वैदेशिक रोजगारीको कहर– कोमामा रहेकालाई आइसियू, शव ढुवानी गर्न कम्पनी खोज्दै सरकार

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज २२ गते ९:२७

वैदेशिक रोजगारीका क्रममा संसारका विभिन्न देशमा पुगेर दुर्घटना र गम्भीर रोगका कारण अचेत अवस्थमा (कोमा)मा रहेका विरामीलाई देशभित्रकै अस्पतालमा ल्याएर उपचार गरिने तयारी सरकारले थालेको छ । त्यसैगरी रोजगारीकै क्रममा मृत्यु भएकाहरुका शव त्रिभुवन विमानस्थलबाट घरसम्मै पुर्याइदिने पनि सरकारले तयारी थालेको छ । हाल विभिन्न देशका अस्पतालमा १८ नेपाली कोमामा छन्, भने दैनीक ६ जनाको मृत्यु हुनेगरेको तथ्यांक छ । हाल ४० लाखभन्दा बढी युवा वैदेशिक रोजगारीकाे सिलसिलामा विदेशमा छन् ।

गम्भीर रोग एवं दुर्घटनापछि वैदेशिक रोजगार गन्तव्य मुलुकका अस्पतालमा ‘कोमा’मा रहेका बिरामीलाई नेपालकै अस्पतालमा ल्याएर उपचार गर्न यस्तो तयारी भएको हो । उनीहरुलाई नेपाल फर्काएर अस्पतालमा उपचार गर्नका लागि वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवर्धन बोर्ड र स्वास्थ्य मन्त्रालय समन्वयमा काम अगाडि बढेको छ । अचेत अवस्थामा रहेका र पूर्ण निको भएर सामान्य जीवनमा फर्किन नसक्ने भएपछि रोजगारदाता कम्पनीलाई पनि फिर्ता लैजान बारम्बार सरकारलाई आग्रह गरिरहेको छ । यस्ता बिरामीका आफन्तको पनि अन्तिम अवस्थामा मात्रै भएपनि भेट गर्ने ‘मुख मात्रै हेर्ने’ भावनात्मक चाहना छ । यस्ता मानवीय विषयलाई ध्यानमा राखेर सरकारले यस्तो प्रयत्न अगाडि बढाएको अधिकारीहरुको भनाइ छ ।

वैदेशिक रोजगार प्रवर्धन बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार नेपालकै वीर, त्रिवि शिक्षण अस्ताल, सिलिभजस्ता अस्पतालमा यस्ता विरामीका लागि छुट्टै आइसियु निर्माण गरिने तयारी भइरहेको छ । त्यसरी आइसियु निर्माणका लागि बोर्ड १० करोडसम्म अस्पतालहरुलाई सहयोग गर्नसक्ने उनले बताए । ‘कति दिनसम्म र कति पैसासम्म उपचार खर्च सरकारले वेहोर्ने भन्ने कार्यविधिमा तोकिनुपर्छ’ उनले भने । सरकारी बेड नपाएको अवस्थामा निजीमा उपचार गर्न नगर्ने विषयमा पनि कार्यविधिमै स्पष्ट गर्नुपर्ने श्रेष्ठ बताउँछन् ।

वोर्डका अनुसार ठूला अस्पतालमा कम्तीमा २० वटा अतिरिक्त आइसियु बनाउने र ती बेडहरु वैदेशिक रोजगारीका कामदार नआएको अवस्थामा मात्रै अन्य विरामी राख्न सकिने,अन्यथा पहिलो प्राथमिकता यस्ता बिरामीलाई दिनुपर्ने सर्तमा मात्रै कोषले आइसियु बनाउन बजेट दिने जनाएकाे छ ।

त्यसैगरी वैदेशिक रोजगारमा रहेका कामदारको शव घरसम्म ढुवानी गर्न पनि वोर्डले ढुवानीकर्ता फर्म वा कम्पनीसँग बोलपत्र माग गरेको छ । बाेर्डले एक सूचनामार्फत त्रिभुवन अन्तराष्ट्रिय विमास्थलबाट सम्बन्धित मृतकका घरसम्म पुर्याउनसक्ने कम्पनी खोजेको हो ।

मृत्यु र विरामीबाहेक वैदेशिक रोजगारका कारण ठूलो संख्यामा युवाहरु अनेक प्रकारका रोगबाटसमेत पीडित भइरहेका छन् । अस्वस्थ जीवन शैली, चर्को गर्मी, गुणस्तरहीन र अत्यधीक मदिरा एवं सुर्तिजन्य पदार्थको प्रयोग, मानसिक तनाब उनीहरुको मृत्यु र विरामी हुने प्रमुख कारण बनिरहेको विज्ञहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय