पिसाबको संक्रमण : रोकथाम र उपचार

सामान्यतया मानिसको पिसाब कीटाणुरहित हुनुपर्छ । माइक्रोस्कोपिक परीक्षणका क्रममा पिसाबमा कीटाणु देखिएमा वा कल्चर गर्दा अत्यधिक मात्रामा कीटाणु भेटिएमा त्यसलाई पिसाबमा भएको संक्रमण भन्ने गरिन्छ ।
मानव शरीरका सम्पूर्ण अंगहरूमा मानवलाई हानि नगर्ने किसिमका ब्याक्टेरिया हुन्छन् । पिसाब फेर्ने, दिसा गर्ने ठाउँवरपर त झन् मानव शरीरका अन्य ठाउँभन्दा धेरै ब्याक्टेरिया हुन्छन् । कुनै कारणवश ती ब्याक्टेरियाहरू मूत्रनलीे वा मूत्रथैलीमा पुगेमा पिसाबको संक्रमण हुने गर्दछ ।
मानिसले फोहोर ठाउँमा पिसाब गरेमा पिसाबमा विभिन्नखाले संक्रमण हुन सक्छ भन्ने आशंका गर्छन्, तर त्यस्तो हुने भने होइन । ब्याक्टेरिया मानव शरीरबाट नै हुने हो र त्यसले नै पिसाबमा संक्रमण गराउने गर्छ । उपचारका क्रममा इन्डोस्कोपी गरेको समयमा तथा पाइपको प्रयोग गरेका कारणले पनि कीटाणुहरू मूत्रथैलीमा गई पिसाबको संक्रमण हुन सक्छ ।

लक्षण
– पिसाब गर्ने वेलामा पोलेको अनुभव हुनु ।
– पटक–पटक पिसाब लागेको महसुस हुनु ।
– कहिलेकाहीँ पिसाबमा रगत देखापर्नु ।
– काम छुटेर ज्वरो आउनु ।

पिसाबमा संक्रमण भएको छ कि छैन थाहा पाउनका लागि चिकित्सककहाँ गएर परीक्षण गराउनु आवश्यक हुन्छ । कल्चर प्रविधिको प्रयोगले कुन किसिमको ब्याक्टेरियाले आक्रमण गरेको छ भन्ने थाहा पाउन सकिन्छ, जसका लागि कम्तीमा २ दिनको समय लाग्छ । पिसाबको सामान्य जाँच तथा कल्चर प्रविधिबाट पिसाबको संक्रमणबारे थाहा पाउन सकिन्छ ।
बारम्बार पिसाबको संक्रमण हुनु भनेको कुनै अन्य रोगको लक्षणसमेत हो । पिसाबमा हुने संक्रमण विशेषगरी बालबालिका र वृद्घहरूमा बढी हुन्छ । बच्चा जन्मेको सामान्यतया २–४ महिनादेखि ५–७ वर्षसम्म बच्चामा पिसाबको संक्रमण हुने गर्छ । जन्मजात रूपमा बच्चाको पिसाबथैलीमा केही समस्या भएका कारण पनि यस्तो हुने गर्छ । पिसाबनलीमा झिल्लीले अवरोध पुगेका कारण पिसाबथैली तथा पिसाबनलीमा पिसाब जम्मा हुनाले पनि पिसाबको संक्रमण हुने गर्छ । बच्चामा लगातार पिसाबको संक्रमण भएमा युरोलोजिस्टको सल्लाहअनुसार उपचार गराउनुपर्ने हुन्छ । यदि उपचार तथा युरोलोजिस्टको सल्लाहअनुसार काम गर्न नसकेको खण्डमा कलिलै उमेरमा मिर्गौला फेल हुन सक्छ ।

महिलामा विवाहपश्चात् पनि पिसाबको संक्रमण हुने गर्छ । विवाहपश्चात् हुने यौनसम्पर्कका कारण यस्तो हुने गर्छ । अर्काे भनेको पाको उमेरका पुरुषहरूमा प्रोस्टेटको आकार बढ्ने भएकाले उनीहरूमा पनि पिसाबको संक्रमण हुने गर्छ । वेलैमा पिसाबमा हुने संक्रमणबारे युरोलोजिस्टको सल्लाहअनुसार उपचार नगरेमा यसले मानिसको ज्यानसमेत लिन सक्छ ।

उपचार विधि
१. औषधिको प्रयोग
सामान्यतया संक्रमण ब्याक्टेरियाका कारण हुने भएकाले यसका लागि एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने हुन्छ । पिसाबको संक्रमणमा डाक्टरको सल्लाहअनुसार ७ देखि १४ दिनसम्म एन्टिबायोटिकको प्रयोग गर्नुपर्ने हुन्छ ।

२. शल्यक्रिया
यदि संक्रमण कुनै अन्य कारणहरू जस्तै मूत्रथैलीको समस्या, मूत्रनलीमा अवरोध वा पिसाब मिर्गौलातिर फर्कने अवस्थाले भएको छ भने त्यतिवेला शल्यक्रियाबाट पिसाब सजिलै निस्कने गरी बाटो बनाउनुपर्ने हुन्छ । यसका लागि शल्यक्रिया नै उत्तम उपाय हो ।

रोकथामका उपाय
पहिलो त पिसाब संक्रमणका कारण थाहा पाउनु आवश्यक छ । पानी कम खाने आदत भएका मानिसले अत्यधिक पानी पिउने गर्नुपर्छ । खानेकुरामा पर्याप्त पोषकतत्व समावेश गर्नुपर्छ । पिसाब जम्न दिनुहुँदैन । कतिपयले सार्वजनिक शौचालयको प्रयोग गरेमा पिसाबमा संक्रमण हुन्छ समेत भन्ने गरेको सुनिन्छ, तर यसको कुनै वैज्ञानिक आधार छैन । बरु धेरैबेरसम्म पिसाब रोकेमा चाहिँ पिसाबको संक्रमण हुने गर्छ । सामान्यतया ३–४ घण्टाको अन्तरालमा पिसाब गरिरहनुपर्ने हुन्छ । पिसाबको संक्रमणको महत्वपूर्ण रोकथामको उपाय भनेको संक्रमण हुने कारणहरू पत्ता लगाएर त्यसतर्फ सचेत रहने र संक्रमणको आशंका हुनासाथ उपचार गराउने नै हो ।

उपप्राध्यापक, चिकित्साशास्त्र अध्ययान स‌स्थान युरोलोजी तथा मिर्गौला प्रत्यारोपण सर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय