि आइएलआई (इन्फ्लुएन्जा लाइक इलनेस) वा सारी (सिभेर एक्युट रेस्पिरेटोरी इलनेस) देखिएमा शंका गर्नुपर्छ र थप निश्चित निदानका लागि प्रयोगशाला परीक्षणमा पठाउनुपर्छ । सय दशमलव ४ डिग्री फरेनहाइट वा त्यसभन्दा बढी ज्वरो आएमा, खोकी लागेमा र त्यो १० दिनभित्रमा भएको भए आइएलआई (इन्फ्लुएन्जा लाइक इलनेस) भनेर परिभाषित गरिएको छ भने यी लक्षणहरूका अलावा अस्पताल पनि भर्ना गर्नुपर्ने अवस्था देखिएमा सारी (सिभेर एक्युट रेस्पिरेटोरी इलनेस) भनेर परिभाषित गरिएको छ । प्रयोगशाला निदान भइसकेपछि भने अधिकारिक रूपमा फ्लु फैलिएको मानिन्छ ।

किन गम्भीर रूपमा लिने गरिन्छ ?
सन् १९१८ मा स्पेनिस फ्लुको नामले चिनिने इन्फ्लुएन्जा ‘ए’अन्तर्गत पर्ने ‘एच१एन१’ उपप्रजातिको महामारी फैलिँदा विश्वभर झन्डै ५ करोडजतिको मृत्यु भएको अनुमान गरिएको छ । तत्पश्चात् एसियन फ्लु वा ‘एच२एन२’ को कारणले सन् १९५७–५८ मा अनुमानित २० लाखको मृत्यु भएको र त्यस्तै हङकङ फ्लु अर्थात् ‘एच३एन३’को कारणले विश्वभर करिब १० लाखको मृत्यु भएको अनुमान गरिएको छ । सन् २००९ मा ‘एच१एन१ प्यानडेमिक’ देखापर्यो, जसलाई सर्वसाधारणले ‘स्वाइन फ्लु’को नामले चिन्ने गर्दछन् । वैज्ञानिकहरूको अनुमानअनुसार विश्वभर झन्डै २ लाख ३ हजारको यसै भाइरसका कारणले मृत्यु भएको थियो ।

गत वर्ष बेलायतको फ्लुसम्बन्धी तथ्यांक हेर्ने हो भने अघिल्लो वर्षभन्दा २ गुणा बढी मानिसको यसैको जटिलताबाट मृत्यु भएको देखिन्छ । नेपालमा यसबारे बृहत् अध्ययन–अनुसन्धान भएको पाइँदैन । तर, विडम्बना के छ भने धेरै सर्वसाधारणले फ्लुलाई सामान्य रुघाखोकी भनेर चिकित्सकसँग परामर्श लिने गरेको पाइँदैन । चिकित्सकहरू स्वयम् पनि यो संक्रमणलाई एकदमै सामान्य रूपमा लिने गर्छन् र अझ कहिलेकाहीँ उदाहरण दिँदा यो रोग रुघाखोकीजस्तो होइन भन्ने गरेको पनि पाइन्छ । गत वर्ष नेपालमा यो भाइरसको संक्रमणबाट उत्पन्न जटिलताका कारण दर्जनको हाराहारीमा मृत्यु भएको अनुमान गरिएको थियो । तथ्यांक संकलन गर्न सकेको भए यो संक्रमणविरुद्ध भावी योजना बनाउन धेरै मद्दत मिल्नेथियो ।

नेपालमा फ्लुको अवस्था कस्तो होला ?
हुन त फ्लु कहिलेदेखि नेपालमा देखियो भनेर यकिनसँग भन्न सकिने आधार देखिँदैन, तर यसको चर्चा विशेष गरेर सन् २००९ मा विकसित ‘स्वाइन फ्लु’ भनिने ‘एच१एन१ प्यानडेमिक’ देखापरेपछि भएको थियो । त्यतिवेला पहिलोपल्ट मेक्सिकोमा देखिएको र त्यसपछि विश्वभरि नै तीव्र गतिमा फैलँदै नेपालसम्म आइपुगेको थियो । वास्तवमा त्यसवेला ‘स्वाइन फ्लु’ले नेपाल मात्र नभएर विश्वमै ठूलो सन्त्रास फैलाएको थियो । यो हाल नेपालमा लगभग हरेक फ्लु सिजनमा देखापर्दै आएको पाइन्छ । तसर्थ, विश्व स्वास्थ्य संगठनले पनि यसलाई ‘सिजनल फ्लु’ भन्ने गरेको छ । तर, अहिले पनि सर्वसाधारण ‘स्वाइन फ्लु’ भन्नेबित्तिकै डराउने गर्छन् । यसबाहेक नेपालमा फ्लु ‘बी’ प्रजाति र फ्लु ‘ए’अन्तर्गत ‘एच३एन२’ जसलाई ‘हङकङ फ्लु’ भनेर पनि चिनिन्छ र कुखुराहरूमा देखिने बर्ड फ्लु अर्थात् ‘एच५एन१’ देखिँदै आएको छ । यी विभिन्न प्रजाति र उपप्रजातिबारे गहिरो अध्ययन–अनुसन्धान भएको भने पाइँदैन ।

हाल खासै बहसमा नआउने अर्को बच्ने प्रमुख उपाय भनेको खोप लिनु हो । यो आजभोलि निजी अस्पतालहरूमा पनि सजिलै पाइने गरेको छ । विशेषगरी ६५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा श्वासप्रश्वासका दीर्घरोगीका लागि खोप निकै लाभदायक हुन्छ ।

कसरी बच्ने ?
स्कुल तथा मन्टेस्वरीजस्ता सार्वजनिक शिक्षणसंस्थाहरू केही दिनका लागि बन्द गर्नुपर्छ । विदेशमा पनि फ्लुको महामारी हुँदा यस्तो गरेको पाइन्छ । फ्लु फैलिसकेको अवस्थामा सकेसम्म सार्वजनिकस्थलहरूमा नजाने, नाक, मुख, आँखामा बारम्बार हात नलाने, संक्रमित व्यक्तिसँग अभिवादन गर्दा हात नमिलाउने, घर फर्केपछि राम्रोसँग हात–मुख साबुनपानीले धुने गर्नुपर्छ । संक्रमित व्यक्तिले हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्नुपर्छ । आफू संक्रमित भएको अवस्थामा घरबाहिर नजाने र घरमा बस्दा पनि सकेसम्म घरका अन्य सदस्यभन्दा अलग्गै बसेमा संक्रमण सर्ने सम्भावना कम रहन्छ ।

हाल खासै बहसमा नआउने अर्को बच्ने प्रमुख उपाय भनेको खोप लिनु हो । यो आजभोलि निजी अस्पतालहरूमा पनि सजिलै पाइने गरेको छ । विशेषगरी ६५ वर्षमाथिका ज्येष्ठ नागरिक तथा श्वासप्रश्वासका दीर्घरोगीका लागि खोप निकै लाभदायक हुन्छ । तर, यो खोप फ्लुको सिजन सुरु हुनुअघि नै लगाइसक्नुपर्छ । पश्चिमा विकसित देशहरूमा वर्षमा एकपटक जाडो महिनामा यो भाइरस बढी देखिने समयमा एकपटक खोप लगाउने र वर्षभरि पुग्ने मान्यता छ । तर, नेपालमा कम्तीमा पनि दुई वा सोभन्दा बढीपटक फ्लु भाइरस सक्रिय हुने भएकाले वर्षमा एकपटक लगाएको खोपले पुग्छ वा पुग्दैन अथवा हरेक सिजनमा परिवर्तित जिन लिएर आउने भाइरसलाई उपलब्ध खोपले अधिकतम फाइदा गर्छ वा गर्दैन भन्ने प्रश्न अहिले पनि टड्कारो देखिन्छ । तर पनि खोप लगाउँदा यसबाट हुन सक्ने मृत्युदरलाई धेरै कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।

(डा. पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय