‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’- दूध, पानी र खानेतेल प्राथमिकतामा

हेल्थपोस्ट
प्रकाशित
२०७५ असोज १८ गते १७:२३

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कामकाज प्रभावकारी बनाउन ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ स्वीकृत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालको अवधारणाअनुसार चालू आर्थिक वर्षको खाद्य, पोषण तथा प्रविधि कार्यक्रमअन्तर्गत ‘खाद्य स्वच्छता तथा गुणस्तर अभियान’ स्वीकृत भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर ३३ ले खाद्य स्वच्छता र गुणस्तर प्रवर्धन गर्न प्रभावकारी नियमनको व्यवस्था गर्न र बजेट वक्तव्यको बुँदा नम्बर ८३ ले खाद्य स्वच्छता प्रवर्धन गर्न प्रभावकारी नियमनको व्यवस्था गर्ने व्यवस्था गरेबमोजिम उक्त कार्यक्रम स्वीकृत भएको हो ।

अभियानले आमउपभोक्तामा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तरबारे चेतना बढाउनुका साथै गुणस्तर नियमनका माध्यमबाट गुणस्तरीय खाद्य पदार्थको उपलब्धतामा वृद्धि गराउने लक्ष्य लिएको छ । अभियानमार्फत १ वर्षभित्र देशका मुख्य–मुख्य सहरमा उत्पादन तथा बिक्री हुने दूध तथा दुग्धपदार्थ, प्रशोधित पिउने पानी, खानेतेललगायत खाद्य पदार्थको स्वच्छता तथा गुणस्तरमा उल्लेख्य सुधार ल्याउन सकिने दाबी विभागको रहेको वस्तीले बताए ।

खासगरी अभियानले तीनवटा क्षेत्रको स्वच्छता तथा गुणस्तर कायम गर्न कार्यक्रम चलाउनेछ– दूध तथा दूग्ध पदार्थ, प्रशोधित पिउनेपानी, खानेतेल । अभियानअन्तर्गतका कार्यक्रमहरूलाई तीन चरणमा विभाजन गरिएको छ । जसमा उपभोक्ता सचेतना कार्यक्रम, सरोकारवाला निकायको क्षमता विकास तथा सुदृढीकरण कार्यक्रम र नियमन कार्यक्रम छन् ।

खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी उपभोक्तामा चेतना बढाउने, त्यससम्बन्धमा सरोकारवालाहरूको क्षमता बढाउने तथा खाद्य स्वच्छता तथा गुणस्तर नियमन कार्यको प्रभावकारिता बढाउने कार्यक्रमको लक्ष्य छ ।
अभियानअन्तर्गत सञ्चालन गरिने नियमनमुखी कार्यक्रमहरू खाद्य ऐन तथा खाद्य नियमावलीका आधारमा बनेका निर्देशिका तथा कार्यविधिअनुसार सञ्चालन गरिने प्रवक्ता वस्तीले बताए ।

अभियानलाई निर्देश गर्नका लागि कृषि तथा पशुपक्षीमन्त्रीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा राज्यमन्त्री सहसंयोजक, सदस्यहरूमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, मन्त्रालयको योजना तथा विकास सहयोग समन्वय महाशाखाका सहसचिव, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक, कृषि विभागका महानिर्देशक, पशुपक्षी विभागका महानिर्देशक रहने तथा खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिवले सचिवको रूपमा काम गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको विज्ञप्तिमा उल्लेख छ । समितिमा सरोकारवाला मन्त्रालय तथा प्रादेशिक मन्त्रालयका प्रतिनिधिहरूसमेत रहनेछन् ।

अभियान खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमातहातका कार्यालयहरू तथा यसअन्तर्गतका डिभिजन कार्यालयहरूमार्फत सञ्चालन हुने बताइएको छ । अभियानमा जिल्ला प्रशासन कार्यालयहरू, स्थानीय तहका प्रतिनिधिहरू, खाद्य उद्योगीहरू तथा विभिन्न उपभोक्ता संघ–संस्थाहरूको समेत सहभागिता रहने विभागको विज्ञप्तिमा उल्लेख छ ।
खासगरी अभियानले तीनवटा क्षेत्रको स्वच्छता तथा गुणस्तर कायम गर्न कार्यक्रम चलाउनेछ– दूध तथा दूग्ध पदार्थ, प्रशोधित पिउनेपानी, खानेतेल । अभियानअन्तर्गतका कार्यक्रमहरूलाई तीन चरणमा विभाजन गरिएको छ । जसमा उपभोक्ता सचेतना कार्यक्रम, सरोकारवाला निकायको क्षमता विकास तथा सुदृढीकरण कार्यक्रम र नियमन कार्यक्रम छन् ।
अभियानमा सञ्चालित कार्यक्रमहरूको लिखित प्रतिवेदन प्रदेशका खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट विभागमा उपलब्ध हुने र विभागले मन्त्रालयमा प्रगतिको रिपोर्टिङ गर्ने वस्ती बताउँछन् । कार्यक्रमको प्रगति विवरण आवश्यकताअनुसार दैनिक, साप्ताहिक, मासिक, चौमासिक तथा वार्षिक रूपमा मन्त्रालयमा पेस गरिने वस्तीको भनाइ छ । अभियानको प्रभावकारिता तथा प्रगतिको अनुगमन तथा मूल्यांकन मन्त्रालय तथा विभागले मासिक रूपमा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय