दुइटा बम बोकेकी केटी– भाग १

साँझ परिसकेको थियो, प्युठान अस्पतालको ओपिडी, अप्रेसन सकेर प्राइभेट क्लिनिकमा केही बिरामी हेर्न झरेको थिएँ । बिरामी सकेर माथि उक्लिन लाग्दा प्राइभेट क्लिनिकका सञ्चालक बद्री दाइले भन्नुभयो, ‘डाक्साब, तपाईंलाई नै देखाउनुपर्ने एउटा केस छ ।’
छेउमा हेरेँ, एउटी अधबैँसे महिला, दुइटी छोरी, एउटी ९–१० वर्षकी, अर्की झन् सानी, लिएर भुइँमा टुक्रुक्क बसिरहेकी रहिछिन् । मैले ‘हवस्, हेर्छु’ भनेर भित्र ओपिडीमा बोलाएँ । हातमा पुराना रिपोर्ट रहेछन्, मागेर हेर्न थालेँ । बच्चीको नाम तारा मगर रहेछ । एक्स रे हेरेँ, देब्रेतिरको फोक्सोमा सेतो ठूलो धब्बा देखियो । म झसंग भएँ, मनमा के हो यो भन्ने भयो । आमालाई सोधेँ– के भ’को हो ?

‘खोक्दा रगत आउँछ ।’ उनको जवाफ सुन्दै अरू रिपोर्ट हेर्न थालेँ । पहिलेका भिडियो एक्स रेका रिपोर्ट, दुई–तीन अस्पतालमा जाँचेका रिपोर्ट पनि रहेछन् । भिडियो एक्स रेमा पल्मोनरी र हेपाटिक हाइडाटिड सिस्ट भनेको रहेछ, अर्थात्, एकखाले फित्तेकिरा (Echinococcus granulosus)को लार्भाको संक्रमणले बनाएको पानीको डल्लो १० वर्षे नानीको फोक्सो र कलेजोमा रहेछ । सिटी स्क्यान गरेर अप्रेसन गर्ने सल्लाह दिएको पनि १–२ वर्ष भइसकेको रहेछ । पैसा नभएर विकल्पका रूपमा ‘अल्बेन्डाजोल’ औषधि खाँदै फलोअपमा गएका रहेछन्, तर बुटवल जाने पैसा पनि नभएपछि जचाउन छोडिदिएका रहेछन् । यत्ति थाहा पाएपछि मलाई पुगिहाल्यो ।
झमक्क साँझ परिसकेको थियो ।
‘खाना खानुभो त ?’
‘छैन ।’
‘ल ठिक छ, अब माथि सरकारी अस्पताल हिँड्नुस्, खाना खाने, बस्ने, जाँच्ने, औषधोपचारको सबै व्यवस्था म गराइदिन्छु ।’
बद्री दाइलाई यो बिरामीको टिकटको पैसा नलिन भनेर म ती ३ जना आमाछोरीलाई लिएर प्युठान जिल्ला अस्पतालको भर्याङ चढेँ ।
अस्पतालको भान्सा पनि बन्द हुन लागिसकेको थियो । दीपा बहिनीले भर्ना भएका सबै बिरामीलाई खाना खुवाएर हिँड्न लागिसकेकी थिइन् । मैले उनलाई ‘यी आमाछोरी भर्ना हुने बिरामी हुन्, खाना बाँकी छ भने एकछिन बसेर खुवाइदेऊ है’ भनेर आफू पनि खाना खान गएँ ।

उनकी आमा ठूलो झोला बोकेर दुई छोरीलाई अगाडि लगाएर आउँदै थिइन् । सहरबाट ठूलो उपचार गरेर मृत्युको मुखबाट बचेर आफ्नै मान्छे घर फर्किएझैँ खुसी लागिरहेको थियो । नजिकैबाट बद्री दाइले ‘डाक्साबले यी नानीका लागि धेरै गर्नुभयो’ भन्दै गर्दा अनायासै आँखा रसाए । उनको फोक्सोको बम डिस्पोज गरिएको थियो, कलेजोको बम अझै बाँकी थियो ।

खानापछि भर्ना गरेर ‘अति गरिब’ शीर्षकमा निःशुल्कमा एक्स रे, रगतको जाँच गरियो । आफैँले भिडियो एक्स रे गर्न थालेँ । कलेजोमा बडेमानको पानीको डल्लो, फोक्सोमा त्यस्तैखालको अर्को डल्लो देखियो । मलाई यी नानी जिउमा दुईवटा बम लिएर हिँडेझैँ लाग्न थाल्यो । ‘हाइडाटिड सिस्ट’को डल्लोभित्र झोल पदार्थ हुन्छ, जुन फुटेर वा चुहिएर रगतमा वा शरीरको भित्री भागमा सम्पर्कमा आए डरलाग्दो एलर्जिक रियाक्सन भएर ज्यानै जान सक्छ । तारा त्यस्ता बडेमानका दुईवटा डल्ला लिएर बाँचिरहेकी रहिछन् ।
अब उनको उपचार अघि बढाउनुपर्याे।
उपचारका लागि छातीदेखि पेटसम्मको सिटी स्क्यान नगरी त हुँदै भएन । नजिकको सिटी स्क्यान सुविधा भएको ठाउँ भनेको बुटवल । खर्चको व्यवस्था विभिन्न दाताहरूको सहयोगबाट चलेको ‘विपन्न बिरामी सहयोग कोष’बाट गर्न सकिन्थ्यो, तर लिएर को जाने भन्ने भयो । आमाछोरी मात्रै जाँदा हराउलान् भन्ने भयो, अझ उनीहरूसँग मोबाइल फोन पनि थिएन । सानो चिर्कटोमा गाउँका सहयोगी दुईजना स्थानीयको नम्बर बोकेर ल्याएका रहेछन् । मैले आफैँले फोन लगाएर कुरा गरेँ, बल्ल–बल्ल एकजना बुटवलसम्म सँगै जान तयार भए । अब सिटी स्क्यानका लागि आम्दा, बुटवलका बालरोग विशेषज्ञ, मेरा सिनियर दाइ, डा. सन्तोष पोख्रेललाई फोन लगाएँ । ‘यस्तो–यस्तो केस छ, सिटी स्क्यान गर्नुपर्ने, के–कति लाग्छ, डिस्काउन्टमा गर्न सकिन्छ कि, अलिअलि सहयोग दिएर पठाउँछु ।’

‘सिइसिटी गर्दा दिइने औषधि ‘कन्ट्रास्ट’चाहिँ किन्नुपर्छ, अरूको चाहिँ म मिलाउन भन्छु । अनि रिपोर्ट हेरेर अरू के गर्ने पनि सल्लाह गरौँला ।’
केही रकम दिएर तारा आफ्नी आमा र बहिनीसँग एउटा सहयोगी भाइको साथ लागेर बुटवल हिँडिन् ।
सिटी स्क्यान भयो । फोक्सोको हाइडाटिड सिस्ट फुटिसकेको रहेछ, कलेजोको सिस्ट ठिकै रहेछ । अब डा. सन्तोषको सल्लाहमा बुटवलमा रहनुभएका सर्जन डा. शरद पोख्रेलकोमा देखाउन जाने कुरा भयो । ‘केस कम्प्लिकेटेड हो, बेहोस बनाउन एनेस्थेसियाको समस्या हुन्छ, एकातिरको फोक्सोतिर मात्र सास दिनुपर्ने हुन्छ, अप्ठ्यारो छ’ भन्ने कुरा भयो । यता प्युठानमा बसेर म र डा. दीक्षाले उसलाई काठमाडौं, मनमोहन सिटिभिएस पुर्याउने निर्णय गर्यौं र उनीहरूलाई प्युठान फिर्ता बोलायौँ ।

पहुँच भएका र पैसा हुनेका लागि काठमाडौं सहज हो, दुवै नहुनेका लागि सगरमाथा चढेजत्तिकै हो । गाउँका कुना–कुनाका बिरामीका लागि जिल्ला अस्पताल नै अन्तिम विकल्प हुन्छ, सहर पुग्ने त तिनले सोचेकै हुँदैनन्, न सपनामा नै देखेका हुन्छन् । ती हजार–पन्ध्र सय लिएर उपचार गराउन आउँछन्, विचरा तिनलाई के थाहा– तिनको रोग कति ठूलो छ, औषधोपचार कति महँगो छ भनेर । भारततिर काम गर्ने आफन्त छन् भने चाहिँ बरु लखनउका अस्पताल धाउन सजिलो मान्ने रैछन् ।

काठमाडौं त पठाउने, कसरी पठाउने ? कोसँग पठाउने ? काठमाडौं जाने भन्नेबित्तिकै उनकी आमा आत्तिसकेकी थिइन् । ‘कोइ छैन, कसरी जाने ? खर्च धेरै लाग्ला, बोल्न जान्दिनँ, कता जाने ? हराउने होला ’ के–के हो के–के, डरले छोपिसकेथ्यो ।
मैले सम्झाउँदै भनेँ, ‘तपाईंलाई जसरी बुटवल पठायौँ, त्यसरी नै काठमाडौं पठाउँछौँ, पैसा दिएर पठाउछौँ, यताबाट बस चढ्ने, उता ओर्लिनेबित्तिकै तपाईंलाई लिन मान्छे आउँछ, सँगै लगेर अस्पतालमा भर्ना गरिदिन्छ, उपचारको व्यवस्था मिलाइदिन्छ, खर्च सकिन लाग्यो भने फेरि पठाइदिन्छु, केही चिन्ता लिनुपर्दैन ।’
डा. दीक्षाले सल्लाह दिइन्, ‘बरु एउटा सिम्पलखाले फोन पनि दिएर पठाउनुपर्छ होला, कुरा गर्न सजिलो हुन्छ ।’
‘ओके !’
हजार–पन्ध्र सयको फोन खोज्न बजार झर्यौँ, किनेर ल्याइयो । सिम पनि झिकियो । तर, आमाछोरी दुवैलाई फोन चलाउन नआउने । छोरीलाई फोन चलाउन सिकायौँ, उसैलाई फोन चलाउन दियौँ, आमालाई घर पठाएर काठमाडौं जाने व्यवस्था मिलाई बिजुवार आउन भन्यौँ । यता छोरीलाई अस्पतालको बेडमै बस्ने व्यवस्था मिलाएर राख्यौँ, उनी नयाँ पाएको मोबाइल फोन सिक्नमा व्यस्त भइन् ।

काठमाडौंमा मनमोहन कार्डियोथोरासिक सेन्टरका कार्डियोथोरासिक सर्जन डा. रञ्जन सापकाेटासँग ताराको विषयमा कुरा भयो । यस्तो केस, यसरी सहयोग गरेर पठाउन लागेका छौँ, सकेसम्म निःशुल्क बेडमा व्यवस्था मिलाइदिनुहोला भनेर अनुरोध गरियो । धेरै पोजिटिभ रेस्पोन्स पाइयो ।
अब काठमाडौंको कलंकीमा उनीहरूलाई बसबाट उत्रनेबित्तिकै रिसिभ गरेर मनमोहन सिटिभिएस, महाराजगन्ज लगिदिने मान्छे खोज्नुपर्यो ।
को होला त त्यस्तो मान्छे ?
युवराज ढकाल ।
उहाँ मसँग फेसबुकमा साथी हुनुहुन्थ्यो, मेरो कामदेखि प्रभावित भएर मसँग यस्तैखाले समाजसेवा गर्ने इच्छा व्यक्त गरिराख्नुहुन्थ्यो । उहाँलाई फोन गरेँ, खुला हृदयले स्वागत गर्नुभयो । ‘हुन्छ, म सक्दो सहयोग गर्छु, मलाई यस्तो काममा सहभागी हुने मौका दिनुभएकोमा सरलाई धन्यवाद !’

भोलिपल्ट बिहान तारा आफ्नी आमा र बहिनीसँग कलंकी पुगिन्, त्यहाँबाट हाम्रो गन्तव्य अस्पताल पनि पुगिन् । मलाई भने यता धर्तीबाट रकेट उडाएर अन्तरीक्ष हुँदै चन्द्रमामा ठ्याक्क ल्यान्डिङ गरेझैँ फिल भइरहेको थियो, त्यत्तिकै खुसी मिलिरहेको थियो ।

म आफूचाहिँ धन्य भएँ । समाजमा यस्ता सहयोगी मनहरू धेरै हुन्छन्, मात्र तिनलाई सही समय र माध्यमको खाँचो हुन्छ । कतिले खुला मनले रकम दिएर सहयोग गर्छन्, कतिले आफ्नो समय दिएर सहयोग गर्छन् । दुवै उत्तिकै महान् हुन्छन् ।
काठमाडौं पठाउनुअघि उनकी आमालाई थप काउन्सेलिङ गर्नुपर्यो । किन पठाउन लागेको हो, त्यहाँ गएर के–के उपचार हुन्छ, के–के समस्या हुन सक्छ, सहयोग गर्ने को–को हुन्छन्, आदि–इत्यादि । त्यहाँ गएर अप्रेसन गर्नुपर्छ भन्दा ‘अप्रेसन गरेपछि राम्रो त हुन्छ नि !, ज्यान तलमाथि त हुन्न नि ?’ भनेर सोध्नुहुन्थ्यो । धेरै समय लगाएर म र डा. दीक्षा भएर आमालाई सम्झाउनुपर्यो । ‘म मेरी आफ्नै बहिनी भएको भए पनि यही तरिकाले त्यही ठाउँमा लगेर अप्रेसन गराउँथेँ, उपचार गरे निको हुन सक्छ, नगरे त निको हुँदैहुँदैन, नआत्तिनुस्, हामी सक्दो सहयोग गर्छौं’ भनेर धेरै सम्झाएपछि बल्ल जान तयार हुनुभयो । सुरुसुरुमा ‘डाक्टरसाब’ भन्ने उहाँ मलाई अब ‘भाइ’ भन्न थाल्नुभएको थियो ।

उनीहरूले प्युठानको जुम्री बसपार्कबाट काठमाडौंका लागि नाइट बस समाते । बाटोबाट पनि फोन गरिरहन्थे । भोलिपल्ट बिहान तारा आफ्नी आमा र बहिनीसँग कलंकी पुगिन्, त्यहाँबाट हाम्रो गन्तव्य अस्पताल पनि पुगिन् । मलाई भने यता धर्तीबाट रकेट उडाएर अन्तरीक्ष हुँदै चन्द्रमामा ठ्याक्क ल्यान्डिङ गरेझैँ फिल भइरहेको थियो, त्यत्तिकै खुसी मिलिरहेको थियो ।
अस्पतालको बसाइ, त्यसमा पनि नयाँ ठाउँको, देशकै ठूलो अस्पताल, गाउँका बिरामीलाई गाह्रै हुन्छ । सुरुमा इमर्जेन्सीमा राखियो, मैले सबै कुरा लेखेर, ‘डा. रञ्जनसँग कुरा भएको’ भनेर समेत लेखेर आफ्नो नाम र फोन नम्बरसहित रेफर लेटर दिएर पठाएको थिएँ । डा. रञ्जनसँग फोनमा पनि कुरा गरेँ, अब निःशुल्क बेडमा भर्ना हुने भयो । युवराजजीले सक्दो सहयोग गर्नुभयो । त्यहाँ पनि थप जाँचहरू भए, सिटी स्क्यान भए, रिपोर्टबारे फोनमा कुराकानी भइरहेको थियो । औषधोपचार र खानामा पैसा सकिँदै थियो । ताराकी आमासँग र तारासँग पनि फोनमा कुरा भइरहन्थ्यो । पैसा सकिन लागेकाले बीचमा फेरि केही रकम आइएमई गरेर पठाइदिएँ ।

अप्रेसन गर्ने दिन पनि आयो ।
युवराजजी आफ्नो कामबाट सक्दो समय निकालेर अस्पताल गइरहनुभएको थियो । अप्रेसनको दिन पनि आफ्नै मान्छेलाई सम्झाएजस्तो गरी सम्झाउनुपर्यो, निको हुन्छ, सक्दो राम्रो गर्नुहुन्छ भनेर बुझाउनुपर्यो । अप्रेसन टिएटरमा छिर्नेवेला तारा खूब रोइन् रे, पछि उसैले सुनाएकी थिई । उसको छाती चिरेर देब्रे फोक्सोमा रहेको हाइडाटिड सिस्ट निकालिएको थियो । अप्रेसनपछि केही दिन अस्पतालमा बसेर आइसियू, अनि वार्ड बसेर डिस्चार्ज भइन् ।

प्युठान फर्कनेवेला पनि उनको अप्रेसनको घाउको दुखाइका कारणले बस चढ्न लागेको पनि नसकेर आउने मिति पछि सार्नुपर्यो । अनि केही दिन उनीहरू काठमाडौंमा भएका टाढाका आफन्तकोमा बसे । अन्ततः एकदिन उनीहरू प्युठान फर्के । उनीहरू आइपुग्दा म क्लिनिकबाहिर उभिरहेको थिएँ । उनकी आमा ठूलो झोला बोकेर दुई छोरीलाई अगाडि लगाएर आउँदै थिइन् । सहरबाट ठूलो उपचार गरेर मृत्युको मुखबाट बचेर आफ्नै मान्छे घर फर्किएझैँ खुसी लागिरहेको थियो । नजिकैबाट बद्री दाइले ‘डाक्साबले यी नानीका लागि धेरै गर्नुभयो’ भन्दै गर्दा अनायासै आँखा रसाए । उनको फोक्सोको बम डिस्पोज गरिएको थियो, कलेजोको बम अझै बाँकी थियो । त्यो अर्को बमबारे सोच्दै हामी सँगै चिया खान पाण्डे होटेलतिर लाग्यौँ ।
क्रमशः…

6 thoughts on “दुइटा बम बोकेकी केटी– भाग १

  1. wow! great job doctor sap!
    big salute 🙏
    धेरै खुसी लाग्यो मेरो गाउँ नजिकै को मान्छे एस्तो समस्या र पीडा मा ग्रस्त रहनु भ्एको रहेछ मलाई नि थाहा थिएन ! गाउँ घरका पीडित बिरामी र आर्थिक अवस्था कम्जोर भएको एउटा बिरामीलाई नँया जिवन दिनुभएछ !उहाहरुको नजर र जीवनमा त भगवान बनेर आउनु भएछ । म जस्तो यो खबर सुन्ने हरुलाई पनि तपाई भगवान भन्दा कम लागेन !तपाईको एस्तो खुल्ला हिर्दय र हात हरु सधै अगाडि बढून !
    अनि मेरो तर्फ बाट नि धन्यावाद हजुरलाई !!

    1. तपाईंको नाम प्युठानिले निद्रामा पनि त्यसै जप्दैनन सर;;;;;;;; that’s why u are perfect sir…… thank you for your great support

  2. Great job doctors…. it feels great when we are get to know about the services you are providing to those vulnerable and poor people.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय